Skip to content
Opens in a new window
Listen to this chapter • 7:07

[1] त्‍यति बेला शबाथको दिनमा येशू अन्‍नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्‍न टिप्दै खान लागे ।

[2] तर जब फरिसीहरूले त्‍यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्‍यही गर्छन् ।”

[3] तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ ?

[4] कसरी उनी परमेश्‍वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्‍यो पूजाहारीहरूका लागि मात्रै उचित थियो ?

[5] र शबाथमा पूजाहारीहरूले त्‍यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्‍छन् भन्‍ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र ?

[6] तर म तिमीहरूलाई भन्‍दछु, मन्‍दिर भन्‍दा महान् एक जना यहाँ हुनुहुन्‍छ ।

[7] ‘म कृपा चाहन्‍छु र बलिदान होइन’ भन्‍ने कुराको अर्थ यदि तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्‍दा गर्ने थिएनौ ।

[8] किनभने मानिसका पुत्र शबाथका प्रभु हुन् ।”

[9] त्‍यसपछि येशू त्‍यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।

[10] हेर, त्‍यहाँ एक जना हात सुकेको व्यक्‍ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ ?”

[11] येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्‍ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्‍यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्‍यसलाई समातेर बाहिर ननिकाल्ला ?

[12] त्‍यसो भए, एउटा मानिसको मूल्य त्‍यो भेडा भन्‍दा कति बढी छ ! त्‍यसैले, शबाथमा असल गर्नु न्‍यायसङ्‌गत छ ।”

[13] अनि येशूले त्‍यस व्यक्‍तिलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” उसले आफ्नो हात पसार्‍यो, र उसको त्‍यो हात अर्को हात जस्‍तै निको भयो ।

[14] तर ती फरिसीहरू बाहिर गए र षड्‍यन्‍त्र रच्‍न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्‍छ भनेर मौका खोज्‍न थाले ।

[15] अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्‍यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।

[16] उहाँको बारेमा अरूहरूलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो,

[17] ताकि यशैया अगमवक्‍ताद्वारा यसो भनिएको कुरा सत्‍य साबित होस्,

[18] “हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्‍न छ । म उनमा मेरा आत्मा खन्‍याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्‍यायको घोषणा गर्नेछन् ।

[19] उनले सङ्‌घर्ष गर्नेछैनन्, न त ठूलो स्वरले कराउनेछन्, न त कसैले गल्लीहरूमा उनको स्वर सुन्‍नेछ ।

[20] उनले कुनै फुटेको नरकटलाई भाँच्‍नेछैनन्; उनले न्‍यायलाई विजयमा नपुर्‍याएसम्म उनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउनेछैनन् ।

[21] अनि उनको नाउँमा गैरयहूदीहरूले विश्‍वास गर्नेछन् ।”

[22] अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्‍ने व्यक्‍ति येशूकहाँ ल्याइयो । उहाँले त्‍यसलाई निको पार्नुभयो र फलस्वरूप त्‍यो बोल्न नसक्‍ने व्यक्‍ति बोल्न सक्‍ने र देख्‍न सक्‍ने भयो ।

[23] सबै भीड छक्‍क परे र भने, “के यी मानिस दाऊदका पुत्र हुन सक्छन् ?”

[24] तर जब फरिसीहरूले यस आश्‍चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।”

[25] तर येशूले तिनीहरूको विचार जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “आफैमा विभाजित भएको हरेक राज्‍यलाई उजाड पारिनेछ, अनि आफैमा विभाजित भएको हरेक सहर वा घराना टिक्‍नेछैन ।”

[26] यदि शैतानले नै शैतानलाई निकाल्दछ भने, त्‍यो आफैमा विभाजित हुन्‍छ । त्‍यसको राज्‍य कसरी टिक्ला ?

