Skip to content
Opens in a new window
Listen to this chapter • 2:55

[1] अब शबाथको समय सकिनै लाग्दा हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्‍त्री चिहान हेर्न आए ।

[2] हेर, त्‍यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्‌गा हटाए, र त्‍यसमाथि बसे ।

[3] तिनको रूप बिजुली जस्‍तो थियो, र पहिरन हिउँ जस्‍तै सेतो थियो ।

[4] पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरू जस्‍तै भए ।

[5] स्वर्गदूतले ती स्‍त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ ।

[6] उहाँ यहाँ हुनुहुन्‍न, तर जस्‍तो उहाँले भन्‍नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर ।

[7] झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ । हेर, उहाँ तिमीहरू भन्‍दा अगि गालीलमा जाँदै हुनुहुन्‍छ । त्‍यहीं नै तिमीहरूले उहाँलाई देख्‍नेछौ ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु ।”

[8] ती स्‍त्रीहरू तुरुन्‍तै डर र आनन्‍दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे ।

[9] हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्‍नुभयो, “सबैलाई अभिवादन छ ।” ती स्‍त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे ।

[10] त्‍यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्‍यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”

[11] जब ती स्‍त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पूजाहारीहरूलाई त्‍यहाँ भएका सबै घटना बताइदिए ।

[12] जब पूजाहारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए,

[13] र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र उनको मृत शरीरलाई चोरेर लगे ।’

[14] यदि यो खबर हाकिमकहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौं र तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौं ।”

[15] अनि ती सिपाहीहरूले पैसा लिए र उनीहरूलाई जस्‍तो निर्देशन दिइएको थियो, त्‍यस्तै गरे । यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ ।

[16] तर एघार जना चेला गालीलको त्‍यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो ।

[17] जब उनीहरूले उहाँलाई देखे, उनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिं शङ्‌का गरे ।

[18] येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ ।

[19] यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ ।

[20] मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र हेर, यस संसारको अन्‍तसम्म पनि म सधैं तिमीहरूको साथमा छु ।”

मत्तीले लेखेको सुसमाचार — Chapters