Skip to content
Opens in a new window
Listen to this chapter • 3:56

[1] इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन ।

[2] किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्‍यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्‍यही नापले तिमीहरू पनि नापिनेछौ ।

[3] र किन तिमीहरूले आफ्नो भाइका आँखामा भएको परालको सानो टुक्रालाई देख्छौ, तर आफ्नै आँखामा भएको मूढालाई तिमीहरू ख्याल गर्दैनौ ?

[4] तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्‍न सक्छौ, जब कि मूढाचाहिं तिम्रो आफ्नै आँखामा छ ?

[5] ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मूढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्‍टसँग देख्‍न सक्छौ ।

[6] जे कुरा पवित्र छ त्‍यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्‌गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्‍यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् ।

[7] माग, र त्‍यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ ।

[8] किनकि माग्‍ने सबैले पाउँछन् । र खोज्‍ने सबैले भेट्टाउँछन् । र ढकढक्याउने व्यक्तिको निम्ति त्‍यो उघारिनेछ ।

[9] वा, तिमीहरूमध्‍ये यस्तो मानिस कोही छ जसले आफ्नो छोराले उसलाई रोटी माग्दा ढुङ्‌गा देला ?

[10] वा, उसले माछा माग्दा उसलाई सर्प देला ?

[11] यसकारण, तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्‍दछौ भने, तिमीहरूका स्वर्गमा हुनुहुने पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ्ता गरेर दिनुहुन्‍छ ?

[12] त्‍यसकारण, मानिसहरूले तिमीहरूको निम्ति जस्‍तो गरेको चाहन्‍छौ, तिमीहरूले तिनीहरूसँग त्‍यस्तै गर्नुपर्छ । त्‍यो नै व्यवस्था र अगमवक्‍ताहरूको शिक्षा हो ।

[13] साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्‍याउने ढोका र बाटो फराकिलो हुन्‍छन्, र त्‍यस बाटोबाट जाने मानिसहरू धेरै छन् ।

[14] किनकि जीवनमा डोर्‍याउने ढोका र बाटो साँघुरो हुन्‍छन्, र त्‍यो भेट्टाउने थोरै मात्र छन् ।

[15] झूटा अगमवक्‍ताहरूदेखि होशियार बस, जो भेडाको भेषमा आउँदछन्, तर वास्तवमा तिनीहरू भोका ब्‍वाँसाहरू हुन् ।

[16] तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ । के मानिसहरूले काँडाको झाडीबाट अङ्‌गुर बटुल्छन्, वा काँडाको बिरुवाबाट अन्जीर टिप्छन् र ?

[17] यसरी नै, हरेक असल रुखले असलै फल फलाउँछ, तर खराब रुखले खराबै फल फलाउँछ ।

[18] एउटाअ सल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल नै फलाउन सक्छ ।

[19] हरेक रुख जसले असल फल फलाउँदैन, त्‍यो काटिनेछ र आगोमा फालिनेछ ।

[20] यसकारण, तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ ।

[21] ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्‍छालाई पालन गर्ने मात्र स्वर्गको राज्‍यमा प्रवेश गर्नेछ ।

[22] त्‍यस दिन धेरै मानिसले मलाई भन्‍नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौं र ? के तपाईंको नाउँमा भूतहरू धपाएनौं र ? र तपाईंको नाउँमा धेरै शक्‍तिशाली कामहरू गरेका थिएनौं र ?’

[23] तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ ! ए दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल् !’

[24] त्‍यसकारण, हरेक जसले मेरा वचन सुन्‍छ र ती पालन गर्छ, त्‍यो बुद्धिमान् मानिस जस्‍तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो ।

[25] पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्‍यस घरलाई हान्‍यो, तर त्‍यो घर ढलेन, किनकि त्‍यो घर चट्टानमाथि बनाइएको थियो ।

[26] तर हरेक जसले मेरा वचन सुन्‍छ र पालन गर्दैन, त्‍यो मूर्ख मानिस जस्‍तै हो जसले आफ्नो घर बालुवामाथि बनायो ।

[27] पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्‍यस घरलाई हान्‍यो । र त्‍यो ढल्यो र पूर्ण रूपमा नष्‍ट भयो ।”

[28] जब येशूले यी वचन भनेर सक्‍नुभयो, भीड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो,

[29] किनकि उहाँले तिनीहरूका शास्‍त्रीहरूले जस्‍तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।

मत्तीले लेखेको सुसमाचार — Chapters