Skip to content
Opens in a new window
Listen to this chapter • 4:36

[1] किनकि परमेश्‍वरको राज्‍य एक जना जमिन मालिक जस्‍तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्‍यालादारीमा लगाउन एका बिहानै बाहिर गए ।

[2] ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए ।

[3] उनी नौ बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे ।

[4] उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्‍यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए ।

[5] फेरि उनी बार्‍ह बजे र तीन बजे बाहिर गए र त्‍यसै गरे ।

[6] एक पटक फेरि उनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए । उनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ ?’

[7] तिनीहरूले उनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन ।’ उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ ।’

[8] जब साँझ पर्‍यो, ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ‘ती कामदारहरूलाई बोलाऊ र अन्‍तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्‍याला तिरिदेऊ ।’

[9] जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए ।

[10] जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्‍त गरे ।

[11] जब तिनीहरूले आफ्ना ज्‍यालाहरू प्राप्‍त गरे, तिनीहरूले त्‍यस जमिन मालिकको विरुद्धमा गनगन गरे ।

[12] तिनीहरूले भने, ‘यी अन्‍तमा आएका कामदारहरूले एक घण्टा मात्र काममा बिताएका थिए, तर तपाईंले उनीहरूलाई हामी समान बनाउनुभएको छ, हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्यौं ।’

[13] तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्‍ये एक जनालाई भने, ‘मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैनँ । के तिमी मसँग एक दिनारमा मञ्‍जुर भएका थिएनौ र ?

[14] जे तिम्रो हो त्‍यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै म यी अन्‍त्‍यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्‍छा गर्दछु ।

[15] के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरे जस्‍तो गर्नु न्‍यायसङ्‌गत होइन र ? वा म असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो ?’

[16] यसैले पछिल्लो पहिलो हुनेछ, र पहिलोचाहिं पछिल्लो हुनेछ । बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन् ।”

[17] जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्‍थ्यो, उहाँले ती बार्‍है जना चेलालाई अलग्गै राख्‍नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,

[18] “हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौं, र मानिसका पुत्र मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्‍युदण्डको दोष लगाउनेछन्,

[19] र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रुसमा झुण्ड्‌याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् । तर उनी तेस्रो दिनमा उठाइनेछन् ।”

[20] त्‍यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन् । तिनी उहाँको अगाडि घोप्‍टो परिन् र उहाँबाट केही कुरा पाउनलाई उहाँसँग बिन्‍ती गरिन् ।

[21] येशूले तिनलाई भन्‍नुभयो, “तिमीले के कुराको चाहना गर्छौ ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्‍यमा यी मेरा दुई जना छोरामध्‍ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस् ।”

[22] तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन । के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र ?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौं ।”

[23] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो कचौराबाट त पिउनेछौ । तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्‍न दिने मैले होइन, तर यो तिनीहरूका निम्ति हो, जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको छ ।”

[24] जब अरू दस जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्‍ट भए ।

[25] तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “तिमीहरू जान्‍दछौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार जमाउँछन् ।

[26] तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन । बरु, जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ ।

[27] र जो तिमीहरूका बिचमा पहिलो हुने इच्‍छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ,

[28] जसरी मानिसका पुत्र सेवा पाउनलाई आएको होइन, तर सेवा गर्न, र धेरैको छुटकाराको मोल तिर्नको निम्ति आफ्नो जीवन दिन आएको हो।”

[29] जसै तिनीहरू यरीहोबाट बाहिर गए, एउटा ठूलो भीड उहाँको पछि लाग्यो ।

[30] र दुई जना दृष्‍टिविहीन बाटोको छेउमा बसिरहेका थिए । येशू त्‍यहाँबाट भएर जाँदै हुनुहुन्‍छ भन्‍ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”

[31] तिनीहरूलाई चुप रहन भन्‍दै भीडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्‍यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”

[32] तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्‍छौ ?”

[33] तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।”

[34] तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्‍यत्तिखेरै आफ्ना दृष्‍टि प्राप्‍त गरे र उहाँलाई पछ्याए ।

मत्तीले लेखेको सुसमाचार — Chapters