Skip to content
Opens in a new window
Listen to this chapter • 6:08

[1] ययेशू मन्‍दिरबाट बाहिर जानुभयो र उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्‍थ्यो । उहाँलाई मन्‍दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँकहाँ आए ।

[2] तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा देख्दैनौ ? साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गा छोडिनेछैन, सबै भत्काइनेछन् ।”

[3] जब उहाँ जैतून डाँडामा बस्‍नुभयो, चेलाहरू उहाँकहाँ सुटुक्‍कै आए र भने, “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन् ? तपाईंको आगमन र संसारको अन्‍तको चिन्ह के हुनेछ ?”

[4] येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई नभड्काओस् ।”

[5] किनकि मेरो नाउँमा धेरै जना आउनेछन् । किनकि तिनीहरूले भन्‍नेछन्, ‘म नै ख्रीष्‍ट हुँ !’ र धेरैलाई भड्काउनेछन् ।

[6] तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्‍नेछौ । तर तिमीहरू, विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अझै अन्‍त आइसकेको हुँदैन ।

[7] किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्‍यको विरुद्धमा राज्‍य खडा हुनेछ । विभिन्‍न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् ।

[8] तर यी सबै कुरा प्रसव-वेदनाको सुरुवात मात्र हो ।

[9] तब तिनीहरूले तिमीहरूलाई सङ्‌कष्‍टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ ।

[10] तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् ।

[11] धेरै झूटा अगमवक्‍ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् ।

[12] किनभने अधर्मको वृद्धि हुनेछ; धेरै जनाको प्रेम सेलाउनेछ ।

[13] तर जो अन्‍तसम्म स्थिर रहन्‍छ, उसले उद्धार पाउनेछ ।

[14] राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ । तब अन्‍त आउनेछ ।

[15] त्‍यसकारण, जब तिमीहरूले दानिएल अगमवक्‍ताले भनेका जस्‍तै त्‍यस विनाशकारी घृणित व्यक्‍तिलाई पवित्र स्थानमा उभिएको देख्छौ (पाठकले आफै बुझोस),

[16] जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्,

[17] जो घरको छानामाथि छ, ऊ घरबाट कुनै सामान लिन तल नझरोस् ।

[18] र जो खेतमा छ, ऊ आफ्नो खास्टो लिन नफर्कोस् ।

[19] तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन् !

[20] हिउँदमा वा शबाथको दिनमा तिमीहरू भाग्‍न नपरोस् भनी प्रार्थना गर ।

[21] किनकि त्‍यस बेला महासङ्‌कष्‍ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ ।

[22] ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्‍नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् ।

[23] तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन् !’ वा, ‘ख्रीष्‍ट त्‍यहाँ छन् !’ भन्‍छ भने त्‍यसलाई विश्‍वास नगर ।

[24] किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्‍ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठूला-ठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन् ।

[25] हेर, मैले यी अगाडि नै तिमीहरूलाई बताएको छु ।

[26] त्‍यसकारण, यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उहाँ उजाड-स्थानमा हुनुहुन्‍छ’ भनेर भन्‍छन् भने, उजाड-स्थानतिर नजाओ । वा ‘हेर, उहाँ भित्री कोठाहरूमा हुनुहुन्‍छ’ भनेर भन्‍छन् भने, त्‍यसलाई विश्‍वास नगर ।

[27] किनकि जसरी बिजुली पूर्वबाट चम्कन्‍छ र पश्‍चिमसम्मै त्‍यसको उज्‍यालो पुग्दछ, मानिसका पुत्रको आगमन पनि त्‍यस्तै हुनेछ ।

[28] जहाँ सिनो छ, त्‍यहाँ गिद्धहरू भेला हुनेछन् ।

[29] तर ती दिनमा सङ्‌कष्‍ट आए लगत्तै सूर्य अँध्‍यारो हुनेछ; चन्‍द्रमाले आफ्नो ज्‍योति दिनेछैन; ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गका शक्‍तिहरू डगमगाउनेछन् ।

[30] तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन् । तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्‍ति र ठूलो महिमासाथ आउँदै गरेको देख्‍नेछन् ।

[31] उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन् ।

[32] अन्जीरको बोटबाट पाठ सिक । जब त्‍यसका हाँगाहरू कलिला हुन्‍छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ ।

[33] त्‍यसरी नै, जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उहाँ नजिकै अर्थात् ढोकाकै छेउमा हुनुहुन्‍छ भनी तिमीहरूले जान्‍नुपर्छ ।

[34] साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन ।

[35] स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् ।

[36] तर त्‍यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रलाई, तर पितालाई मात्र थाहा छ ।

[37] मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्‍तै हुनेछ ।

[38] किनकि ती दिनहरूमा जलप्रलय आउनु भन्‍दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै थिए,

[39] अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन । मानिसका पुत्रको आगमन पनि त्‍यस्तै हुनेछ ।

[40] तब खेतमा दुई जना हुनेछन्– एक जना लगिनेछ, र अर्को यहीं छोडिनेछ ।

[41] दुई जना स्‍त्री जाँतो पिँधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की त्‍यहीं छोडिनेछ ।

[42] त्‍यसकारण, तिमीहरू जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्‍ने कुरा तिमीहरूलाई थाहा छैन ।

[43] तर यो जान, कि रातको कुन समयमा चोर आउँदै छ भन्‍ने कुरा घरको धनीलाई थाहा भएको भए, ऊ जागा बस्‍ने थियो र चोरलाई उसको घर फोर्न दिने थिएन ।

[44] त्‍यसकारण, तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनेछ ।

[45] त्‍यसैले, विश्‍वासयोग्य र बुद्धिमान् नोकर को हो, जसलाई उसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई देओस् भनी नियुक्त गरेको हुन्छ ?

[46] त्‍यो नोकर धन्‍य हो, जसलाई उसको मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछ ।

[47] साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ ।

[48] तर यदि दुष्‍ट नोकरले त्‍यसको मनमा, ‘मेरो मालिक ढिला हुनुभएको छ’ भनी भन्‍दछ,

[49] अनि उसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ, र मतवालाहरूसँग खान्‍छ र पिउँछ भने,

[50] त्‍यस नोकरले आशा नगरेको दिनमा र त्‍यसलाई थाहा नभएको घडीमा त्‍यस नोकरको मालिक आउनेछ ।

[51] त्‍यसको मालिकले त्‍यसलाई दुई टुक्रा पारी काट्नेछ र त्‍यसको दशा ती पाखण्डीहरूको जस्‍तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

मत्तीले लेखेको सुसमाचार — Chapters