Skip to content
Opens in a new window
Listen to this chapter • 3:49

[1] आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा गए र यसरी बोले जसको कारण यहूदीहरू र ग्रीकहरू दुवैका ठूलो भीडले विश्‍वास गरे ।

[2] तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा उनीहरूलाई तितो बनाइदिए ।

[3] त्‍यसैले उहाँले आफ्नो अनुग्रहको सन्‍देशको बारेमा प्रमाण दिनुभएको हुनाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्‍यहाँ बसे । उहाँले पावल र बारनाबासका हातहरूलाई यी चिह्नहरू र अचम्मका कामहरू गर्न स्वीकृति दिएर गर्नुभयो ।

[4] तर सहरका अधिकांश मानिसहरू विभाजित भए । कोही मानिसहरू यहूदीहरूका पक्षमा र कोही प्रेरितहरूका पक्षमा लागे ।

[5] जब यहूदीहरू र गैरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र ढुङ्‌गाले हान्‍न मनाउने प्रयास गरे,

[6] यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्‍त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए

[7] र त्‍यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे ।

[8] लुस्‍त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन र आमाको गर्भमै लङ्‌गडो थियो र ऊ कहिलै हिँडेको थिएन ।

[9] पावलले बोलिरहेको त्‍यो मानिसले सुन्‍यो । पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्‍यो मानिसमा निको हुनसक्‍ने विश्‍वास भएको देखे ।

[10] यसकारण उनले ठूलो स्वरमा त्‍यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्‍यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो ।

[11] जब भीडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।”

[12] तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए ।

[13] जिउसका पूजाहारी, जसको मन्‍दिर सहरको बाहिरपट्टि थियो, उनले र भीडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्‍थे ।

[14] तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्‍याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए ।

[15] र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ ? हामी पनि तपाईंहरू जस्‍तै भावना भएका मानव जाति हौं । हामीले तपाईंहरूलाई अर्थविहीन कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौं जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो ।

[16] विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो ।

[17] तथापि उहाँले आफैलाई गवाहीबिना छोड्नु भएन त्‍यसका निम्ति उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा, र फलदायी ऋतुहरू अनि भोजन र आनन्‍दले तपाईंहरूका हृदयलाई भर्नुभएको छ ।’’

[18] यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भीडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके ।

[19] तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भीडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्‌गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।

[20] तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए ।

[21] सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।

[22] तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्‍यमा पस्‍नुपर्छ भनी बताए ।

[23] जब तिनीहरूले विश्‍वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए ।

[24] त्‍यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए ।

[25] पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे ।

[26] त्‍यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।

[27] तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए ।

[28] तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।

प्रेरितहरूका काम — Chapters