[1] “मेरा दाजुभाइहरू र बुबाहरू हो, मेरो बचाउको कुरा सुन्नुहोस्, जुन मैले अहिले तपाईंहरूलाई बताउनेछु ।”
[2] पावलले तिनीहरूसँग हिब्रू भाषामा बोलेको भीडले सुनेपछि भीड चुप लाग्यो । उनले भने,
[3] “म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज यहाँहरू जस्तै म पनि परमेश्वरको निम्ति जोसिलो भएको छु ।
[4] मैले यस मार्गलाई मृत्युसम्मै सताएँ । मैले स्त्रीहरू र पुरुषहरू दुवैलाई बाँधे, र तिनीहरूलाई झ्यालखानामा सुम्पिदिएँ ।
[5] मलाई दमस्कसमा यात्रा गर्नलाई त्यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूबाट पत्र पनि पाएको थिएँ, जसको गवाही उहाँहरूले नै दिन सक्नुहुन्छ । मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउनुपर्थ्यो ।
[6] म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो ।
[7] म भुइँमा लडेँ, र मलाई यस्तो भनेको आवाज सुनें, ‘ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदै छौ ? ’
[8] मैले जवाफ दिएँ, “तपाईं को हुनुहुन्छ, प्रभु ?” उहाँले मलाई भन्नुभयो, ‘म नासरतको येशू हुँ, जसलाई तिमी सताउँदै छौ ।’
[9] मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने सुनेनन् ।
[10] मैले भनें, ‘प्रभु, मैले के गर्नुपर्छ ? ’ प्रभुले मलाई भन्नुभयो, ‘उठ, र दमस्कसमा जाऊ । त्यहीं नै तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ” ।
[11] मैले त्यो ज्योतिको चमकले गर्दा देख्न सकिनँ । त्यसैले, मसँग भएका मानिसहरूका हातबाट डोर्याइएर म दमस्कस गएँ ।
[12] मैले त्यहाँ व्यवस्थाअनुसार भक्तिपूर्ण जीवन जिएका र त्यहाँ बस्ने सबै यहूदीहरूबाट सम्मान र आदर पाएका हननिया नाउँ गरेका मानिसलाई भेटें।
[13] उनी मकहाँ आए, र मेरो छेउमा उभिए, र भने, ‘भाइ शाऊल, दृष्टि प्राप्त गर ।’ त्यत्तिखेरै, मैले तिनलाई देखें ।
[14] तब तिनले भने, ‘हाम्रा पितापुर्खाहरूका परमेश्वरले उहाँको इच्छा जान्नको लागि धार्मिक जनलाई देख्न र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्न तिमीलाई छान्नुभएको छ ।
[15] किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्नेछौ ।
[16] अब तिमी किन पर्खिंदै छौ ? उठ, बप्तिस्मा लेऊ, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल ।
[17] म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, म अर्धचेत अवस्थामा पुगें।
[18] उहाँले मलाई यसो भन्नुभएको मैले देखें, ‘छिटो गर, र चाँडै यरूशलेम छोड । किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ।’
[19] मैले भनें, ‘हे प्रभु, तिनीहरू आफैलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटें, र जेलमा हालें ।
[20] तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा, म पनि नजिकै उभिएर सहमत हुदै थिएँ, र उनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ ।
[21] तर उहाँले मलाई भन्नुभयो, ‘गइहाल, किनभने म तिमीलाई अन्यजातिहरूकहाँ पठाउनेछु’ ।”
[22] मानिसहरूले उनलाई यतिबेलासम्म बोल्न दिए । तर त्यसपछि तिनीहरू चिच्च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदेओ, त्यो बाँच्नु ठिक छैन ।”
[23] तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, हावामा धुलो उडाउँदै गर्दा,
[24] सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्च्याइरहेका थिए भनी उनी आफैले थाहा पाउन सकून् ।
[25] जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र ?”
[26] जब कप्तानले यो सुने, तब उनी सेनापतिकहाँ गए, र उनलाई भने, “तपाईंले यी मानिसलाई के गर्न लाग्दै हुनुहुन्छ ? किनभने यो मानिस त रोमी नागरिक पो रहेछ ।”
[27] सेनापति आए, र उनलाई भने, “मलाई भन कि, के तिमी रोमी नागरिक हौ ?” अनि पावलले भने, “हजुर, हुँ ।”
[28] सेनापतिले जवाफ दिए, “मैले धेरै ठूलो धनराशी खर्च गरेर मात्र नागरिकता पाएको थिएँ ।” तर पावलले भने, “म त रोमी नागरिक भएरै जन्मेको हुँ ।”
[29] त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरू तुरुन्तै छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि सेनापति पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए ।
[30] भोलिपल्ट मुख्य कप्तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्न चाहे । त्यसैले, उनले आफ्नो दलबललाई एकत्रित गरे, र प्रधान पूजाहारीहरूसाथै महासभाका सबै मानिसहरूलाई भेला हुनलाई आदेश दिए । त्यसपछि तिनले पावललाई तल ल्याए, र उनीहरूका बिचमा राखे ।