Skip to content
Opens in a new window
Listen to this chapter • 4:35

[1] येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्‍नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्‍यहाँबाट जानुभयो ।

[2] अनि जब यूहन्‍नाले झ्यालखानाबाट ख्रीष्‍टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए,

[3] र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्‍छ, वा कोही अर्कै मानिस हुनुहुन्‍छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ ?”

[4] येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।

[5] दृष्‍टिविहीनहरूले दृष्‍टि पाइरहेका छन्; लङ्‌गडा मानिसहरू हिँडिरहेका छन्; कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।

[6] अनि तिनीहरू धन्‍यका हुन् जसले मबाट कुनै बाधा पाउँदैन ।”

[7] जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भीडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई ?

[8] तिमीहरू के हेर्न बाहिर गयौ– मलमलको लुगा लगाउने मानिसलाई ? वास्तवमा मलमलको कपडा लगाउनेहरू त राजाहरूका दरबारहरूमा बस्छन्।

[9] तर तिमीहरू के हेर्न बाहिर गयौ– के अगमवक्‍तालाई ? हो, म तिमीहरूलाई भन्‍दछु, अगमवक्‍ता भन्‍दा पनि महान् व्यक्‍तिलाई ।

[10] उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म तिमीहरूको अगि-अगि मेरा समाचारवाहकलाई पठाउँदै छु, जसले म आउनु भन्‍दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन् ।’

[11] साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, स्‍त्रीबाट जन्‍मेकाहरूमा बप्‍तिस्मा-दिने यूहन्‍ना भन्‍दा महान् अरू कोही छैन । तरै पनि स्वर्गको राज्‍यमा सबै भन्‍दा कम महत्त्‍वको मानिस उनी भन्‍दा महान् हुन्‍छन् ।

[12] बप्‍तिस्मा-दिने यूहन्‍नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्‍यले हिंसा भोगिरहेको छ, र हिंसक मानिसहरूले यसलाई बलपूर्वक पक्रन्‍छन् ।

[13] किनकि यूहन्‍ना नआन्जेलसम्म सबै अगमवक्‍ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए ।

[14] अनि यदि तिमीहरूले एलियालाई पाउने इच्‍छा गरिरहेका छौ भने, आउनुपर्ने एलिया उनी नै हुन् ।

[15] जससँग सुन्‍ने कान छ, त्‍यसले सुनोस् ।

[16] यस पुस्तालाई म केसँग तुलना गरूँ ? यो त बजारमा खेलिरहेका बालकहरू जस्‍तै छ, जो बस्दछ र एक अर्कालाई बोलाउँदछ,

[17] र भन्‍दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्‍यौँ, र तिमीहरू रोएनौ ।’

[18] किनकि यूहन्‍ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्‍छन्, ‘त्‍यसलाई भूत लागेको छ ।’

[19] मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्‍छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्‍छे हो अनि पियक्‍कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो !’ तर बुद्धिचाहिं तिनको कामहरूले सिद्ध हुन्‍छ ।”

[20] तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेका थिएनन् ।

[21] “धिक्‍कार तँलाई, ए खोराजीन ! धिक्‍कार तँलाई, ए बेथसेदा ! यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्‌ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसकेका हुने थिए ।

[22] न्‍यायको दिनमा तिमीहरूका निम्ति भन्‍दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ ।

[23] तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्‍छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू सदोममा गरिएका भए, त्‍यो आजसम्म पनि रहिरहने थियो ।

[24] तर म तिमीहरूलाई भन्‍दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्‍दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”

[25] त्‍यस बेला येशूले भन्‍नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन् ।

[26] हो, पिता, किनकि तपाईंको दृष्‍टिमा यही नै मनपर्दो थियो ।

[27] मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्‍दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्‍छा गरेको व्यक्‍तिले बाहेक पितालाई कसैले चिन्‍दैन ।

[28] मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौं बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु ।

[29] मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ ।

[30] किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”

मत्तीले लेखेको सुसमाचार — Chapters