[1] त्यसपछि दुष्टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा डोर्याइनुभयो ।
[2] चालीस दिन र चालीस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो ।
[3] परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।”
[4] तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।”
[5] त्यसपछि दुष्टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबै भन्दा अग्लो ठाउँमा राख्यो,
[6] अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, ‘तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ अनि, ‘तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्’ ।”
[7] येशूले त्यसलाई भन्नुभयो, “फेरि यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्’ ।”
[8] फेरि, त्यो दुष्टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो र संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो ।
[9] त्यसले उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु ।”
[10] त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “शैतान, यहाँबाट गइहाल् ! किनकि यसो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको मात्र आराधना गर्नेछस्, र तैंले उहाँको मात्र सेवा गर्नेछस्’ ।”
[11] अनि त्यो दुष्ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे ।
[12] अनि जब यूहन्ना पक्राउमा परेको येशूले सुन्नुभयो, उहाँ गालीलमा फर्कनुभयो ।
[13] उहाँले नासरत छोड्नुभयो र उहाँ कफर्नहुममा जानुभयो र त्यहाँ बस्नुभयो, जुन जबूलून र नप्तालीका क्षेत्रहरूमा, गालील समुद्रको छेवैमा थियो ।
[14] यशैया अगमवक्ताद्वारा भनिएका कुराहरू पूरा हुनको निम्ति यस्तो भयो,
[15] “गैरयहूदीहरूको गालील, यर्दनपारि, समुद्रतर्फ, जबूलूनको भूमि र नप्तालीको भूमि !
[16] अन्धकारमा बसेका मानिसहरूले महान् ज्योति देखेका छन्, र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ ।”
[17] त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।”
[18] जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्नुभयो, किनकि उनीहरू मछुवाहरू थिए ।
[19] येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
[20] तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे ।
[21] जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्नुभयो । उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना थिए । उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरू तुनिरहेका थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो,
[22] र उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे ।
[23] येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो ।
[24] उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र उहाँको अगि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए, विभिन्न रोगहरू र दुःखाइले ग्रस्त थिए, र जो भूतहरूद्वारा वशमा पारिएका थिए र तिनीहरू जो छारे रोग लागेका थिए र पक्षाघातीहरू थिए ।
[25] गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठूलो भीड उहाँको पछि लाग्यो ।