Skip to content
Opens in a new window
Listen to this chapter • 6:07

[1] तब स्‍वर्गको राज्‍य ती दस कन्‍या जस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए ।

[2] तिनीहरूमध्‍ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए ।

[3] किनकि जब ती निर्बुद्धि कन्‍याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् ।

[4] तर बुद्धिमती कन्‍याहरू प्रत्‍येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे ।

[5] दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्‍द्रामा परे र सुते ।

[6] तर मध्‍यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा ! बाहिर जाऊ अनि उनलाई भेट ।’

[7] त्‍यसपछि ती सबै कन्‍या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्‍क पारे ।

[8] निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्‍न लागेका छन् ।’

[9] तर बुद्धिमती कन्‍याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्‍त पुग्‍ने तेल नभएकोले, तेल बेच्‍नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’

[10] जब तिनीहरू तेल किन्‍न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्‍द गरियो ।

[11] केही समयपछि अरू कन्‍याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस्‌ ।’

[12] तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ ।’

[13] त्‍यसकारण, जागा रहो, किनकि त्‍यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।

[14] किनकि यो परदेश जानै लागेको मानिस जस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।

[15] उनले तिनीहरूमध्‍ये एक जनालाई पाँच सिक्‍का दिए; अर्कोलाई दुई सिक्‍का र फेरि अर्कोलाई उनले एक सिक्‍का दिए । प्रत्‍यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्‍यो मानिस तुरुन्‍तै आफ्नो यात्रामा हिँड्‌यो ।

[16] पाँच सिक्‍का पाउने तुरुन्‍तै गयो र उसले त्‍यसलाई लगानी गर्‍यो, र त्‍यसबाट अर्को पाँच सिक्‍का कमायो ।

[17] त्‍यसै गरी, जसले दुई सिक्‍का पाएको थियो, उसले पनि त्‍यसबाट अर्का दुई सिक्‍का कमायो ।

[18] तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्‍यो, र आफ्नो मालिकको पैसा त्‍यहाँ लुकायो ।

[19] अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।

[20] पाँच सिक्‍का पाएको नोकर आयो र उसले अर्को पाँच वटा सिक्‍का ल्यायो । उसले भन्‍यो, ‘मालिक, तपाईंले मलाई पाँच वटा सिक्‍का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँच वटा सिक्‍का कमाएको छु ।’

[21] उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर ! तँ थोरै कुरामा विश्‍वासयोग्‍य भएको छस्। म तँलाई धेरै कुरामाथि अधिकार दिनेछु । तँ पनि आफ्नो मालिकको खुसीमा सामेल हो ।’

[22] दुई वटा सिक्‍का पाएको नोकर आयो र भन्‍यो, ‘मालिक तपाईंले मलाई दुई वटा सिक्‍का दिनुभएको थियो । हेर्नुहोस्‌, मैले अर्का दुई वटा सिक्‍का कमाएको छु ।’

[23] उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर ! तँ थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तँलाई धेरै कुरामाथि अधिकार दिनेछु । तँ पनि आफ्ना मालिकको खुसीमा सामेल हो ।’

[24] त्‍यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्‍यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्‍छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्‍छ ।

[25] मलाई डर थियो । त्‍यसकारण, म गएँ र तपाईंको सिक्‍कालाई जमिनमुनि लुकाइराखेँ । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’

[26] तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।

[27] त्‍यसकारण, तैंले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ ।

[28] त्‍यसकारण, त्‍योसँग भएको एक सिक्‍का लेओ र जुन नोकरसँग दस सिक्‍का छ त्‍यसलाई देओ ।

[29] किनकि जससँग छ त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ ।

[30] त्‍यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

[31] जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्‍वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।

[32] उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्‌याउँछ, त्‍यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्‌याउनेछन् ।

[33] उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्‍नेछन् ।

[34] त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर ।

[35] किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;

[36] म नाङ्‌गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्‍ता गर्‍यौ; म झ्‍यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’

[37] त्‍यसपछि धर्मी जनहरूले जवाफ दिई भन्‍नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्‍यौं र तपाईंलाई खुवायौं ? वा तिर्खाउनुभएको देख्यौं र तपाईंलाई पिउन दियौं ?

[38] र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्‍यौं र तपाईंलाई भित्र ल्यायौं ?

[39] र हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानामा कहिले देख्यौं र हामी तपाईंकहाँ आयौं ?’

[40] र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्‍ये सानो भन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्‍यो मेरो निम्ति नै गर्‍यौ ।’

[41] त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्‍त आगोमा जाओ, जुन दुष्‍ट र त्‍यसका दूतहरूका लागि तयार गरिएको हो,

[42] किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ;

[43] म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्‌गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’

[44] त्‍यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्‌गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्‍यौं र हामीले तपाईंको सेवा गरेनौं ?’

[45] अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यिनीहरूमध्‍ये सानो भन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’

[46] यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिं अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”

मत्तीले लेखेको सुसमाचार — Chapters