[1] यहूदियाबाट केही मानिसहरू आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्न, तबसम्म तपाईंहरू बाँच्न सक्नुहुन्न ।”
[2] जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे ।
[3] त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठूलो आनन्द ल्याए ।
[4] जब उनीहरू यरूशलेममा आए, उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूले स्वागत गरे, र यसरी उनीहरूसँग परमेश्वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए ।
[5] फरिसी दलबाट विश्वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।”
[6] त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र एल्डरहरू भेला भए ।
[7] धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्न सकून् र विश्वास गरून् ।
[8] मानिसहरूका हृदय जान्नुहुने परमेश्वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ ।
[9] विश्वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बिचमा कुनै भेदभाव गर्नुभएन ।
[10] अब यसकारण हाम्रा पिताहरूले र हामीहरूले बोक्न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्नैपर्छ भनी तपाईंहरू किन परमेश्वरको परीक्षा गर्नुहुन्छ ?
[11] तर हामी विश्वास गर्दछौं कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौं, जसरी तिनीहरू पनि बचाइए ।’’
[12] तिनीहरूले पावल र बारनाबासद्वारा गैरयहूदीहरूका माझमा परमेश्वरले गर्नुभएका चिह्न र आश्चर्यकर्महरूको विवरण सुनिरहँदा सारा भीड चुपचाप रह्यो ।
[13] तिनीहरूले बोल्न छोडेपछि, याकूबले जवाफ दिँदै भने, “भाइहरू हो, मेरा कुरा सुन्नुहोस् ।
[14] परमेश्वरले आफ्नो नाउँको खातिर तिनीहरूबाटै एक जाति लिनलाई कसरी पहिले गैरयहूदीहरूलाई कृपादृष्टिकासाथ सहायता गर्नुभयो भनी सिमोनले बताएका छन् ।
[15] यससँग अगमवक्ताका वचनहरू सहमत छन्, किनकि यसरी लेखिएको छ,
[16] यी कुराहरूपछि म फर्केर आउनेछु, र म दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु, यसका भग्नावशेषहरूलाई म उठाउनेछु र फेरी पुनर्स्थापित गर्नेछु ।
[17] ताकि बाँकी रहेको मानिसहरू र सबै गैरयहूदीहरू लगायत मेरो नाउँद्वारा बोलाइएकाहरूले प्रभुलाई खोज्न सकून्।
[18] , जसले यी प्राचीन समयदेखि थाहा कुराहरू गर्नुहुने प्रभुले यसरी भन्नुहुन्छ ।
[19] त्यसकारण मेरो विचार यो छ कि परमेश्वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन ।
[20] तर हामीले तिनीहरूलाई यो लेख्छौं कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु र रगतबाट अलग रहून् ।
[21] किनभने हरेक सहरमा मोशाको व्यवस्थाका कुराहरू हरेक सबाथमा पुस्तौंदेखि मानिसहरूले सभाघरहरूमा प्रचार गर्दै र पढ्दै आएका छन् ।”
[22] त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास र सिलासलाई छानेर पावल र बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई कुरा असल लाग्यो ।
[23] तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन ।
[24] हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बिचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दुःखित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन् ।
[25] त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौं र यो हामी सबैलाई असल लाग्यो ।
[26] यी हाम्रा प्रभु येशू ख्रीष्टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।
[27] त्यसैले हामीले यहूदा र सिलासलाई पठाएका छौं, जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन् ।
[28] किनभने यी आवश्यक कुराहरू भन्दा झन् ठूलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो ।
[29] तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्याएर मारेको थोकहरू र यौन अनैतिकताबाट अलग रहनुहोस् । यदि तपाईंहरूले आफैंलाई यी कुराहरूबाट अलग राख्नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।”
[30] जब उनीहरू बिदा भएर एन्टिओखियामा आए । तिनीहरूले भीडलाई एकसाथ भेला पारेपछि पत्र दिए ।
[31] जब तिनीहरूले यसलाई पढे, उत्साहको कारण तिनीहरू आनन्दित भए ।
[32] यहूदा र सिलास पनि अगमवक्ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।
[33] उनीहरूले त्यहाँ केही समय बिताइसकेपछि भाइहरूको बिचबाट उनीहरूलाई पठाउनेहरूकहाँ शान्तिसाथ पठाइयो ।
[34] (टिप्पणीः सबै भन्दा उत्तम प्राचीन पाण्डुलिपिहरूले “३४” पदलाई छोडेका छन् (प्रेरित १५:४० हेर्नुहोस्) तर सिमोनलाई त्यहाँ रहन नै असल लाग्यो ।
[35] तर पावल र बारनाबास अरु धेरैकासाथ एन्टिओखियामा बसे । जहाँ उनीहरूले प्रभुको वचन सिकाए र प्रचार गरे ।
[36] केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔं र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौं , र उनीहरू कस्ता छन हेरौं ।
[37] बारनाबासले मर्कूस भनिने यूहन्नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे ।
[38] तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा उनी तिनीहरूबाट छुट्टिएर उनीहरूसँग काममा अगाडि गएनन् ।
[39] तब त्यहाँ कडा असहमति उत्पन्न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए । अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे ।
[40] तर पावलले सिलासलाई छाने । भाइहरूद्वारा प्रभुको अनुग्रहमा सुम्पिएपछि उनी त्यहाँबाट बिदा भए ।
[41] र उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।