Skip to content
Opens in a new window
Listen to this chapter • 5:30

[1] अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिके सहरमा आइपुगे ।

[2] पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तीन वटा विश्राम दिनसम्म त्‍यहाँका मानिसहरूसँग धर्मशास्‍त्रबाट तर्क गरे ।

[3] उनले धर्मशास्‍त्र खोल्दै ख्रीष्‍टले दुःख भोग्‍नु र मृत्‍युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे । उनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्‍छ ।”

[4] केही यहूदीहरू साथै ईश्‍वरभक्त ग्रीकहरू, धेरै अगुवा स्‍त्रीहरू र ठूलो भीडले पावल र सिलासको कुरामा विश्‍वास गरे ।

[5] तर अविश्‍वासी यहूदीहरू ईर्ष्याले भरिए र बजारका चोकबाट केही दुष्‍ट मानिसहरूलाई जम्मा गरे र ठूलो भीड बनाएर सहरमा होहल्ला मच्‍चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्‍थे ।

[6] तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरूकहाँ ल्याए । तिनीहरूले कराएर भने, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् ।”

[7] यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् र भन्‍छन्, “येशू भन्‍ने अर्को एकजना राजा पनि छन् ।”

[8] यी कुराहरू सुनेर मानिसहरूका भीड र सहरका हाकिमहरू आत्तिए ।

[9] तिनीहरूले यासोन र अरू भाइहरूबाट जरिवानाको रकम लिइसकेपछि उनीहरूलाई जान दिए ।

[10] त्‍यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए । त्‍यहाँ आइपुगेपछि उनीहरू यहूदीहरूको सभाघरमा पसे ।

[11] थेसलोनिकेमा भएका मानिसहरू भन्‍दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्‍यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्‍त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्‍वरको वचनलाई ग्रहण गर्थे ।

[12] यसकारण तिनीहरूमध्‍ये केही प्रभावशाली ग्रीक स्‍त्रीहरू लगायत धेरै पुरुषहरूले प्रभुमा विश्‍वास गरे ।

[13] तर जब पावलले परमेश्‍वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्‍यहाँ गएर भीडहरूलाई उक्साए र खलबल मच्‍चाउन लगाए ।

[14] त्‍यसपछि भाइहरूले पावललाई तुरुन्‍तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीं बसे ।

[15] पावललाई डोर्‍याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्‍यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्‍ने निर्देशन दिएर पठाए ।

[16] पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्‍यो सहर मूर्ति नै मूर्तिले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो ।

[17] यसैकारण उनले यहूदीहरू र परमेश्‍वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा र बजारमा दिनहुँ भेटिने मानिसहरूसँग पनि यसको बारेमा बहस गरे ।

[18] तर त्‍यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्‍न खोज्दैछ ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्‍तो देखिन्‍छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए ।

[19] तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्‍न सक्छौं ?

[20] किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्‍छ । त्‍यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्‍छौं ।”

[21] (अब सबै एथेन्सबासीहरू र त्‍यहाँ बस्‍ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्‍ने बाहेक अन्‍य केही कुरामा समय बिताउँदैनथे । )

[22] त्‍यसैले पावल अरिओपागसको बिचमा उभिए र यसो भने, “एथेन्सबासी हो, तपाईंहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्‍छ भन्‍ने कुरा मैले देखें ।

[23] किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्‍ने वस्तुहरू देखें । मैले यस्तो एउटा वेदी पनि देखें, जसमा ‘अज्ञात ईश्‍वरका निम्ति’ भन्‍ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्‍नुहुन्‍छ, तिनै ईश्‍वरको बारेमा म तपाईंहरूलाई बताउँछु ।

[24] परमेश्‍वर जसले संसार र त्‍यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्‍दिरहरूमा बस्‍नुहुन्‍न ।

[25] न त उहाँलाई केही कुराको खाँचो परे जस्‍तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्‍छ ।

[26] उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो ।

[27] यसैकारण उनीहरूले तिनै परमेश्‍वरलाई खोजून् र शायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्‍ये कसैबाट पनि टाढा हुनुहुन्‍न ।

[28] किनकि हामी उहाँमा नै जिउँछौं र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्ः ‘किनकि हामीहरू पनि उहाँकै सन्‍तान हौं ।’

[29] यसकारण हामी परमेश्‍वरका सन्‍तान भएका हुनाले परमेश्‍वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्‌गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्‍नु हुँदैन ।

[30] यसकारण परमेश्‍वरले पहिलेको अज्ञानताको समयलाई ध्‍यान दिनुभएन, तर अहिले परमेश्‍वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्चाताप गर्ने आज्ञा गर्नुहुन्‍छ ।

[31] किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्‍याय गर्नुहुनेछ । परमेश्‍वरले उहाँलाई मृत्‍युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”

[32] जब एथेन्सका मानिसहरूले मृत व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्‍याए तर अरूहरूले यसो भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्‍नेछौं ।”

[33] त्‍यसपछि पावलले तिनीहरूलाई छोडेर गए ।

[34] तर अरियोपागसका डायनोसियस, दामारिस नाउँ गरेकी एक स्‍त्री र अरू कतिपय मानिसहरू पावललाई भेट्न आए र उनको कुरामा विश्‍वास गरे ।

प्रेरितहरूका काम — Chapters