Skip to content
Opens in a new window
Listen to this chapter • 8:06

[1] अब जब बिहान भयो, सबै मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्‌यन्‍त्र रचे ।

[2] तिनीहरूले उहाँलाई बाँधेर त्‍यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए ।

[3] त्‍यसपछि जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्‍यसलाई पछुतो लाग्यो र मुख्य पूजाहारीहरू र एल्डरहरूलाई ती चाँदीका तीस वटा सिक्‍का फर्काइदियो,

[4] र भन्‍यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्‍यसको के सरोकार ? तिमी आफै जान ।”

[5] अनि त्‍यसले ती चाँदीका सिक्‍काहरू मन्‍दिरमा फ्याँकेर त्‍यहाँबाट बाहिर गयो र झुण्डिएर मर्‍यो ।

[6] ती मुख्य पूजाहारीहरूले चाँदीका सिक्‍काहरू लिए र भने, “यसलाई ढुकुटीमा राख्‍न न्‍यायसङ्‌गत हुँदैन, किनकि यो रगतको मोल हो ।”

[7] तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्‍यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने ।

[8] यही कारणले त्‍यस जमिनलाई आजको दिनसम्‍म पनि “रगतको जमिन” भनिन्‍छ ।

[9] यसरी यर्मिया अगमवक्‍ताले भनेका वचन पूरा भयो, “इस्राएलका मानिसहरूले उहाँको निम्ति तोकेका मूल्‍य अर्थात् चाँदीका तीस वटा सिक्‍का तिनीहरूले लिए,

[10] र परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्‍यो दिए ।”

[11] अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्‍यसो भन्‍नुहुन्‍छ ?”

[12] तर जब मुख्य पूजाहारीहरू र एल्डरहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन ।

[13] अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ ?”

[14] तर उहाँले एउटै पनि जवाफ दिनुभएन । त्‍यसकारण, ती हाकिम बडो आश्‍चर्यचकित भए ।

[15] अब चाडको दिनमा भीडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो ।

[16] त्‍यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो ।

[17] त्‍यसैले, जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्‍छौ– बारब्बा कि येशू जसलाई ख्रीष्‍ट भनिन्‍छ ?”

[18] किनकि उनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए ।

[19] जब उनी न्‍यायकर्ताको आसनमा बसिरहेका थिए, उनकी पत्‍नीले उनलाई सन्‍देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।”

[20] तब मुख्य पूजाहारीहरू र एल्डरहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भीडलाई सुर्‍याए।

[21] ती हाकिमले तिनीहरूलाई सोधे, “यी दुईमध्‍ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्‍छौ ?” तिनीहरूले भने, “बारब्बा ।”

[22] पिलातसले तिनीहरूलाई भने, “ख्रीष्‍ट भनिने येशूलाई चाहिं म के गरूँ ?” तिनीहरू सबैले जवाफ दिए, “त्‍यसलाई क्रुसमा टाँग्नुहोस् ।”

[23] र उनले भने, “किन, उनले के अपराध गरेका छन् ?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्‍यसलाई क्रुसमा टाँग्नुहोस् ।”

[24] जब, पिलातसले आफूले केही गर्न नसक्‍ने देखे, बरु खैलाबैला मच्‍चिन लागेको थाहा पाएर, उनले पानी लिई भीडको सामु आफ्ना हात धोए र भने, “यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफै जान ।”

[25] सबै मानिसले भने, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।”

[26] अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँगिनलाई सुम्पिदिए ।

[27] अनि ती हाकिमका सेनाहरूले येशूलाई महलमा लगे र सेनाहरूको सारा पल्टनलाई भेला गराए ।

[28] तिनीहरूले उहाँको वस्‍त्र खोलिदिए र उनलाई लाल वस्‍त्र लगाइदिए ।

[29] तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्‍दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई प्रणाम !”

[30] तिनीहरूले उहाँलाई थुके, र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए ।

[31] तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रुसमा टाँग्न त्‍यहाँबाट लगे ।

[32] जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई उनीहरूसँग जान तिनीहरूले कर गरे ताकि उसले उहाँको क्रुस बोकोस् ।

[33] तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो ।

[34] तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए । तर जब उहाँले त्‍यो चाख्‍नुभयो, उहाँले त्‍यो पिउनुभएन ।

[35] जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए ।

[36] अनि तिनीहरू बसे र उहाँलाई हेरे ।

[37] उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो, “यिनी येशू हुन्, यहूदीहरूका राजा ।”

[38] दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए– एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।”

[39] त्‍यो बाटो भएर जानेहरूले आ-आफ्नो मुन्टो हल्लाएर उहाँको गिल्ला गरे,

[40] “तिमी जसले मन्‍दिरलाई भत्काएर तीन दिनमा बनाउन गइरहेका थियौ, आफैलाई बचाऊ ! यदि तिमी परमेश्‍वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्ल !”

