Skip to content
Opens in a new window
Listen to this chapter • 8:31

[1] तिनीहरूले परमेश्‍वरको सन्दुक ल्याए र दावीदले सन्दुकको निम्ति तयार पारेको विशेष पालभित्र त्यसलाई राखे। तिनीहरूले याहवेहको सामु होमबलि र मेलबलि चढाए।

[2] दावीदले होमबलि र मेलबलि चढाइसकेपछि, तिनले याहवेहको नाममा मानिसहरूलाई आशिष् दिए।

[3] त्यसपछि तिनले हरेक इस्राएली पुरुष र स्त्रीलाई एउटा रोटी, खजूरको डल्‍ला र किसमिसको झुप्पा दिए।

[4] दावीदले केही लेवीहरूलाई याहवेहको सन्दुकको सामु सेवा गर्न, याहवेह इस्राएलका परमेश्‍वरलाई आह्वान गर्न, धन्यवाद दिन र प्रशंसा गर्न नियुक्त गरे।

[5] आसापचाहिँ अगुवा थिए; दोस्रो दर्जामा जकरिया, त्यसपछि यीएल, शमीरामोत, यहीएल, मत्तीत्याह, एलिआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। तिनीहरूले सारङ्गी र वीणा बजाउँथे। आसापले चाहिँ झ्याली बजाउँथे।

[6] अनि बनायाह र यहजीएल पुजारीहरूले नियमित रूपले परमेश्‍वरको करारको सन्दुकको सामु तुरहीहरू बजाउँथे।

[7] त्यस दिन पहिलो पटक दावीदले याहवेहलाई धन्यवादको भजन चढाउन आसाप र तिनका सहयोगीहरूलाई नियुक्त गरे:

[8] याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर।

[9] उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ! उहाँका सबै अद्‌भुत कार्यहरूको वर्णन गर!

[10] उहाँको पवित्र नाममा गर्व गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्।

[11] याहवेह र उहाँको शक्तिलाई हेर; उहाँको मुहारको निरन्तर खोजी गर।

[12] उहाँले गर्नुभएका अद्‌भुत कार्यहरू स्मरण गर, उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर!

[13] हे याहवेहका सेवक इस्राएलका सन्तान हो! हे याकोबका छोराहरू, उहाँद्वारा चुनिएकाहरू हो!

[14] उहाँ नै याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ; उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ।

[15] परमेश्‍वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ, त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो;

[16] त्यो करार, जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो; अनि त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो,

[17] त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, र इस्राएलसँग अनन्त करारको रूपमा पक्‍का गर्नुभयो:

[18] “म तँलाई कनान देश दिनेछु, त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।”

[19] जब तिनीहरू संख्यामा थोरै थिए, अति थोरै र त्यसमाथि पनि परदेशीहरू थिए।

[20] तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा, अनि एउटा राज्यबाट अर्को राज्यमा भौतारिँदै हिँड्थे।

[21] उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन; तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो:

[22] “मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!”

[23] हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ; दिन प्रतिदिनै उहाँले गर्नुभएको उद्धारको घोषणा गर।

[24] जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर! सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!

[25] किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्‍च प्रशंसाको योग्य हुनुहुन्छ; सारा देवहरूभन्दा उहाँको भय मान्‍नुपर्छ।

[26] किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्; तर याहवेहले त स्वर्गहरू सृष्‍टि गर्नुभयो।

[27] उहाँको सामु गौरव र वैभव छन्; उहाँको वासस्थानमा शक्ति र आनन्द छन्।

[28] हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ।

[29] याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँको सामु आओ। याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर!

[30] हे सारा पृथ्वी, उहाँको सामु थरथर काँप्! संसार दृढतासाथ स्थापित भएको छ; यसकारण यो हल्‍लिन सक्दैन।

[31] स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्! तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, “याहवेहले शासन गर्नुहुन्छ!”

[32] समुद्र र त्यसमा भएका हरेक प्राणीले जयजयकार गरून्! खेतहरू र त्यसमा भएका हरेक थोक हर्षित होऊन्!

[33] तब वनका रूखहरूले गाऊन्, तिनीहरूले याहवेहको सामु आनन्दले गाऊन्; किनकि उहाँ संसारको न्याय गर्न आउनुहुन्छ।

[34] याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[35] यसो भनेर कराओ, “हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, हामीलाई बचाउनुहोस्; हामीलाई एक ठाउँमा भेला गर्नुहोस्, र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्; ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ, र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!”

[36] याहवेह, इस्राएलका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा होइरहोस्! तब सबै मानिसहरूले भने, “आमेन” र “याहवेहको प्रशंसा होस्।”

[37] त्यसपछि दावीदले आसाप र तिनका सहयोगीहरूलाई विधिअनुसार हरेक दिन याहवेहको करारको सन्दुकको सामु नियमित रूपले गर्नुपर्ने सेवा गर्नलाई खटाए।

[38] तिनले यदूतूनका छोरा ओबेद-एदोम र तिनका अठसट्ठी जना सहयोगीहरूलाई पनि तिनीहरूसँग सेवा गर्नलाई खटाए। ओबेद-एदोम र होसा द्वारपालहरू पनि थिए।

[39] दावीदले पुजारी सादोक र तिनका अरू सङ्गी पुजारीहरूलाई गिबोनको अग्लो ठाउँमा याहवेहको समागम पालमा

[40] याहवेहले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएबमोजिम, बिहान र बेलुकी याहवेहका निम्ति होमबलिको वेदीमा निरन्तर होमबलि चढाउन खटाए।

[41] तिनीहरूसँग हेमान, यदूतून र याहवेहलाई धन्यवाद दिनलाई नामद्वारा चुनिएका र नियुक्त गरिएका अरू बाँकी जनहरू थिए, “किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”

[42] हेमान र यदूतूनचाहिँ पवित्र भजनको निम्ति तुरही फुक्ने, झ्याली बजाउने र अरू बाजाहरू बजाउन जिम्मेवार थिए।

[43] त्यसपछि बाँकी सबै मानिसहरू आ-आफ्ना घरतिर लागे; अनि दावीदचाहिँ आफ्नो परिवारलाई आशिष् दिन घर फर्के।

1 इतिहास — Chapters