[27] अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने, तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त ? यसकारण, तिनीहरू तिमीहरूका न्‍यायाधीश हुनेछन् ।

[28] तर यदि म परमेश्‍वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्‍वरको राज्‍य तिमीहरूमा आएको छ ।

[29] र कुनै मानिसले एक बलियो व्यक्‍तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू कसरी चोर्न सक्छ ? त्‍यस बलियो व्यक्‍तिलाई बाँधेपछि उसको घरका सामानहरू त्‍यसले चोर्छ ।

[30] जो मसित छैन ऊ मेरो विरुद्धमा हुन्‍छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्‍ट पार्छ ।

[31] त्‍यसैले म भन्‍दछु, मानिसले गरेको हरेक पाप र ईश्‍वर-निन्‍दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्‍दा क्षमा हुनेछैन ।

[32] अनि जसले परमेश्‍वरका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने उसलाई क्षमा गरिनेछ । तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ त्‍यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ ।

[33] कि त रुखलाई असल बनाओ र त्‍यसको फललाई पनि असल बनाओ, वा कि त त्‍यो रुखलाई खराब बनाओ र त्‍यसको फललाई पनि खराब बनाओ, किनकि रुख त्‍यसको फलद्वारा चिनिनेछ ।

[34] ए सर्पका सन्‍तानहरू, तिमीहरू दुष्‍ट छौ त कसरी असल कुरा बोल्न सक्छौ ? किनकि हृदयमा जे छ, त्‍यही मुखबाट निस्कन्‍छ ।

[35] एउटा असल व्यक्‍तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्‍यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्‍ट व्यक्‍तिले आफ्नो हृदयमा रहेको दुष्‍ट कुराले जे दुष्‍ट छ त्‍यो नै बाहिर ल्याउँछ ।

[36] र म तिमीहरूलाई भन्‍दछु, कि न्‍यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् ।

[37] किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्‍याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ ।”

[38] त्‍यसपछि केही शास्‍त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्‍छौं ।”

[39] तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्‍यसलाई योना अगमवक्‍ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन ।

[40] किनकि जसरी योना तिन दिन र तिन रात माछाको पेटमा थिए, त्‍यसरी नै मानिसका पुत्र तिन दिन र तिन रात पृथ्वीको गर्भभित्र रहनेछन् ।

[41] निनवेका मानिसहरू न्‍यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्‍दा गर्नेछन् । किनकि योनाको सन्‍देश सुनेर तिनीहरूले पश्‍चात्ताप गरेका थिए, र हेर, योना भन्‍दा अझै महान् कोही यहाँ छन् ।

[42] दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्‍यायको दिनमा उठ्नेछिन् र यसको निन्‍दा गर्नेछिन् । तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्‍न आइन्, तर हेर, सोलोमन भन्‍दा महान् कोही यहाँ छन् ।

[43] जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्‍यो पानी नभएको ठाउँ हुँदै जान्‍छ र त्‍यसले आराम खोज्छ, तर त्‍यसले त्‍यो भेट्टाउँदैन ।

[44] अनि त्‍यसले भन्‍छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्‍यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ ।

[45] त्‍यसपछि त्‍यो गएर आफू भन्‍दा दुष्‍ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्‍यहाँभित्र बस्‍न आउँछन् । अनि त्‍यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्‍दा अझ खराब हुन्‍छ । यस दुष्‍ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ ।”

[46] जब येशू भीडसँग बोल्दै हुनुहुन्‍थ्यो, हेर, उहाँकी आमा र उहाँको भाइ उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे ।

[47] कसैले उहाँलाई भन्‍यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहनुभएका छन् ।”

[48] तर येशूले उत्तर दिनुभयो र त्‍यसो भन्‍ने व्यक्‍तिलाई भन्‍नुभयो, “मेरी आमा को हुन् ? र मेरा भाइहरू को हुन् ?”

[49] अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन् !

[50] किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्‍छाअनुसार गर्दछ, त्‍यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”

मत्तीले लेखेको सुसमाचार — Chapters