[41] यसरी नै मुख्य पूजाहारीहरूले पनि शास्‍त्रीहरू र एल्डरहरूसँगसँगै उहाँको गिल्ला गरे र भने,

[42] “उसले अरूहरूलाई बचायो, तर आफैलाई भने बचाउन सक्दैन । ऊ इस्राएलको राजा हो । ऊ क्रुसबाट तल आओस्, अनि त्‍यसपछि हामी उसमाथि विश्‍वास गर्नेछौं।

[43] उसले परमेश्‍वरमा विश्‍वास गर्छ । र परमेश्‍वरले चाहनुहुन्‍छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ ।’”

[44] र उहाँसँगै क्रुसमा टाँगिएका डाँकूहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे ।

[45] अब मध्‍यान्‍नदेखि दिउँसो तिन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो ।

[46] तिन बजे येशू ठूलो स्वरले कराउनुभयो र भन्‍नुभयो, “इलोई, इलोई लामा सबखथनी ?” जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ ?”

[47] जब त्‍यहाँ उभिरहेकाहरूमध्‍ये केहीले यो सुने, तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदै छ ।”

[48] झट्टै तिनीहरूमध्‍ये एक जना दौडेर गयो र एउटा स्पन्ज लियो, त्‍यसलाई अमिलो दाखमद्यले भर्‍यो, त्‍यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो ।

[49] अरूहरूले चाहीं भने, “उसलाई एकलै छोडिदेऊ । उसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन् हामीलाई हेर्न देऊ ।”

[50] त्‍यसपछि येशू फेरि ठूलो स्वरले कराउनुभयो र आफ्नो प्राण त्‍याग्‍नुभयो ।

[51] हेर, मन्‍दिरको पर्दा टुप्‍पोदेखि फेदसम्म दुई भाग भएर च्‍यातियो । र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए ।

[52] चिहानहरू उघारिए, र धेरै पवित्र जनहरूका मृत शरीरहरू उठाइए, जो निन्‍द्रामा परेका थिए ।

[53] उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के; पवित्र सहरमा प्रवेश गरे, र धेरैका माझमा देखा परे ।

[54] अब जब कप्‍तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्‍यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन् ।”

[55] गालीलबाट येशूको हेरचाह गर्न उहाँलाई पछ्याइरहेका धेरै स्त्रीहरूले टाढाबाट त्‍यो हेरिरहेका थिए ।

[56] तिनीहरूमध्‍ये मरियम मग्दलिनी, याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए ।

[57] जब साँझ पर्‍यो, अरिमाथियाबाट एक जना धनी मानिस आए, जसको नाम योसेफ थियो, जो येशूका चेला थिए ।

[58] तिनी पिलातसकहाँ गए र तिनले येशूको शरीर मागे । अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए ।

[59] योसेफले शरीर लिए, र त्‍यसलाई सफा मलमलको कपडामा बेरे,

[60] र उनले आफैले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे । अनि उनले चिहानको मुखमा एउटा ठूलो ढुङ्‌गा गुडाइदिएर तिनी त्‍यहाँबाट गए ।

[61] मरियम मग्दिलिनी र अर्की मरियम पनि त्‍यही चिहानको अर्कोपट्टि बसिरहेका थिए ।

[62] अर्को दिन जुन तयारीको दिनको भोलिपल्ट थियो, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए ।

[63] तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्‍यो ठगाहा जिउँदो हुँदा त्‍यसले भनेको थियो, ‘तीन दिनपछि म फेरि उठ्नेछु ।’

[64] त्‍यसकारण, तेस्रो दिनसम्म त्‍यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस् । नत्रता त्‍यसका चेलाहरू आउलान् र उनलाई चोरेर लगेर मानिसहरूलाई भन्लान्, ‘उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ ।’ अनि यो अन्‍तिम धोका पहिलेको भन्‍दा झन् नराम्रो हुनेछ ।”

[65] पिलातसले तिनीहरूलाई भने, “एक जना पहरेदार लेऊ । जाऊ र त्‍यसलाई तिमीहरूले सकेसम्म सुरक्षित राख ।”

[66] त्‍यसैले, तिनीहरू गए र ढुङ्‌गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे ।

मत्तीले लेखेको सुसमाचार — Chapters