Skip to content
Opens in a new window
Listen to this chapter • 3:34

[1] अब पत्रुस र यूहन्‍ना प्रार्थना गर्ने समयको नवौँ घडीमा मन्‍दिरतिर जाँदै थिए ।

[2] त्‍यहाँ एक जना जन्‍मैदेखि हिँड्न नसक्‍ने मानिसलाई हरेक दिन ल्याउने गरिन्‍थ्यो र तिनलाई मन्‍दिरको सुन्‍दर नाउँको ढोकामा राखिन्‍थ्यो, ताकि ती व्यक्तिले त्‍यस मन्‍दिरमा गएका मानिसहरूसँग भिक्षा माग्‍न सकून् ।

[3] जब तिनले पत्रुस र यूहन्‍नालाई त्‍यस मन्‍दिरमा जान लागेका देखे, तिनले उनीहरूसँग भिक्षा मागे ।

[4] पत्रुस र यूहन्‍नाले तिनीतर्फ नजर अडाएर भने, “हामीलाई हेर ।”

[5] ती मानिसले उनीहरूबाट केही चिज प्राप्‍त गर्ने आशा राखेर उनीहरूलाई हेरे ।

[6] तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्‍यो मैले तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड ।”

[7] पत्रुसले तिनको दाहिने हात समाए र तिनलाई उठाए र तुरुन्‍तै तिनको गोडा र गोलीगाँठोको हड्‌डीमा ताकत आयो ।

[8] त्यो लङ्गडो मानिस उफ्रँदै खडा भयो र हिँड्नलाई सुरु गर्यो, अनि पत्रुस र यूहन्‍नासँगै हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्‍दिरभित्र प्रवेश गरे ।

[9] सबै मानिसहरूले तिनलाई हिँडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे ।

[10] तिनीहरूले देखे कि तिनी त्‍यही मानिस थिए जो त्‍यस मन्‍दिरको सुन्‍दर ढोकामा भिक्षा माग्‍नलाई बस्दै आइरहेका थिए र त्यसमाथि जे भएको थियो त्यसको कारणले तिनीहरू अचम्म माने र आश्चर्यचकित भए।

[11] तिनले पत्रुस र यूहन्‍नाको हात समाइरहँदा, सबै मानिसहरू अति चकित हुँदै सोलोमन नामक दलानमा एकसाथ तिनीहरूकहाँ दगुरेर आए ।

[12] जब पत्रुसले यो देखे, तब उनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन आश्‍चर्यचकित हुनुभएको छ ? तपाईंहरूले किन हामीले तिनलाई आफ्नै शक्ति वा धार्मिकताले हिँड्ने बनाएको जस्‍तै गरी हामीलाई एक टकले हेरिरहनुभएको छ ?

[13] अब्राहाम, इसहाक र याकूब हाम्रा पूर्खाका परमेश्‍वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्‍छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो ।

[14] तपाईंले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा तपाईंहरूले एउटा हत्‍यारालाई छोडिदिन आग्रह गर्नुभयो ।

[15] तपाईंहरूले जीवनका राजकुमारको हत्‍या गर्नुभयो जसलाई परमेश्‍वरले मृत्‍युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौं ।

[16] अब उहाँको नाउँमाथिको विश्‍वासले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंले देख्‍नु र जान्‍नुहुन्‍छ । येशूप्रति यिनको विश्‍वासले यिनलाई तपाईंहरू सबैको सामुन्‍ने पूर्ण चंगाई दिनु भएको छ ।

[17] अब भाइहरू हो, तपाईंहरूले तपाईंका शासकहरूलेझैं अज्ञानतामा कार्य गर्नुभएको कुरा म जान्‍दछु ।

[18] तर उहाँका ख्रीष्‍टले दु:ख भोग्‍नुपर्छ भनी ती सबै अगमवक्‍ताहरूका मुखबाट परमेश्‍वरले पहिले नै बताउनुभएको थियो जुन कुरा उहाँले अहिले पुरा गर्नुभएको छ ।

[19] त्‍यसकारण, पश्‍चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् ।

[20] र उहाँले नियुक्त भइसक्‍नुभएका ख्रीष्‍ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्‍नुहुनेछ ।

[21] सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गरेर राख्नुपर्छ, जसको बारेमा परमेश्‍वरले उहाँका पवित्र अगमवक्‍ताहरूद्वारा धेरै पहिले देखि बोल्नु भयो ।

[22] वास्तवमा मोशाले यसो भने, ‘परमप्रभुले तिमीहरूका दाजुभाइहरूका बिचबाट म जस्‍तै अगमवक्‍तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्‍नुहुने सबै कुराहरू तिमीहरूले सुन्‍नुपर्छ ।

[23] ती अगमवक्‍ताले भनेको नसुन्‍ने हरेक व्यक्तिलाई मानिसहरूका बिचबाट पूर्ण रूपमा नाश गरिनेछ ।’

[24] हो, शमूएलदेखिका र उनीपछि आएका सबै अगमवक्‍ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे ।

[25] तपाईंहरू अगमवक्‍ताका र परमेश्‍वरले तपाईंहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्‍छ, जसरी उहाँले अब्राहामलाई भन्‍नुभयो, ‘तिम्रो सन्‍तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन् ।’

[26] परमेश्‍वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्‍ये हरेकलाई तपाईंहरूको दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”

प्रेरितहरूका काम — Chapters