Skip to content
Opens in a new window
Listen to this chapter • 7:52

[1] इस्राएलीहरूको सूची यही हो—परिवारहरूका अगुवाहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू र तिनीहरूका अधिकारीहरू, जसले वर्षको हरेक महिना पालैपालो सेनाका दलहरू सम्बन्धित सबै कुरामा राजाको सेवामा गर्थे। प्रत्येक सैनिक दलमा 24,000 सेनाहरू थिए।

[2] पहिलो महिनाको निम्ति, पहिलो दलका सेनापति जब्दीएलका छोरा यशोबाम थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

[3] तिनी पेरेसका सन्तान थिए, जो पहिलो महिनाको निम्ति सारा सेनाका सेनापतिहरूका अगुवा थिए।

[4] दोस्रो महिनाको निम्ति, दोस्रो दलका सेनापति अहोहीका दोदै थिए; अनि मिक्लोतचाहिँ तिनका दलका अगुवा थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

[5] तेस्रो महिनाको निम्ति, तेस्रो दलका सेनापति पुजारी यहोयादाका छोरा बनायाह थिए। यहोयादा मुख्य पुजारी थिए; अनि तिनको दलमा 24,000 सेनाहरू थिए।

[6] यिनी तिनै बनायाह थिए, जो तीस जना वीर मानिसहरूमध्ये एक र तीस जनामा माथि थिए। तिनका छोरा अम्मीजाबादचाहिँ तिनको दलका अगुवा थिए।

[7] चौथो महिनाको निम्ति, चौथो सेनापतिचाहिँ योआबका भाइ असाहेल थिए। तिनीपछि तिनका छोरा जबदियाहले जिम्मेवारी उठाए। तिनको दलमा 24,000 सेनाहरू थिए।

[8] पाँचौँ महिनाको निम्ति, पाँचौँ सेनापति यिज्राहीका शम्हूत थिए। तिनको दलमा 24,000 मानिसहरू थिए।

[9] छैटौँ महिनाको निम्ति, छैटौँ सेनापति तकोका इक्‍केशका छोरा ईरा थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

[10] सातौँ महिनाको निम्ति, सातौँ सेनापति एफ्राइमका पेलोनीका हेलेस थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

[11] आठौँ महिनाको निम्ति, आठौँ सेनापति जेरह घरानाका हूशाती सिब्बकै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

[12] नवौँ महिनाको निम्ति, नवौँ सेनापति बेन्यामीन घरानाका अनातोती अबीएजेर थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

[13] दसौँ महिनाको निम्ति, दसौँ सेनापति जेरह घरानाका नतोपाती महरै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

[14] एघारौँ महिनाको निम्ति, एघारौँ सेनापति एफ्राइम घरानाका पिरातोनी बनायाह थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

[15] बाह्रौँ महिनाको निम्ति, बाह्रौँ सेनापति ओत्निएलका घरानाका नतोपाती हेल्दै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

[16] इस्राएलका कुलहरूका अगुवाहरू यिनीहरू थिए: रूबेनको कुलबाट: एलीएजर जिक्रीका छोरा; शिमियोनको कुलबाट: माकाका छोरा शपत्याह;

[17] लेवीको कुलबाट: कमूएलका छोरा हशब्याह; हारूनको कुलबाट: सादोक;

[18] यहूदाको कुलबाट: दावीदका एक जना दाजु एलीहू; इस्साखारको कुलबाट: मिखाएलका छोरा ओम्री;

[19] जबूलूनको कुलबाट: ओबदियाका छोरा यिश्मायाह; नप्‍तालीको कुलबाट: अज्रीएलका छोरा यरीमोत;

[20] एफ्राइमको कुलबाट: अजज्याहका छोरा होशे; मनश्शेको आधा कुलबाट: पदायाहका छोरा योएल;

[21] गिलादमा भएका मनश्शेको आधा कुलबाट: जकरियाका छोरा इद्दो; बेन्यामीनको कुलबाट: अबनेरको छोरा यासीएल;

[22] दानको कुलबाट: यरोरामका छोरा अज्रेल। इस्राएलका कुलहरूमाथिका अधिकारीहरू यिनीहरू नै थिए।

[23] दावीदले बीस र त्यसभन्दा तलका मानिसहरूको गन्ती लिएनन्; किनभने याहवेहले इस्राएलको संख्या आकाशका ताराहरूझैँ बढाउने प्रतिज्ञा गर्नुभएको थियो।

[24] सरूयाहका छोरा योआबले मानिसहरूलाई गन्ती गर्न सुरु गरे, तर पूरा सकेनन्; किनभने यस गणनाको कारण परमेश्‍वरको क्रोध इस्राएलमाथि पर्‍यो; अनि दावीद राजाको इतिहासको पुस्तकमा त्यो संख्या लेखिएन।

[25] अदीएलका छोरा अज्मावेत, राजकीय भण्डारहरूका जिम्मामा थिए। उज्जियाहका छोरा जोनाथन, ग्रामीण जिल्‍लाहरूमा, सहरहरूमा, बस्तीहरूमा र धरहराहरूमा रहेका भण्डारहरूका जिम्मामा थिए।

[26] कलूबको छोरा एज्री, देशमा खेतीकिसान गर्नेहरूका जिम्मामा थिए।

[27] रामती शिमी, दाखबारीहरूका जिम्मामा थिए। दाखबारीका उब्जनीको दाखमद्य राख्ने भण्डारको अधिकारी शेपेमी जब्दी थिए।

[28] पश्‍चिमपट्टिको बेँसीमा भएका नेभारा र जैतुनका बोटहरूको हेरचाह गर्ने जिम्मा गेदेरी बाल-हानान थिए। योआश तेल राख्ने भण्डारको जिम्मामा थिए।

[29] शारोनका शित्रैचाहिँ शारोनमा चर्ने गाईबस्तुहरूका जिम्मामा थिए। बेँसीमा चर्ने गाईबस्तुहरूका अधिकारीचाहिँ अदलैका छोरा शापात थिए।

[30] ऊँटहरूका अधिकारी इश्माएली ओबील थिए। गधाहरूका अधिकारी मरोनोती येहेदियाह थिए।

[31] बगालहरूका अधिकारी हग्री याजीज थिए। यिनीहरू नै राजा दावीदका सम्पत्तिको रेखदेख गर्ने अधिकारीहरू थिए।

[32] दावीदका काका जोनाथन, एक सल्‍लाहकार, अन्तर्दृष्‍टि भएका मानिस र शास्त्री थिए। हक्मोनीका छोरा यहीएलले राजाका छोराहरूको हेरचाह गर्थे।

[33] अहीतोपेल राजाका सल्‍लाहकार थिए। अरकी हूशैचाहिँ राजाका मित्र थिए।

[34] (अहीतोपेलपछि तिनको जिम्मा बनायाहका छोरा यहोयादा र अबीयाथारले सम्हालेका थिए।) योआबचाहिँ राजकीय सेनाका सेनापति थिए।

1 इतिहास — Chapters