Skip to content
Opens in a new window
Listen to this chapter • 5:05

[1] त्‍यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,

[2] “किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्‌घन गर्दछन् ? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन् ?”

[3] येशूले उत्तर दिनुभयो र उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले चाहिं किन आफ्ना परम्पराहरूका निम्ति परमेश्‍वरको आज्ञालाई उल्लङ्‌घन गर्दछौ ?

[4] किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्‍यो निश्‍चय नै मर्नेछ ।’

[5] तर तिमीहरू भन्‍छौ, ‘जसले आफ्नो बुबा र आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो, त्‍यो अब परमेश्‍वरलाई चढाइएको छ’ भनेर भन्‍दछ भने,

[6] त्‍यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन । यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई बेकम्मा बनाएका छौ ।

[7] ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने,

[8] ‘यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन् ।

[9] तिनीहरू मलाई व्यर्थमा आराधना गर्दछन्, किनकि तिनीहरूले आफ्ना सिद्धान्‍तहरूलाई मानिसहरूले आज्ञा गरेअनुसार सिकाउँदछन्’ ।”

[10] त्‍यसपछि उहाँले भीडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्‍नुभयो, “सुन र बुझ–

[11] मुखबाट भित्र पस्‍ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन । बरु, जुन कुरा मुखबाट बाहिर आउँछ, त्‍यसले मानिसलाई अपवित्र बनाउँदछ ।”

[12] त्‍यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ ?”

[13] येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्‍यो उखेलिनेछ ।

[14] तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्‍टिविहीन अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन् ।”

[15] पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्‍तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।”

[16] येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ ?

[17] के तिमीलाई थाहा छैन, कि जुन कुरा मुखबाट भित्र पस्दछ त्‍यो पेटमा जान्‍छ र त्‍यो शौचालयमा बाहिर निस्कन्‍छ ।

[18] तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट आउँछन् । यी कुराहरू ती हुन् जसले मानिसलाई अपवित्र तुल्याउँदछन् ।

[19] किनकि दुष्‍ट विचारहरू, हत्‍या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झूटो गवाही र अपमान हृदयबाट निस्कन्‍छन् ।

[20] यी कुराहरूले मानिसलाई अपवित्र तुल्याउँदछन् । तर हात नधोई खाना खाँदा त्‍यसले मानिसलाई अपवित्र बनाउँदैन ।”

[21] त्‍यसपछि येशू त्‍यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो ।

[22] र हेर, एउटी कनानी स्‍त्री त्‍यस क्षेत्रबाट बाहिर आइन् । तिनी चिच्‍च्‍याएर कराइन् र भनिन्, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्; मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छन् ।”

[23] तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्‍दै बिन्‍ती गरे, “तिनलाई यहाँबाट पठाइदिनुहोस्, किनकि तिनी हाम्रो पछि चिच्‍च्‍याइरहेकी छन् ।”

[24] तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन ।”

[25] तर तिनी आइन् र उहाँको अगाडि घोप्‍टो पर्दै भनिन्, “प्रभु, मलाई सहायता गर्नुहोस् ।”

[26] उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन ।”

[27] तिनले भनिन्, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबिलबाट खसेका केही स-साना टुक्राहरू खाँदछन् ।”

[28] त्‍यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “ए नारी, तिम्रो विश्‍वास महान् छ । तिमीले इच्‍छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्‍यही घडी तिनकी छोरी निको भइन् ।

[29] येशूले त्‍यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्‍यसपछि उहाँ डाँडामाथि जानुभयो र त्‍यहीं बस्‍नुभयो ।

[30] ठूलो भीड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्‌गडा, दृष्‍टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।

[31] गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्‌गडाहरू हिँडेका, र दृष्‍टिविहीनहरूले देखेका जब भीडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलको परमेश्‍वरलाई धन्‍यवाद दिए ।

[32] येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मलाई यो भीडमाथि दया लागेको छ, किनकि तिनीहरू तीन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नख्वाईकन यहाँबाट पठाउन चाहन्‍नँ, अनि तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन् ।”

[33] चेलाहरूले उहाँलाई भने, “यस्तो मरुभूमि ठाउँमा यत्रो भीडलाई सन्‍तुष्‍ट पार्न हामीले कहाँबाट पर्याप्‍त रोटी पाउन सक्छौं ?”

[34] येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन् ?” तिनीहरूले भने, “सात वटा र केही स-साना माछा छन् ।”

[35] त्‍यसपछि येशूले भीडलाई भुइँमा बस्‍नलाई आज्ञा गर्नुभयो ।

[36] उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्‍यवाद दिनुभएपछि ती रोटीहरू भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भीडलाई दिए ।

[37] मानिसहरू सबैले खाए र सन्‍तुष्‍ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे ।

[38] स्‍त्रीहरू र बालबालिकाहरूबाहेक जतिले खाए, खानेहरू चार हजार पुरुषहरू थिए ।

[39] त्‍यसपछि येशूले भीडलाई पठाउनुभयो र डुङ्‌गामा चढ्नुभयो र मगादानको क्षेत्रतर्फ जानुभयो ।

मत्तीले लेखेको सुसमाचार — Chapters