[1] एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए ।
[2] जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”
[3] सभाले उपवास प्रार्थना गरिसकेपछि, र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए ।
[4] त्यसकारण पवित्र आत्माको आज्ञा शाऊल र बारनाबासले माने र तल सिलुसियामा गए, अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापूतिर गए ।
[5] सलामिस सहरमा हुँदा, उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि यूहन्ना मर्कूस पनि उनीहरूसँगै थिए ।
[6] उनीहरू पूरै टापू पार गरेर पाफोस पुगेपछि एक जना जादूगर यहूदी झुटा अगमवक्तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो ।
[7] यो जादूगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए । उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्वरको वचन सुन्न चाहन्थे ।
[8] तर इलुमास, ‘‘जादूगर’’ ले तिनीहरूको विरोध गर्यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्वासबाट फर्काउन प्रयास गर्यो ।
[9] तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे
[10] र भने, तँ शैतानको छोरो, तँ छल र दुष्टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैले प्रभुको सोझो बाटोलाई बड्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र ?
[11] अब हेर्, प्रभुको हात तँमाथि परेको छ र तँ अन्धो हुनेछस् । केही समयका लागि तैँले घाम देख्ने छैनस् ।’’ तुरुन्तै त्यहाँ बाक्लो तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो र हात समातेर डोर्याइदिऊन् भन्दै यताउति मानिसहरूलाई आग्रह गर्न थाल्यो ।
[12] प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि उनले विश्वास गरे, किनभने उनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।
[13] अब त्यसपछि पावल र उनका साथीहरू पाफोसबाट पानीजहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्नाले उनीहरूलाई छोडेर यरूशलेमतिर फर्के ।
[14] पावल र उनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ उनीहरू विश्राम दिनमा सभा घरमा गए र बसे ।
[15] अनि व्यवस्था र अगमवक्ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्नुहोस् ।”
[16] त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्वरलाई आदर गर्नुहुन्छ, सुन्नुहोस् ।
[17] इस्राएलका यी मानिसहरूका परमेश्वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्र देशमा रहँदा तिनीहरूलाई सङ्ख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”
[18] उहाँले झण्डै चालीस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।
[19] कनानमा भएका सात वटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो ।
[20] यी सबै घटनाहरू हुन चारसय पचास वर्षको अवधिमा भएका हुन् । यी सबै कुरापछि परमेश्वरले शमूएल अगमवक्ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।
[21] त्यसपछि, मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्वरले बेन्यामीन कुलको किशका छोरा शाऊललाई चालीस वर्षसम्मको निम्ति दिनुभयो ।
[22] तब परमेश्वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्वरले यी नै दाऊदको बारेमा भन्नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम उनले गर्नेछन् ।’
[23] यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।
[24] येशू आउनु भन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्चातापको बप्तिस्माको बारेमा घोषणा गरे ।
[25] जसरी यूहन्नाले आफ्नो काम पुरा गर्दै गर्दा उनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्दछौ ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ताको तुना फुकाल्न म योग्यको छैनँ ।’
[26] भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्वरलाई आराधना गर्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ ।
[27] यरूशलेममा बस्नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्ताको भविष्यवाणीलाई पुरा गरे ।
[28] उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे ।
[29] जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे ।
[30] तर परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।
[31] गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।
[32] यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौं ।
[33] परमेश्वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा, हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो । जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’
[34] उहाँको शरीर नसडोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्ने तथ्यबारे उहाँले यसरी बोल्नुभएको छ, ‘म तिमीलाई दाऊदको पवित्र र निश्चित आशिष् दिनेछु ।’
[35] यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्नुभएको छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन ।’
[36] किनभने दाऊदले उनको पुस्तामा परमेश्वरको इच्छाअनुसार सेवा गरेपछि, उनको मृत्य भयो र उनलाई उनका पितापुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो ।
[37] तर जसलाई परमेश्वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन ।
[38] त्यसैले भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ ।
[39] विश्वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।
[40] यसैकारण होशियार हुनुहोस्, अगमवक्ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्ः
[41] ‘घृणा गर्नेहरू हो, हेर र छक्क पर, र नष्ट भइजाओ, तिमीहरूको समयमा मैले काम गरिरहेको छु, यदि कसैले तिमीहरूलाईं यसबारे घोषणा गरे पनि तिमीहरू कहिल्यै विश्वास गर्ने छैनौ ।’”
[42] पावल र बारनाबास त्यहाँबाट जान लाग्दा मानिसहरूले यी नै वचनहरू अर्को विश्राममा आएर बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे ।
[43] जब सभाघरको सभा अन्त्य भयो, तब धेरै यहूदीहरू र यहूदी मत मान्ने भक्तहरू पावल र बारनाबासको पछि लागे । तिनीहरूले परमेश्वरको अनुग्रहमा निरन्तर रहिरहन उनीहरूलाई उत्साह दिए ।
[44] अर्को विश्राममा, लगभग पूरै सहर नै प्रभुको वचन सुन्नलाई सँगसँगै भेलाभएको थियो ।
[45] जब यहूदीहरूले भीडलाई देखे, तिनीहरू डाहले भरिए, र पावलले भनेका कुराहरूको बिरुद्धमा बोल्न थाले र उनको अपमान गरे।
[46] तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैंलाई अनन्त जीवन प्राप्त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौं ।
[47] किनभने परमेश्वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”
[48] जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र परमेश्वरको वचनको महिमा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्वास गरे ।
[49] त्यस सम्पूर्ण क्षेत्रभरि नै प्रभुको वचन फैलियो ।
[50] तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्त्रीहरू र साथ-साथै सहरका मुख्य मानिसहरूसँग पावल र बारनाबासको विरुद्धमा अनुरोध गरे । तिनीहरूले पावल र बारनाबासलाई दण्डित गरे उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए ।
[51] तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए ।
[52] अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए ।