Skip to content
Opens in a new window
Listen to this chapter • 5:22

[1] यो परमेश्‍वरको पुत्र प्रभु येशू ख्रीष्‍टको सुसमाचारको सुरुवात हो ।

[2] जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”

[3] “उजाड-स्थानमा एक जना बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।”

[4] यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए ।

[5] यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए ।

[6] यूहन्‍नाले ऊँटको रौँबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्‍थे र तिनले सलहहरू र वन मह खान्‍थे ।

[7] उनले प्रचार गरे र भने, “मपछि जोआउँदै हुनुहुन्‍छ उहाँ म भन्‍दा शक्‍तिशाली हुनुहन्‍छ, र म त उहाँको चप्‍पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन ।

[8] मैले तिमीहरूलाई पानीले बप्‍तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ ।”

[9] ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो ।

[10] जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुर जस्‍तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो ।

[11] अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्‍न छु ।”

[12] त्‍यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्‍य गराउनुभयो ।

[13] उहाँ शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म उजाड-स्थानमा रहनुभयो । उहाँ जङ्‌गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे ।

[14] अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो ।

[15] र भन्‍नुभयो, “समय पुरा भएको छ, र परमेश्‍वरको राज्‍य नजिकै छ । पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर ।

[16] गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्‍द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए ।

[17] येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”

[18] तुरुन्‍तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।

[19] जसै येशू हिँडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्‌गामा बसेर जालहरू मर्मत गरिरहेका थिए ।

[20] उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले तिनीहरूको पितालाई ज्यामीहरूको साथ डुङ्‌गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।

[21] र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो ।

[22] तिनीहरू उहाँको शिक्षामा छक्‍क परे, किनकि उहाँले तिनीहरूलाई शास्‍त्रीहरूले जस्‍तो होइन, तर अधिकार भएको व्यक्‍तिले जस्‍तै सिकाइरहनुभएको थियो ।

[23] त्‍यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्‍यो चिच्‍च्‍यायो र

[24] भन्‍यो, “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार ? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो ? तपाईं को हुनुहुन्‍छ भनी म चिन्‍छु । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ ।”

[25] येशूले भूतलाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग्, र त्‍यसबाट निस्की आइज !”

[26] अनि अशुद्ध आत्माले त्‍यसलाई पछार्‍यो, र त्‍यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्‍च्‍याउँदै त्‍यसबाट निस्किगयो ।

[27] अनि सबै मानिस छक्‍क परेर एक आपसमा भन्‍न लागे, “यो के हो ? अधिकारसहितको एउटा नयाँ शिक्षा ! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्‍छ र तिनीहरूले उहाँको आज्ञा मान्‍छन् !”

[28] उहाँको बारेमा भएको समाचार तुरुन्‍तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो ।

[29] सभाघरबाट बाहिर निस्‍कनुभएपछि उहाँहरू याकूब र यूहन्‍नासँगै सिमोन र अन्‍द्रियासको घरमा जानुभयो ।

[30] अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन् । तिनीहरूले तिनको विषयमा येशूलाई बताए ।

[31] यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।

[32] त्‍यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।

[33] सारा सहर नै त्‍यो घरको ढोकामा भेला भए ।

[34] उहाँले विभिन्‍न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्‍थे ।

[35] उहाँ बिहान सबेरै अँध्‍यारो हुँदा नै उठ्नुभयो; र उहाँ एकान्‍त ठाउँमा जानुभयो, र त्‍यहाँ प्रार्थना गर्नुभयो ।

[36] सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे ।

[37] तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।”

[38] उहाँले भन्‍नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्‍यहाँ पनि प्रचार गर्न सकूँ । त्‍यसैको लागि म यहाँ आएँ ।

[39] उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।

[40] एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो । त्‍यसले उहाँलाई बिन्‍ती गरिरहेको थियो; त्‍यसले घुँडा टेक्‍यो र उहाँलाई भन्‍यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ ।”

[41] येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्‍यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होइजाऊ ।”

[42] तुरुन्‍तै कुष्‍ठ रोगले त्‍यसलाई छोड्‍यो र त्‍यो शुद्ध भयो ।

[43] येशूले त्‍यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्‍यसलाई पठाउनुभयो ।

[44] उहाँले त्‍यसलाई भन्‍नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पूजाहारीकहाँ आफैँलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ ।”

[45] तर त्‍यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्‍नुभएन । यसकारण, उहाँ एकान्‍त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू उहाँकहाँ आए ।

मर्कूसले लेखेको सुसमाचार — Chapters