[1] त्यसपछि येशू भीडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो ।
[2] उहाँले भन्नुभयो, “शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्छन् ।”
[3] यसकारण, तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्दछन्, ती कुरा गर र तिनीहरूलाई पालन गर । तर तिनीहरूका कामहरूको अनुसरण नगर, किनकि तिनीहरू कुराहरूचाहिं गर्दछन्, तर पछि आफैले ती गर्दैनन् ।
[4] हो, तिनीहरूले बोक्न कठिन हुने गह्रौं भारीहरू बाँधिदिन्छन्, अनि तिनीहरूले ती मानिसहरूका काँधहरूमा राखिदिन्छन् । तर तिनीहरू आफैले भने ती बोक्नलाई एउटा औंला पनि चलाउँदैनन् ।
[5] तिनीहरूले सबै काम मानिसहरूले देखून् भनेर गर्छन् । किनकि तिनीहरूले आफ्ना निधारमा र नाडीमा राखिने व्यवस्था-पत्रीहरू ठूलो बनाउँछन्, र तिनीहरूले आफ्ना वस्त्रका झुम्काहरू लामो पार्दछन् ।
[6] तिनीहरूले भोजमा मुख्य स्थानहरू र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्,
[7] अनि बजारहरूमा विशेष अभिवादन गरिएको र मानिसहरूद्वारा ‘रब्बी’ भनी सम्बोधन गरिएको चाहन्छन् ।
[8] तर तिमीहरूलाई ‘रब्बी’ भनी सम्बोधन गरिनुहुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ, र तिमीहरू सबै दाजुभाइहरू हौ ।
[9] अनि पृथ्वीमा कुनै पनि मानिसलाई पिता भनी नपुकार, किनकि तिमीहरूका एक मात्र पिता हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ ।
[10] न त ‘गुरुज्यू’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्ट तिमीहरूका एक मात्र गुरु हुनुहुन्छ ।
[11] तर जो तिमीहरूका माझमा सबै भन्दा महान् छ, ऊ तिमीहरूका दास हुनेछ ।
[12] जसले आफूलाई उच्च पार्दछ, त्यसलाई होच्याइनेछ । अनि जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ ।
[13] तर धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गको राज्यलाई बन्द गर्दछौ । किनकि तिमीहरू यसमा आफै प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ ।
[14] धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू विधवाहरूका घरहरू नष्ट गर्दछौ, जब कि लामो-लामो प्रार्थना गरी देखाउँदछौ । यसकारण, तिमीहरूले अझ बढी दण्ड पाउनेछौ ।
[15] धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि एक जनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र र जमिन चहार्दछौ । जब त्यो तिमीहरूको मतमा आउँछ, त्यसलाई आफू भन्दा दोब्बर नरकको छोरो बनाउँछौ ।
[16] धिक्कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
[17] ए दृष्टिविहीन मूर्खहरू हो ! कुनचाहिं ठूलो हो– सुन कि त्यस सुनलाई परमेश्वरकहाँ अर्पण गर्ने मन्दिर ?
[18] अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
[19] ए अन्धा मानिसहरू हो, कुनचाहिं ठूलो हो– भेटी कि त्यस भेटीलाई परमेश्वरकहाँ अर्पण गर्ने वेदी ?
[20] अनि जसले वेदीको शपथ खान्छ, उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ ।
[21] अनि जसले मन्दिरको शपथ खान्छ, उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
[22] अनि जसले स्वर्गको शपथ खान्छ, उसले परमेश्वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
[23] धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू पुदिना, सुप र जिराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्वासलाई बेवास्ता गरेका छौ । तर यी कुराहरू तिमीहरूले गर्नुपर्ने थियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्ने थियो ।
[24] ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिं निल्दछौ !
[25] धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू अन्यायपूर्ण माग र लोभले भरिएका छन् ।
[26] ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर, ताकि त्यसको बाहिरपट्टि पनि सफा होस् ।
[27] धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू चुनले पोतेका चिहानहरूजस्ता छौ, जुन बाहिरपट्टि सुन्दर देखा पर्दछन्, तर भित्रपट्टि चाहिं मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका छन् ।
[28] यसै गरी, तिमीहरू पनि बाहिर मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्रपट्टि तिमीहरू कपट र दुष्टताले भरिएका छौ ।
[29] धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू अगमवक्ताहरूका चिहानहरू बनाउँदछौ र धर्मीहरूका चिहानहरूलाई सिङ्गार्दछौ ।
[30] तिमीहरू भन्छौ, ‘यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए, अगमवक्ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौं ।’
[31] यसकारण, तिमीहरू आफैले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्ताहरूको हत्या गरे ।
[32] तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पूरा गर्छौ ।
[33] ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ ?
[34] त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।
[35] यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्यौ ।
[36] साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् ।
[37] ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस् ! कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, तर तैंले इच्छा गरिनस् ।
[38] हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् ।
[39] किनकि म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ भनी तिमीहरूले नभनेसम्म, अबदेखि तिमीहरूले मलाई देख्नेछैनौ ।”