Skip to content
Opens in a new window
Listen to this chapter • 8:17

[1] त्‍यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्‍नुभयो ।

[2] उहाँको वरिपरि एउटा ठूलो भीड जम्मा भयो । त्‍यसैले, उहाँ एउटा डुङ्‌गाभित्र जानुभयो र त्‍यहाँ बस्‍नुभयो । सबै भीड समुद्रको किनारमा उभियो ।

[3] तब येशूले दृष्‍टान्‍तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्‍छे बिउ छर्न निस्क्यो ।

[4] जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए ।

[5] अरू बिउहरूचाहिं ढुङ्‌गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्‍तै उम्रे, किनकि त्‍यहाँ माटो गहिरो थिएन ।

[6] तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।

[7] अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए ।

[8] अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्‍न उब्जाए ।

[9] जोसँग कान छ, उसले सुनोस् ।”

[10] चेलाहरू आएर येशूलाई भने, “तपाईं भीडहरूसँग किन दृष्‍टान्‍तहरूमा बोल्नुहुन्‍छ ?”

[11] येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्‍यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।

[12] किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।

[13] त्‍यसैले, तिनीहरूसँग म दृष्‍टान्‍तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्‍दैनन्, न त तिनीहरूले बुझ्दछन् ।

[14] तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पूरा हुन्‍छ, जसले यसो भन्‍छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्‍छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।

[15] किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरू सुन्‍नलाई कठोर भएका छन्, र तिनीहरू फेरि फर्केलान्, र मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्‍द गरेका छन् । यसैले, तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, वा तिनीहरूले आफ्ना कानले सुन्‍दैनन्, वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन् ।’

[16] तर धन्‍यका हुन तिम्रा आँखा, किनकि तिनले देख्छन्; र तिम्रा कान, किनकि तिनले सुन्‍दछन् ।

[17] साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, कि तिमीहरूले जे देखेका छौ धेरै अगमवक्‍ताहरू र धर्मी मानिसहरूले ती हेर्ने इच्‍छा गरे, र तिनीहरूले ती देखेनन् । तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्‍ने इच्‍छा गरे, तर तिनीहरूले ती सुनेनन् ।

[18] तब बिउ छर्नेको दृष्‍टान्‍त सुन ।

[19] जब कसैले राज्‍यको वचन सुन्‍छ तर त्‍यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्‍यो खोसेर लैजान्‍छ । योचाहिं त्‍यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो ।

[20] ढुङ्‌गेनी माटोमा छरिएको चाहिं त्‍यो हो जसले वचन सुन्‍छ र तुरुन्‍तै खुसीसाथ त्‍यसलाई ग्रहण गर्छ ।

[21] तर ऊ आफैमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्‍छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, उसले तुरुन्‍तै ठेस खान्‍छ ।

[22] काँडाघारीमा छरिएको चाहिं त्‍यो हो, जसले वचन सुन्‍छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्‍छ, अनि ऊ निष्फल हुन्‍छ ।

[23] असल माटोमा छरिएको चाहिं त्‍यो हो, जसले वचन सुन्‍छ र त्‍यसलाई बुझ्छ । त्‍यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”

[24] येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्‍य यस्तो मानिस जस्‍तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो ।

[25] तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो ।

[26] जब बोट देखा पर्‍यो र तिनीहरूले अन्‍न फलाउन थाले, तब सामाहरू पनि देखा परे ।

[27] त्‍यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र ? अहिले यिनमा सामाहरू कसरी आए ?’

[28] तिनले उनीहरूलाई भने, ‘यो एउटा शत्रुले गरेको हो ।’ ती दासहरूले तिनलाई भने, ‘के हामी गएर त्‍यसलाई उखालेको तपाईं चाहनुहुन्‍छ ?’

