[1] तिनीहरूसँग यसो भन्दै येशू दृष्टान्तमा बोल्नुभयो,
[2] “स्वर्गको राज्य एउटा यस्तो राजा जस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।
[3] उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।
[4] फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’
[5] तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।
[6] अरूहरूले चाहिं राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे ।
[7] तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए ।
[8] त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।
[9] त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’
[10] ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो ।
[11] तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे ।
[12] राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ ?’ अनि त्यस व्यक्तिले केही बोल्न सकेन ।
[13] त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
[14] किनकि बोलाइएकाहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन् ।”
[15] त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्ने बारेमा योजना बनाए ।
[16] त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्ने कुरालाई वास्ता गर्नुहुन्न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्न ।
[17] त्यसैले, हामीलाई भन्नुहोस्, कि तपाईं के भन्नुहुन्छ ? कैसरलाई कर तिर्नु उचित हो कि होइन ?”
[18] तर येशूले तिनीहरूको दुष्टता थाहा पाउनुभयो, र भन्नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन जाँच्दछौ ?
[19] कर तिर्ने सिक्का मलाई देखाओ ।” त्यसपछि तिनीहरूले उहाँकहाँ एक दिनार ल्याए ।
[20] येशूले तिनीहरूलाई भन्नुभयो, “यी कसका नाम र छाप हुन् ?”
[21] तिनीहरूले उहाँलाई भने, “कैसरको ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन्, ती परमेश्वरलाई देओ ।”
[22] जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे । त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए ।
[23] त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे । तिनीहरूले उहाँलाई सोधे,
[24] “गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष बालक नजन्माईकन मर्यो भने, उसको भाइले त्यसकी पत्नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ ।
[25] तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्नी आफ्नो भाइलाई छोड्यो ।
[26] त्यसपछि दोस्रो भाइले त्यस्तै गर्यो, त्यसपछि तेस्रोले, र सातौं भाइसम्म यस्तै हुँदै गयो ।
[27] तिनीहरू सबै मरेपछि त्यो स्त्री पनि मरी ।
[28] अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्त्री कुन चाहिंको पत्नी हुन्छे ? किनकि तिनीहरू सबैले ऊसँग विवाह गरिसकेका छन् ।”
[29] तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्त्र वा परमेश्वरको शक्तिलाई जान्दैनौ ।
[30] किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्दछन्, न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ । बरु, तिनीहरू स्वर्गमा हुने दूतहरू जस्तै हुन्छन् ।
[31] तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ,
[32] ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ ?’ परमेश्वर मृतकहरूको परमेश्वर हुनुहुन्न, तर उहाँ जीवितहरूका परमेश्वर हुनुहुन्छ ।”
[33] जब भीडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्क परे ।
[34] तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए ।
[35] तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्न सोधे,
[36] “गुरुज्यू, व्यवस्थामा सबै भन्दा महान् आज्ञाचाहिं कुन हो ?”
[37] येशूले उनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू ।
[38] योचाहिं पहिलो र महान् आज्ञा हो ।
[39] अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैंले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नू ।’
[40] सारा व्यवस्था र अगमवक्ताहरू यी दुई वटा आज्ञामाथि आधारित छन् ।”
[41] फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्न सोध्नुभयो ।
[42] उहाँले भन्नुभयो, “तिमीहरू ख्रीष्टको बारेमा के विचार गर्दछौ ? ख्रीष्ट कसका पुत्र हुन् ?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र ।”
[43] येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, दाऊद पवित्र आत्माले भरिँदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे,
[44] ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस ।’ ?”
[45] यदि दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भन्दछन् भने, उनी कसरी दाऊदका पुत्र हुन सक्छन् त ?”
[46] तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेनन्, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्नहरू सोध्ने साहस गरेन।