[1] यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्न लागे,
[2] “यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौं ।”
[3] जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरूशलेम बेचैन भए ।
[4] हेरोदले सबै मुख्य पूजाहारी र मानिसहरूका शास्त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, “ख्रीष्टको जन्म कहाँ हुने हो?”
[5] तिनीहरूले उनलाई भने, “यहूदियाको बेथलेहेममा किनकि अगमवक्ताद्वारा यस्तै लेखिएको थियो,
[6] ‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरू भन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नुहुनेछ’ ।”
[7] त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्न हेरोदले गुप्त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए ।
[8] उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ ।”
[9] तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो ।
[10] जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए ।
[11] तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे । तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे । तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए ।
[12] परमेश्वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।
[13] तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीं बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ ।”
[14] त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्र देशतर्फ प्रस्थान गरे ।
[15] हेरोदको मृत्यु नभएसम्म उनी त्यहीं बसे । अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको कुरा यसरी पूरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्र देशबाट बोलाएको छु ।”
[16] त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्यो भन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए ।
[17] यसरी यर्मिया अगमवक्ताद्वारा जे भनिएको थियो, त्यो पूरा भयो,
[18] “रामामा एउटा आवाज सुनियो, रोदन र ठूलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।”
[19] जब हेरोद मरे, हेर, परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने,
[20] “उठ, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा जाऊ, किनकि जसले बालकलाई मार्न चाहेका थिए, तिनीहरू मरिसकेका छन् ।”
[21] योसेफ उठे, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा आए ।
[22] तर जब यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले शासन गरिरहेका उनले सुने, उनी त्यहाँ जान डराए । परमप्रभुले सपनामा चेतावनी दिनुभएपछि उनी गालीलको क्षेत्रतिर लागे,
[23] र नासरत भनिने सहरमा गएर बसे । “उहाँलाई नासरी भनिनेछ” भनेर अगमवक्ताहरूद्वारा बोलिएको वचन यसरी पूरा भयो ।