Skip to content
Opens in a new window
Listen to this chapter • 5:44

[1] खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए । तब तिनीहरूबाट बिदा भएर उनी माकेडोनिया जानका लागि हिँडे ।

[2] उनी ती क्षेत्रहरू भएर जाँदा त्‍यहाँका विश्‍वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्‍यसपछि उनी ग्रीसतर्फ लागे ।

[3] उनले त्‍यहाँ तीन महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्‍ने तरखर गर्दै थिए, तब यहूदीहरूले उनको विरुद्धमा एउटा षडयन्‍त्र रचे । त्‍यसैले उनी माकेडोनिया भएर फर्किने निर्णय गरे ।

[4] उनलाई एसियासम्म बेरिया निवासी पुरोसका छोरा सोपात्रोस, थेसलोनिकेका विश्‍वासीहरूबाट दुई जना अरिस्तार्खस र सिकन्‍दस; डर्बीका गायस; तिमोथी; अनि एसियाबाट तुखिकस र त्रोमिफसले साथ दिए ।

[5] तर यी मानिसहरू हामी भन्‍दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए ।

[6] अखमिरी रोटीको चाडपछि हामी फिलिप्‍पीबाट जहाजमा चढेर हिँड्‌यौं र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौं । त्‍यहाँ हामी सात दिनसम्म बस्यौं ।

[7] हप्‍ताको पहिलो दिन जब हामी रोटी भाँच्‍नलाई भेला भएका थियौं, तब पावल विश्‍वासीहरूसँग बोल्न थाले । उनले त्‍यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्‍यरातसम्मै बोलिरहे ।

[8] हामीहरू भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए ।

[9] युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्‍यो गहिरोमा निद्रामा पर्यो । पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्‍यो जवान मानिस तेस्रो तल्लाबाट झर्यो र तिनीहरूले त्‍यसलाईलाई मृत अवस्थामा उठाए ।

[10] तर पावल तल गएर आफै त्‍यसमाथि लम्पसार परे र त्‍यसलाई अँगालोमा हाले । त्‍यसपछि उनले भने “चिन्‍तित नहुनुहोस् किनभने ऊ जीवितै छ ।”

[11] त्‍यसपछि उनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्‍यालो हुदाँसम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे र त्‍यसपछि त्‍यहाँबाट हिँडे ।

[12] तिनीहरूले ती ठिटालाई जीवितै ल्याए र धेरै सान्‍त्वना पाए ।

[13] हामी पावल भन्‍दा अगि जहाजमा चढेर अस्सोसतिर लाग्यौं, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्‍यौं । उनी आफैले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए ।

[14] उनले हामीलाई अस्सोसमा भेटेपछि, हामीले उनलाई जहाजमा लियौं अनि मिटिलेने गयौं ।

[15] त्‍यसपछि हामी त्‍यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापूको सामुन्‍ने आइपुग्यौं । भोलिपल्ट सामोस टापूमा पुग्यौं अनि अर्को दिन हामी मिलेटस सहरमा आयौं ।

[16] सम्भव भएसम्म पावल पेन्‍तिकोसको दिनमा यरूशलेममा पुग्‍नलाई हतार गरिरहेका थिए, त्‍यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।

[17] मिलेटसबाट उनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए ।

[18] तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफै जान्‍नुहुन्‍छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैं तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ ।

[19] यहूदीहरूका षड्‌यन्‍त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्‍टहरूमा समेत प्रभुको सेवा गरिरहें ।

[20] कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैंलाई रोकिनँ अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।

[21] तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्चाताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहें।

[22] अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्‍य भएर यरूशलेममा जाँदैछु, त्‍यहाँ मलाई के-कस्तो हुन आउने हो त्‍यो मलाई थाहा छैन ।

[23] केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्‍छ कि हरेक सहरमा साङ्‍लाहरू र कष्‍टहरूले मलाई पर्खिरहेका छन् ।

[24] तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्‍दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।

[25] र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्‍यको प्रचार गरें, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्‍नुहुनेछैन ।

[26] त्‍यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्‍छु कि म कुनै मानिसको रगतदेखि निर्दोष छु ।

[27] किनकि मैले तपाईंहरूलाई परमेश्‍वरको सम्पूर्ण इच्‍छा घोषणा गर्नेदेखि आफैलाई रोकिनँ ।

[28] त्‍यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होशियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्‍नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् ।

[29] मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्‍ने छैनन् ।

[30] मलाई थाहा छ कि तपाईंहरूमध्‍येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्‍नका लागि भ्रष्‍ट कुराहरू गर्नेछन् ।

[31] त्‍यसैले होशियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तीन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ ।

[32] र अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिन्‍छु, जुन तपाईंहरूलाई निर्माण गर्न र परमेश्‍वरमा समर्पित भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ ।

[33] मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ ।

[34] तपाईंहरू आफै जान्‍नुहुन्‍छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन् ।

[35] सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्‍ने उदाहरण दिएको छु, जसरी उहाँ आफैले यी वचनहरू भन्‍नुभयो, ‘लिनु भन्‍दा दिनु अझ बढी आशिष्‌को कुरो हो ।’”

[36] उनले यसरी बोलिसकेपछि उनले घुँडा टेके र सबै जनासँग प्रार्थना गरे ।

[37] तिनीहरू सबै जना धेरै रोए र उनलाई अँगालो हाले र चुम्बन गरे ।

[38] तिनीहरूले उनको मुहार फेरि कहिल्यै पनि देख्‍ने छैनन् भनी उनले भनेका हुनाले तिनीहरू धेरै जना दुःखित भए । तब तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याए ।

प्रेरितहरूका काम — Chapters