[1] येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो, पारिपट्टि जानुभयो, र आफ्नो सहरमा आइपुग्नुभयो ।
[2] हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षघातीलाई ल्याए । तिनीहरूको विश्वास देखेर येशूले त्यो पक्षघात भएको व्यक्तिलाई भन्नुभयो, “छोरा आनन्दित होऊ । तिम्रा पाप क्षमा भएका छन् ।”
[3] हेर, त्यहाँका केही शास्त्रीहरूले तिनीहरूका माझमा यसो भने, “यो मानिसले ईश्वर-निन्दा गरिरहेको छ ।”
[4] येशूले तिनीहरूको विचारलाई थाहा पाउनुभयो र भन्नुभयो, “किन तिमीहरू आफ्ना हृदयमा दुष्ट विचार गरिरहेका छौ ?
[5] कुन कुराचाहिं भन्न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन् भन्न कि उठ र हिँड भन्न ?’
[6] तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने कुरा तिमीहरूले जान्न सक ।” उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।”
[7] त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो ।
[8] जब भीडले यो देख्यो, तिनीहरू छक्क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्वरको प्रशंसा गरे ।
[9] येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्तिलाई देख्नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे ।
[10] जब येशू खाना खान घरमा बस्नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए ।
[11] जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन् ?”
[12] जब येशूले यो सुन्नुभयो, उहाँले भन्नुभयो, “शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन् ।”
[13] जाओ र यसको अर्थ के हो सिक, ‘म दया चाहन्छु, तर बलिदान होइन ।’ किनकि म, धर्मीहरूलाई पश्चात्ताप गर्नलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।
[14] त्यसपछि बप्तिस्मा-दिने यूहन्नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्तछौं, तर तपाईंका चेलाहरू उपवास बस्दैनन् ?”
[15] येशूले तिनीहरूलाई भन्नुभयो, “के विवाहमा आएकाहरू, दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र ? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्नेछन् ।
[16] कसैले पनि पूरानो वस्त्रमा नयाँ कपडाको टुक्रा जोड्दैन, किनकि त्यो टुक्रा वस्त्रबाट च्यातिनेछ, र त्यहाँ झन् बढी फाट्नेछ।
[17] न त कसैले पूरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ । तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्ट हुनेछ । त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा रख्दछन्, र दुवै सुरक्षित रहन्छन् ।”
[18] जब येशूले तिनीहरूलाई यो कुरा भनिरहनुभएको थियो, हेर, एउटा अधिकारी आए र येशूलाई दण्डवत् गरे । तिनले भने, “मेरी छोरी भर्खरै मरेकी छन्, तर आएर तपाईंले तिनको शिरमाथि हात राखिदिनुहोस् र तिनी फेरि जीवित हुनेछिन् ।”
[19] त्यसपछि येशू उठ्नुभयो र तिनको पछि लाग्नुभयो र उहाँका चेलाहरू पनि पछि लागे ।
[20] हेर, बाह्र वर्षदेखि धेरै रगत बग्ने एक जना स्त्री येशूको पछाडि आइन्, र उहाँको वस्त्रको छेउ छोइन् ।
[21] किनकि तिनले आफैलाई यसो भनेकी थिइन्, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि, म निको पारिनेछु ।”
[22] तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्नुभयो, र भन्नुभयो “छोरी, साहस गर । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” अनि ती स्त्री तुरुन्तै निको भइन् ।
[23] जब येशू त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीडले ठूलो हल्ला गरिरहेका देख्नुभयो ।
[24] उहाँले भन्नुभयो, “बाहिर जाओ, किनकि यी युवती मरेकी छैनन्, तर यिनी निदाएकी छन् ।” तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे ।
[25] जब भीडलाई बाहिर पठाइएको थियो, उहाँ कोठाभित्र जानुभयो र उहाँले तिनका हात समात्नुभयो, र ती युवती उठिन् ।
[26] यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो ।
[27] जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना दृष्टिविहीनले उहाँलाई पछ्याए । तिनीहरू ठूलो स्वरले कराइरहे र यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस् ।”
[28] जब येशू घरभित्र आउनुभयो, ती दृष्टिविहीनहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।”
[29] त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूले विश्वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस् ।”
[30] अनि तिनीहरूका आँखा खोलिए । त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्नुभयो, “ख्याल गर, कि यो कुरो कसैलाई पनि थाहा नहोस् ।”
[31] तर ती दुई जना मानिस बाहिर निस्के र यो खबर त्यो क्षेत्रभरि नै फैलाए ।
[32] जब ती दुई जना मानिस जाँदै थिए, हेर, एक जना भूतात्मा लागेको बोल्न नसक्ने व्यक्तिलाई येशूकहाँ ल्याइयो ।
[33] जब त्यो भूतात्मा धपाइयो, तब त्यो व्यक्ति बोल्यो । भीडहरू छक्क परे र भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन !”
[34] तर फरिसीहरूले यसो भनिरहेका थिए, “यसले भूतहरूको मालिकद्वारा भूतहरू निकाल्दछ ।”
[35] येशू सारा सहरमा र गाउँहरूमा जानुभयो । उहाँले राज्यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो ।
[36] जब उहाँले भीडलाई देख्नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए । तिनीहरू गोठालाविनाका भेडाहरू जस्तै थिए ।
[37] उहाँले चेलाहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छन्, तर खेतालाहरू थोरै छन् ।
[38] यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् ।”