[29] त्‍यस जमिनका मालिकले भने, ‘होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ, तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला ।

[30] कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ । कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्‍नेछु, “पहिले सामाहरूलाई उखेल र त्‍यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर’ ।”

[31] त्‍यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्‍यचाहिं रायोको दाना जस्‍तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।

[32] यो बिउ अरू सबै बिउ भन्‍दा सानो हुन्‍छ । तर जब यो हुर्कन्‍छ, यो बगैँचामा भएका सबै बोट भन्‍दा ठूलो हुन्‍छ । यो एउटा रुख बन्‍छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।”

[33] त्‍यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्वर्गको राज्‍यचाहिं खमिर जस्‍तो हो जुन एउटी स्‍त्रीले लिइन् र तिन कचौरा पिठोमा त्‍यो नफुलेसम्म मिसाइन् ।”

[34] येशूले यी सबै कुरा भीडलाई दृष्‍टान्‍तहरूमा भन्‍नुभयो । अनि दृष्‍टान्‍तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।

[35] योचाहिं अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्‍य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो, “म मेरो मुख दृष्‍टान्‍तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”

[36] तब येशूले भीडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको दृष्‍टान्‍त हामीलाई व्याख्या गरिदिनुहोस् ।”

[37] येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिं मानिसका पुत्र हुन् ।

[38] बारीचाहिं संसार हो; अनि असल बिउचाहिं राज्‍यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिं दुष्‍टका छोराहरू हुन्,

[39] र त्‍यो शत्रु जसले ती सामाहरू छरे, त्‍योचाहिं दुष्‍ट हो । फसलको कटनी संसारको अन्‍त हो, र कटनी गर्नेहरूचाहिं स्वर्गदूतहरू हुन् ।

[40] त्‍यसैले, जसरी सामाहरू बटुलिन्‍छन् र आगोमा जलाइन्‍छन्, यो संसारको अन्‍तमा यस्तै हुनेछ ।

[41] मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्‍यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् ।

[42] तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

[43] तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्‍यमा सूर्यझैं चम्कनेछन् । जससँग कान छ, त्यसले सुनोस् ।

[44] स्वर्गको राज्‍यचाहिं जमिनमा लुकाइएको धन जस्‍तै हो । एक जना मानिसले त्‍यो भेट्टायो अनि त्‍यसलाई लुकायो । उसको आनन्‍दमा ऊ जान्‍छ, उसँग भएका सबैथोक बेच्‍छ, अनि उसले त्‍यो जमिन किन्‍छ ।

[45] फेरि, स्वर्गको राज्‍य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजे जस्‍तै हो ।

[46] जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्‍यो र त्‍यो किन्‍यो ।

[47] फेरि, स्वर्गको राज्‍य समुद्रमा फ्याँकिएको जाल जस्‍तो हो, अनि त्‍यसले सबै खालका प्राणीलाई बटुल्यो ।

[48] जब त्‍यो भरियो, जालाहारीहरूले त्‍यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्‍ने चिजहरूलाई फ्याँकिदिए ।

[49] संसारको अन्‍तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्‍टहरूलाई छुट्‌ट्‌याउनेछन् ।

[50] उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

[51] के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौं ।”

[52] तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसकारण, स्वर्गको राज्‍यको चेला बनेको हरेक शास्‍त्री एउटा मानिस जस्‍तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पूराना चिजहरू निकाल्छ ।”

[53] येशूले यी दृष्‍टान्‍तहरू सक्‍नुभएपछि उहाँ त्‍यस ठाउँबाट जानुभयो ।

[54] तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिं यस्तो भयो, कि तिनीहरू आश्‍चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्‍चर्यकर्महरू कहाँबाट पाउँछन् ?

[55] के यी मानिस सिकर्मीका छोरा होइनन् र ? के उनकी आमा मरियम होइनन् र ? अनि उनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा होइनन् र ?

[56] अनि उनका सबै बहिनीहरू हाम्रै माझमा छैनन् र ? त्‍यसैले, यी मानिसले यी सबै कुरा कहाँबाट पाउँछन् त ?”

[57] तिनीहरू उहाँसंग चिढिए । तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्‍ताको आदर नहुने भनेको उनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।”

[58] र तिनीहरूको अविश्‍वासको कारण उहाँले त्‍यहाँ धेरै आश्‍चर्यकर्महरू गर्नुभएन ।

मत्तीले लेखेको सुसमाचार — Chapters