Skip to content
Opens in a new window
Listen to this chapter • 5:55

[1] जब पेन्‍तिकोसको दिन आयो, तिनीहरू सबै जना एकै ठाउँमा थिए ।

[2] एक्‍कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्‍का जस्‍तै आवाज आयो र तिनीहरू बसिरहेको पूरै घर भरियो ।

[3] आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे र भागभाग भएर तिनीहरू हरेकमाथि बसे ।

[4] तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।

[5] यरूशलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्‍वरभक्त यहूदीहरू बसिरहेका थिए ।

[6] जब यो आवाज सुनियो मानिसहरूका भीड एकसाथ आए र अन्‍योलमा परे किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने ।

[7] तिनीहरू छक्‍क र चकित भए र तिनीहरूले भने, “साँच्‍चै, के यी बोलिरहनेहरू गालीलीहरू होइनन् ?

[8] त्‍यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौं ?

[9] पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया

[10] फ्रिगिया र पाम्फिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्‍दाहरू, र रोमका आगन्‍तुकहरू,

[11] यहूदीहरू र यहूदी मत मान्‍नेहरू, क्रेट निवासी र अरबीहरू छौं । तिनीहरूले परमेश्‍वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्‍दैछौं ।”

[12] तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो ?”

[13] तर अरूले चाहिँ गिज्‍याए र भने, “तिनीहरू नयाँ मद्यले टन्‍न भएका छन् ।”

[14] तर पत्रुस एघार जनासँगै खडा भएर उच्‍च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्‍ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्‍यान दिएर सुन्‍नुहोस् ।

[15] किनभने तपाईंहरूले ठान्‍नुभए जस्‍तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो प्रहर मात्र भएको छ ।

[16] तर अगमवक्‍ता योएलद्वारा यो कुरा बोलिएको छः

[17] ‘परमेश्‍वर भन्‍नुहुन्‍छ, “अन्‍त्‍यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्‍याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन् ।

[18] ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्‍याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् ।

[19] म माथि स्वर्गमा अचम्मका कुराहरू र तल पृथ्वीमा रगत, आगो, र धुवाँको मुस्लोका चिन्हहरू देखाउनेछु ।

[20] परमप्रभुको महान् र असाधारण दिन आउनअगि सूर्य अँध्‍यारोमा र चन्‍द्रमा रगतमा परिणत हुनेछ ।

[21] यस्तो हुनेछ कि परमेश्‍वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।

[22] हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्‍नुहोस्: परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्‍छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।

[23] परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।

[24] उहाँलाई मृत्‍युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।

[25] किनभने दाऊदले उहाँको बारेमा भनेकाछन्, ‘परमप्रभुलाई मैले सधैं मेरो मुहार अगाडि देखें । उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्‍छ, यसकारण म नडगमगाउनु पर्दैन ।

[26] यसकारण मेरो हृदय आनन्‍दित थियो र मेरो जिब्रोले आनन्‍द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ ।

[27] किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्‍याग्‍नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ ।

[28] तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।

[29] हे दाजुभाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु: तिनी मरे र गाडिए र तिनको चिहान आजको दिनसम्म हामीसँग छ ।

[30] यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्‍तानहरूमध्‍येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो ।

[31] तिनले यो कुरा पहिला नै देखे र ख्रीष्‍टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्‍यागिनु भयो नत उहाँको शरीर नै कुहियो ।’

[32] यी नै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौं ।

[33] यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्‍याउनुभएको छ जुन तपाईंहरू सुन्‍नु र देन्‍नु हुन्‍छ ।

[34] दाऊद आफै स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस,

[35] जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन ।”’

[36] यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनु भयो ।

[37] जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौं ?”

[38] अनि पत्रुसले तिनीहरूलाई भने, “पश्चाताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ ।

[39] यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्‍तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”

[40] अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैंलाई बचाओ ।”

[41] तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्‍तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्‍यस दिन थपिए ।

[42] तिनीहरू प्रेरितहरूको शिक्षा र सङ्‌गति, रोटी भाँच्‍ने कार्य र प्रार्थनामा लागिरहे ।

[43] हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए ।

[44] विश्‍वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए ।

[45] र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्‍वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे ।

[46] यसरी तिनीहरू दिनहुँ एकै उद्देश्यसहित मन्‍दिरमा भेला हुन्‍थे र तिनीहरूले घरघरमा रोटी भाँच्थे र हृदयको नम्रता र आनन्‍दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे ।

[47] तिनीहरूले परमेश्‍वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्‍छा थियो । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुभयो ।

प्रेरितहरूका काम — Chapters