[1] येशूले यी सबै वचन भनिसक्नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
[2] “तिमीहरूलाई थाहा छ, कि दुई दिनपछि निस्तार-चाड आउँदै छ, र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछ ।”
[3] त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पूजाहारीको दरबारमा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू एकसाथ भेला भए ।
[4] तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्त्र गरे ।
[5] किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्चियोस् ।”
[6] अनि जब येशू बेथानियामा सिमोन भन्ने एक जना कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो,
[7] उहाँ एउटा टेबिलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्त्री उहाँकहाँ आई, र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई ।
[8] तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो ?
[9] यसलाई ठूलो रकममा बेच्न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो ।”
[10] तर येशूले यो जानेर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यी स्त्रीलाई किन दुःख दिइरहेका छौ ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन् ।
[11] गरिबहरू त तिमीहरूसँग सधैं हुनेछन्, तर म तिमीहरूसँग सधैं रहनेछैन ।
[12] किनकि जब यी स्त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् ।
[13] साँच्चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ ।”
[14] त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पूजाहारीहरूकहाँ गयो,
[15] र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ ?” तिनीहरूले उसको निम्ति तीस वटा चाँदीका सिक्का छुट्ट्याइदिए ।
[16] त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्यो ।
[17] अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ ?”
[18] उहाँले भन्नुभयो, “सहरमा एक जना व्यक्तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु ।’”
[19] येशूले जस्तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्यस्तै गरे, र उनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे ।
[20] जब साँझ पर्यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्नुभयो ।
[21] जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।”
[22] उनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्न थाले, “प्रभु, म त निश्चय नै होइन होला ?”
[23] उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ ।
[24] मानिसका पुत्र त्यहीअनुसार नै जानेछ जसरी उनको बारेमा लेखिएको छ । तर धिक्कार त्यस व्यक्तिलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ ! त्यो व्यक्ति त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो ।”
[25] यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ ?” उहाँले त्यसलाई भन्नुभयो, “तिमी आफैले त्यो भनेका छौ ।”
[26] उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्नुभयो । उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।”
[27] उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो उनीहरूलाई दिनुभयो र भन्नुभयो, “तिमीहरू सबैले यसलाई पिओ ।
[28] किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको लागि बगाइन्छ ।
[29] तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैन, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन ।”
[30] उहाँहरू सबैले भजन गाइसक्नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्नुभयो ।
[31] त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बगालका सबै भेडाहरू तितरबितर हुनेछन् ।’
[32] तर म उठाइएपछि म तिमीहरू भन्दा अगि गालीलमा जानेछु ।”
[33] तर पत्रुसले उहाँलाई भने, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ ।”
[34] येशूले उनलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आज राती भाले बास्नु भन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।”
[35] पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अनि अरू सबै चेलाले पनि त्यसै भने ।
[36] त्यसपछि येशू उनीहरूसँगै गेतसमनी भन्ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “म अलि पर गएर प्रार्थना गर्छु, तर तिमीहरूचाहिं यहीं बस ।”
[37] उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो ।
[38] त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो आत्मा अत्यधिक शोकले भरिएर मरेतुल्य भएको छ । यहीं बस र मसँगै जागा रहो ।”
[39] उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटोस् । तर, मैले इच्छा गरे जस्तो होइन, तपाईंको इच्छा अनुसार होस् ।”
[40] उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ ?
[41] जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर । आत्मा त तयार छ, तर शरीर भने कमजोर छ ।”
[42] उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्नुभयो, “हे मेरा पिता, यदि मैले यो नपिई हुँदैन भने, तपाईंकै इच्छा पूरा होस् ।”
[43] उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए ।
[44] त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो । उहाँले तेस्रो पल्ट प्रार्थना गर्नुभयो र उही वचन दोहोर्याउनुभयो ।
[45] त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ ? हेर, त्यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा धोकासाथ सुम्पिँदै छ ।
[46] उठ, अब हामी जाऔं । हेर, मलाई धोका दिनेचाहिं नजिकै छ ।”
[47] जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएको एउटा ठूलो भीड ऊसँगै आयो । तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए ।
[48] अब जुन व्यक्तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।”
[49] तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन !” अनि उसले उहाँलाई चुम्बन गर्यो ।
[50] येशूले उसलाई भन्नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल ।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात राखे, र उहाँलाई पक्रे ।
[51] हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो; आफ्नो तरवार थुत्यो, र मुख्य पूजाहारीको एउटा नोकरमाथि प्रहार गर्यो, अनि उसको कान काटिदियो ।
[52] त्यसपछि येशूले उसलाई भन्नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्ट पारिनेछन् ।
[53] के तिमीहरू विचार गर्दछौ, कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ र ? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्न र ?
[54] तर यस्तो हुनुपर्छ भनी धर्मशास्त्रले भनेको कसरी पूरा हुने त ?”
[55] त्यति बेला येशूले भीडलाई भन्नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैं मलाई पक्रन आएका छौ ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसें, अनि तिमीहरूले मलाई पक्रेनौ ।
[56] तर यी सबै कुरा भए, ताकि अगमवक्ताहरूले लेखेका कुरा पूरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
[57] जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे, जहाँ शास्त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए ।
[58] तर पत्रुसले प्रधान पूजाहारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे ।
[59] अब मुख्य पूजाहारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झूटो गवाही खोजिरहेका थिए ।
[60] थुप्रै झूटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन् । तर पछि दुई जना अगि आए,
[61] र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा पुनर्निर्माण गर्न सक्छु’ ।”
[62] प्रधान पूजाहारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो ?”
[63] तर येशू चुप रहनुभयो । प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हौ ?”
[64] येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैले नै भन्नुभएको छ । तर म तपाईंलाई भन्दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्तिमान्को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्नुहुनेछ ।”
[65] त्यसपछि प्रधान पूजाहारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्यो ? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्वर-निन्दा सुन्नुभएको छ ।
[66] तपाईंहरू के विचार गर्नुहुन्छ ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।”
[67] त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए,
[68] र भने, “हे ख्रीष्ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो ?”
[69] अब पत्रुसचाहिं बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र ?”
[70] तर उनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तिमीले केको बारेमा कुरा गरिरहेका छौ, मलाई त्यो थाहा छैन ।”
[71] जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो व्यक्ति पनि नासरतको येशूसँग थियो ।”
[72] अनि उनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ ।”
[73] त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्दछ ।”
[74] त्यसपछि उनले सराप्न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो ।
[75] अनि येशूले भन्नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्नु भन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।” त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए ।