Skip to content
Opens in a new window
Listen to this chapter • 6:57

[1] जब येशूले भीडलाई देख्‍नुभयो, उहाँ डाँडामाथि जानुभयो । उहाँ तल बस्‍नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए ।

[2] उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्‍दै सिकाउनुभयो,

[3] “धन्‍य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्‍य तिनीहरूकै हो ।

[4] धन्‍य हुन् तिनीहरू जसले शोक गर्दछन्, किनभने तिनीहरूले सान्‍त्वना पाउनेछन् ।

[5] धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीमा राज्‍य गर्नेछन् ।

[6] धन्‍य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त पारिनेछन् ।

[7] धन्‍य दयावन्‍तहरू, किनभने तिनीहरूले दया पाउनेछन् ।

[8] धन्‍य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन् ।

[9] धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका सन्‍तान कहलाइनेछन् ।

[10] धन्‍य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्‍य तिनीहरूकै हो ।

[11] तिमीहरू धन्‍यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्‍ट दिन्‍छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झूटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्‍दछन् ।

[12] आनन्‍दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठूलो हुनेछ । किनभने यसरी नै तिमीहरू भन्‍दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए ।

[13] तिमीहरू यस पृथ्वीका नून हौ । तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने ? यसलाई बाहिर फ्याँक्‍न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्‍यो उपयोगी हुँदैन ।

[14] तिमीहरू यस संसारका ज्‍योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्‍न सक्दैन ।

[15] न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्‍यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्‍येकको निम्ति त्‍यसले उज्‍यालो दिन्‍छ ।

[16] मानिसहरूका बिचमा तिमीहरूको ज्‍योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।

[17] म अगमवक्‍ताहरू वा व्यवस्थालाई नष्‍ट गर्न आएको हुँ भनी नसोच । म तिनलाई नष्‍ट गर्न होइन, तर पूरा गर्न आएको हुँ ।

[18] किनकि म तिमीहरूलाई साँचो रूपमा भन्‍दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पूरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्‍दु बितेर जानेछैन ।

[19] त्‍यसकारण, जसले यी आज्ञाहरूका साना भन्‍दा साना कुरालाई भङ्‌ग गर्दछ र अरूलाई पनि त्‍यसो गर्न सिकाउँदछ, त्‍यो स्वर्गको राज्‍यमा सबै भन्‍दा तुच्‍छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्‍दछ र त्‍यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्‍यमा सबै भन्‍दा उच्‍च ठहरिनेछ ।

[20] किनकि म तिमीहरूलाई भन्‍दछु, कि तिमीहरूको धार्मिकता फरिसी र शास्‍त्रीहरूको भन्‍दा बढी भएन भने, तिमीहरू कुनै रीतिले परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछैनौ ।

[21] प्राचिन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्‍या नगर’ र ‘हत्‍या गर्नेचाहिं इन्साफको जोखिममा पर्नेछ ।’

[22] तर म तिमीहरूलाई भन्‍दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ । र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्‍ने मानिस !’ भनेर भन्‍छ भने, त्‍यो न्‍यायालयमा उभ्याइने जोखिममा पर्नेछ । र जो कसैले ‘तँ मूर्ख !’ भन्‍दछ, त्‍यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ ।

[23] त्‍यसकारण, यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्‍ने कुरा तिमीलाई याद आयो भने,

[24] तिम्रो भेटी त्‍यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग । पहिले आफ्नो भाइसँग मिलाप गर, र तब आऊ र आफ्नो भेटी चढाऊ ।

[25] तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्‍यायकर्ताको हातमा सुम्पिदेला, र न्‍यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान्, र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान् ।

[26] साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूको ऋणको एक-एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्‍यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ ।

[27] तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’

[28] तर म तिमीहरूलाई भन्‍दछु, कि यदि कसैले एउटी स्‍त्रीलाई अभिलाषाको दृष्‍टिले हेर्दछ भने, त्‍यसले आफ्नो हृदयमा त्‍यससँग व्यभिचार गरिसकेको हुन्‍छ ।

[29] र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्‍छौ भने, त्‍यसलाई निकालिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनु भन्‍दा आफ्नो शरीरको कुनै एउटा अङ्ग गुमाउनु नै तिम्रो लागि असल हुन्‍छ ।

[30] र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्‍छौ भने, त्‍यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानु भन्‍दा आफ्नो शरीरको कुनै एउटा अङ्ग गुमाउनु नै तिम्रो लागि असल हुन्‍छ ।

[31] यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्‍नीलाई त्‍याग्दछ, उसले तिनलाई विवाह-विच्छेदको प्रमाण पत्र देओस् ।’

[32] तर म तिमीहरूलाई भन्‍दछु, कि व्यविचारको कारणबाहेक आफ्नी पत्‍नीलाई त्‍याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको विवाह-विच्छेदपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।

[33] फेरि, तिमीहरूले प्राचिन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झूटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पूरा गर् ।’

[34] तर म तिमीहरूलाई भन्‍दछु, कि शपथ खाँदै नखाओ, न त स्वर्गको, किनकि त्‍यो परमेश्‍वरको सिंहासन हो;

[35] न त पृथ्वीको, किनकि त्‍यो उहाँको निम्ति पाउदान हो; न त यरूशलेमको, किनकि त्‍यो महान् राजाको सहर हो;

[36] न त आफ्नो शिरको शपथ खाओ, किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ ।

[37] तर तिमीहरूको बोली ‘हो भने हो’, वा ‘होइन भने होइन ’ नै होस् । त्‍यो भन्‍दा बढी जुनसुकै कुरा पनि दुष्‍टबाट आएको हुन्‍छ ।

[38] तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’

[39] तर म तिमीहरूलाई भन्‍दछु, जो दुष्‍ट छ त्‍यसको मुकाबिला नगर । त्‍यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ ।

[40] र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्‍छ, र तिम्रो दौरा लिएर जान्‍छ भने, त्‍यसलाई तिम्रो खास्टो पनि देऊ ।

[41] र जसले तिमीलाई एक किलोमिटर जानको लागि बाध्‍य गराउँछ, उसँग दुई किलोमिटर जाऊ ।

[42] तिमीहरूसँग माग्‍ने जो कोहीलाई देओ, र तिमीहरूसँग उधारो माग्‍न चाहनेहरूलाई इन्कार नगर ।

[43] तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर ।’

[44] तर म तिमीहरूलाई भन्‍दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर,

[45] ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक । किनकि उहाँले दुष्‍ट र सज्जन दुवैका लागि आफ्नो सूर्यको ताप दिनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी वर्षाउनुहुन्‍छ ।

[46] किनकि यदि तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र ? के कर उठाउनेहरूले पनि त्‍यसै गर्दैनन् र ?

[47] र यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने, अरूहरूले भन्‍दा तिमीहरूले के बढी गर्‍यौ र ? के गैरयहूदीहरूले पनि त्‍यस्तै गर्दैनन् र ?

[48] त्‍यसकारण, जसरी तिमीहरूका स्वर्गीय पिता सिद्ध हुनुहुन्‍छ, त्‍यसरी नै तिमीहरू पनि सिद्ध हुनुपर्दछ ।

मत्तीले लेखेको सुसमाचार — Chapters