Skip to content
Opens in a new window
Listen to this chapter • 4:19

[1] फरिसीहरू र शास्‍त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे ।

[2] तर उहाँले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “जब साँझ हुन्‍छ, तिमीहरू भन्‍छौ, ‘मौसम सफा हुनेछ, किनकि आकाश रातो छ ।’

[3] र बिहान तिमीहरू भन्‍छौ, ‘आज मौसम नराम्रो हुनेछ, किनकि आकाश रातो र बादलले ढाकिएको छ ।’ आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्‍दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ ।

[4] एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्‍यसलाई दिइनेछैन ।” त्‍यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्‍यहाँबाट टाढा जानुभयो ।

[5] चेलाहरू अर्को छेउमा आए, तर उनीहरूले साथमा रोटी ल्याउन बिर्से ।

[6] येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्‍यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”

[7] चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्‍न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्‍दै हुनुहुन्‍छ ।”

[8] येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनें भनेर भन्‍दछौ ?

[9] पाँच हजार जनाको निम्ति पाँच वटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ ?

[10] अथवा चार हजार जनाको निम्ति सात वटा रोटी र तिमीहरूले कति टोकरी उठायौ ?

[11] मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ ? ध्‍यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”

[12] त्‍यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।

[13] जब येशू कैसरिया फिलिप्‍पीको इलाकाहरूमा आइपुग्‍नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍दै सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्‍छन् ?”

[14] उनीहरूले भने, “कोही भन्‍छन् बप्‍तिस्मा-दिने यूहन्‍ना, कोहीले एलिया, र अरूले यर्मिया वा अगमवक्‍ताहरूमध्‍ये एक हुन् भनेर भन्‍दछन् ।”

[15] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्‍छौ ?”

[16] सिमोन पत्रुसले उत्तर दिँदै भने, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्‍छ ।”

[17] येशूले उत्तर दिनुभयो र उनलाई भन्‍नुभयो, “योनाका छोरा सिमोन तिमी धन्‍यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।

[18] म तिमीलाई यो पनि भन्‍दछु, कि तिमी पत्रुस हौ, र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु । नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन् ।

[19] म तिमीलाई स्वर्गको राज्‍यका साँचाहरू दिनेछु । तिमीले पृथ्वीमा जे कुरा बाँध्‍नेछौ, त्‍यो स्वर्गमा बाँधिनेछ, र जे कुरा तिमीले पृथ्वीमा फुकाउनेछौ, त्‍यो स्वर्गमा फुकाइनेछ ।”

[20] त्‍यसपछि उहाँ नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा कसैलाई नभन्‍नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो ।

[21] त्‍यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म-गुरुहरू र मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूका हातबाट धेरै कुरा भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्‍छ भनी बताउन थाल्नुभयो ।

[22] तब पत्रुसले उहाँलाई एकातिर लागे र यसो भन्‍दै हप्काए, “प्रभु, यो तपाईंबाट टाढा रहोस्; यस्तो तपाईंलाई कहिल्यै नहोस् ।”

[23] तर येशू फर्कनुभयो र पत्रुसलाई भन्‍नुभयो, “शैतान, मबाट टाढा होइजा ! तँ मेरो लागि बाधा होस्, किनकि तैंले परमेश्‍वरका कुराहरूलाई ध्‍यान दिँदैनस् तर मानिसहरूका कुराहरूमा ध्‍यान लगाउँछस् ।”

[24] त्‍यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्‍छा गर्छ भने, उसले आफैलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।

[25] किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्‍यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्‍यसले त्‍यो प्राप्‍त गर्नेछ ।

[26] किनकि एउटा मानिसले सारा जगत् प्राप्‍त गरेर आफ्नो जीवनचाहिं गुमायो भने उसलाई के लाभ हुन्‍छ र ? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ ?

[27] किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्‍यसपछि उनले हरेक व्यक्‍तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।

[28] साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यहाँ खडा भएकाहरूमध्‍ये तिमीहरू कोही छौ, जसले मानिसका पुत्रलाई उनको राज्‍यमा आउँदै गरेको नदेखुन्जेलसम्म मृत्‍यु चाख्‍नेछैन ।”

मत्तीले लेखेको सुसमाचार — Chapters