[1] अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरेको तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेमस पुगे ।
[2] प्रधान पूजाहारी र विशिष्ट यहूदीहरूले फेस्तसकहाँ पावलका विरुद्ध अभियोगहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तससँग कडा रूपमा कुरा गरे ।
[3] र तिनीहरूले पावलको विषयमा कृपाको लागि फेस्तससँग अनुरोध गरे, कि तिनले उनलाई यरूशलेममा झिकाउन्, ताकि तिनीहरूले उनलाई बाटोमा नै मार्न सकून् ।
[4] तर पावल कैसरियाको कैदी थिए, र तिनी आफै पनि चाँडै त्यहाँ फर्कनु थियो भनी फेस्तसले जवाफ दिए ।
[5] उनले भने “यसकारण जान सक्नेहरू हामीसँगै जानुपर्छ । यदि त्यो मानिसमा कुनै गल्ती छन् भने, तिमीहरूले दोष लगाउनुपर्छ ।”
[6] आठ वा दश दिन अझ बसेपछि फेस्तस कैसरियातिर गए । र अर्को दिन उनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए ।
[7] जब उनी आइपुगे यरूशलेमका यहूदीहरू नजिकै उभिए र तिनीहरूले साबित नै गर्न नसक्ने गम्भीर अभियोगहरू ल्याए ।
[8] पावलले आफ्नो बचाउ गरे र भने, “यहूदीहरूको नामको विरुद्ध होइन, नत कुनै मन्दिरको विरुद्धमा र न त कैसरको विरुद्धमा, मैले कसैको विरुद्धमा गल्ति गरेको छैनँ ।”
[9] तर फेस्तसले यहूदीको समर्थन पाउन चाहन्थे र उनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ ?”
[10] पावलले भने, “म कैसरको न्यायको आसनको सामु खडा छु, जहाँ मेरो इन्साफ गरिनुपर्छ । जसरी तपाईंलाई पनि थाहा छ कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ ।
[11] तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि छैनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु ।
[12] त्यसपछि फेस्तसले परिषद्मा कुरा गरे र जवाफ दिए, “तिमीले कैसरसँग गुहार माग्यौ; तिमी कैसरकहाँ नै जानेछौ ।”
[13] अब केही दिनपछि राजा अग्रीपा र बरनिकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे ।
[14] उनी त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलका मुद्दाहरू राजाका अघि प्रस्तुत गरे । तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए ।
[15] जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका अगुवाहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू ल्याए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे ।
[16] यसमा मैले यस्तो जवाफ दिएँ, “एउटा मानिसलाई कृपाको रूपमा कसैलाई सुम्पने रोमी प्रचलन छैन, बरु, दोष लगाइएको मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न र आरोपहरूको विरुद्ध बचाउ गर्ने मौका पाउनु पर्छ ।”
[17] यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, अर्को दिन म न्याय आसनमा बसें र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ ।
[18] जब अभियोक्ताहरू उठे र अभियोग लगाए, तिनीहरूले उसको विरुद्ध लगाएको कुनै पनि आभियोगहरू मलाई गम्भीर लागेन ।
[19] यसको सट्टामा, तिनीहरूको आफ्नै धर्म सम्बन्धी र मरेको कोही येशूको बारे तिनीहरूको विवाद थियो जसलाई पावलले जीवित छन् भनी दावी गर्थ्यो ।
[20] म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परें, र यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम जान्छ कि भनी मैले उसलाई सोधें।
[21] तर पावलले सम्राटको फैसलाको निम्ति सुरक्षा पहरामा राखिनलाई इच्छा गरेपछि, मैले उसलाई कैसरकहाँ नपठाएसम्म राख्नलाई आदेश दिएँ ।”
[22] अग्रीप्पाले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्न चाहन्छु ।” फेस्तसले भने, “उसको कुरा तपाईंले भोलि सुन्नुहुनेछ ।”
[23] यसरी अर्को दिन अग्रीप्पा र बरनिकी भव्य समारोहसँग आए; उनीहरू भवनभित्र सैनिक अधिकृतहरू र सहरका विशिष्ट व्यक्तिहरूसँग आए । र फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो ।
[24] फेस्तसले भने, “राजा अग्रीप्पा, यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंले यो मानिसलाई देख्नु हुन्छ; यरूशलेममा र यहाँ पनि कैयौं यहूदीहरूले मसँग छलफल गरे, र ऊ जीवित रहनु हुँदैन भनी मसँग कराए ।
[25] तर मैले थाहा पाएँ कि यो मानिसले ज्यानसजाय पाउनुपर्ने त्यस्तो कुनै गल्ती गरेको छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकोले, मैले उसलाई पठाउने निर्णय गरें ।
[26] तर मसँग सम्राटलाई लेख्ने कुनै निश्चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रीप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्ने केही कुराहरू होस् ।
[27] किनभने एउटा कैदीलाई पठाउनु र उसको विरुद्धको आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”