Skip to content
Opens in a new window
Listen to this chapter • 7:00

[1] दावीदले आफ्ना निम्ति दावीदको सहरमा भवन निर्माण गरे। तिनले परमेश्‍वरको सन्दुकको निम्ति एउटा ठाउँ तयार गरे; र त्यसको निम्ति एउटा पाल टाँगे।

[2] त्यसपछि दावीदले भने, “लेवीहरूले बाहेक अरू कसैले परमेश्‍वरको सन्दुक नबोकून्; किनकि याहवेहले तिनीहरूलाई नै याहवेहको सन्दुक बोक्न र सधैँका निम्ति उहाँको सामु सेवा गर्नलाई चुन्‍नुभएको छ।”

[3] दावीदले याहवेहको सन्दुकको निम्ति तयार गरेको ठाउँमा, त्यस सन्दुक ल्याउन सारा इस्राएललाई यरूशलेममा भेला गराए।

[4] तिनले हारून र लेवीका सन्तानहरूलाई एकसाथ बोलाए:

[5] कहातका सन्तानहरूबाट अगुवा ऊरीएल र 120 जना आफन्तहरू।

[6] मरारीका सन्तानहरूबाट अगुवा असायाह र 220 जना आफन्तहरू।

[7] गेर्शोनका सन्तानहरूबाट, अगुवा योएल र 130 जना आफन्तहरू।

[8] एलीशापानका सन्तानहरूबाट अगुवा शमायाह र 200 जना आफन्तहरू।

[9] हेब्रोनका सन्तानहरूबाट अगुवा एलीएल र 80 जना आफन्तहरू।

[10] उज्जीएलका सन्तानहरूबाट अगुवा अम्मीनादाब र 112 जना आफन्तहरू।

[11] त्यसपछि दावीदले पुजारीहरू सादोक र अबीयाथारलाई, र लेवीहरूमा ऊरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए।

[12] तिनले उनीहरूलाई भने, “तपाईंहरू लेवी परिवारका अगुवाहरू हुनुहुन्छ; तपाईंहरू र तपाईंहरूका लेवी दाजुभाइहरूले आफूलाई पवित्र गर्नुहोस्, र याहवेह इस्राएलका परमेश्‍वरको सन्दुकका निम्ति मैले तयार गरेको ठाउँमा सन्दुकलाई ल्याउनुपर्छ।

[13] किनकि पहिलो पटक सन्दुक ल्याउँदा तपाईं लेवीहरूले नबोकेको कारणले नै याहवेह हाम्रा परमेश्‍वरको क्रोध हाम्रो विरुद्धमा परेको थियो। हामीले ठिक तरिकाले सन्दुकलाई कसरी ल्याउने हो भनी उहाँसित सल्‍लाह लिएनौँ।”

[14] यसकारण पुजारीहरू र लेवीहरूले याहवेह इस्राएलका परमेश्‍वरको सन्दुक ल्याउन आ-आफूलाई पवित्र गरे।

[15] अनि याहवेहले मोशालाई आज्ञा दिएअनुसार नै लेवीहरूले आफ्ना काँधमाथि डण्डाहरू राखेर परमेश्‍वरको सन्दुक बोके।

[16] दावीदले लेवीहरूका अगुवाहरूलाई सारङ्गी, वीणा र झ्यालीहरूले हर्षोल्‍लासका गीत गाउन तिनीहरूका आफन्तहरूलाई सङ्गीतकारहरू नियुक्त गर्नू भनी आज्ञा गरे।

[17] यसकारण लेवीहरूले योएलका छोरा हेमानलाई नियुक्त गरे। तिनका आफन्तहरूबाट बेरेक्याहका छोरा आसाप र तिनीहरूका मरारी आफन्तहरूबाट कूशायाहका छोरा एतानलाई नियुक्त गरे।

[18] अनि तिनीहरूसँगै दोस्रो दर्जामा तिनीहरूका आफन्तहरू, जकरिया, बेन, याजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलिआब, बनायाह, मासेयाह, मत्तीत्याह, एलीपेलेहू, मिक्नेयाह, र द्वारपालहरूमा ओबेद-एदोम र यीएललाई नियुक्त गरे।

[19] सङ्गीतकार हेमान, आसाप र एतानले काँसाको झ्याली बजाउनुपर्थ्यो।

[20] जकरिया, आजीएल, शमीरामोत, यहीएल, उन्‍नी एलिआब, मासेयाह र बनायाहले अलामोत, अनुसार सारङ्गी बजाउनुपर्थ्यो।

[21] अनि मत्तीत्याह, एलीपेलेहू, मिक्नेयाह, ओबेद-एदोम, यीएल र अजज्याहले शेमीनीत, अनुसारको निर्देशनमा वीणा बजाउनुपर्थ्यो।

[22] लेवीहरूका अगुवा कनन्याहचाहिँ भजन गाउने प्रमुख थिए। तिनको जिम्मेवारी गाउने थियो; किनकि तिनी गाउनमा निपुण थिए।

[23] बेरेक्याह र एल्काना सन्दुकका द्वारपालहरू थिए।

[24] शबन्याह, योशापात, नथनिएल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्‍वरको सन्दुकको अगाडि तुरही बजाउनुपर्थ्यो। ओबेद-एदोम र यहियाह पनि सन्दुकका निम्ति द्वारपाल खटाइएका थिए।

[25] यसकारण दावीद र इस्राएलका प्रधानहरू र हजार-हजार सैन्यदलका सेनापतिहरू ओबेद-एदोमको घरबाट हर्षोल्‍लासकासाथ याहवेहको करारको सन्दुक ल्याउन गए।

[26] याहवेहको सन्दुक बोकेका लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले, लेवीहरूले सात वटा गोरु र सात वटा भेडा बलि चढाए।

[27] अब दावीदले पनि सन्दुक बोक्ने सबै लेवीहरू, सङ्गीतकारहरू र गायन झुण्डका मुखिया कनायाहले जस्तै मलमलको वस्त्र लगाएका थिए। दावीदले मलमलको एपोद पनि लगाएका थिए।

[28] यसकारण सारा इस्राएलीहरूले भेडाको सिङ, तुरही, झ्याली, सारङ्गी र वीणा बजाउँदै जयजयकार गर्दै याहवेहको करारको सन्दुक ल्याए।

[29] याहवेहको करारको सन्दुक दावीदको सहरमा प्रवेश हुँदै गर्दा, शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन् र दावीद राजालाई नाच्दै र उत्सव मनाइरहेका देखिन्, तब तिनले मनमनै तिनलाई अपमान गरिन्।

1 इतिहास — Chapters