Skip to content
Opens in a new window
Listen to this chapter • 5:36

[1] तब दावीदले भने, “याहवेह परमेश्‍वरको भवन र इस्राएलको निम्ति होमबलिको वेदी पनि यहीँ हुनुपर्छ।”

[2] यसकारण दावीदले इस्राएलमा बस्दै आएका विदेशीहरूलाई भेला गर्ने हुकुम दिए। अनि तिनीहरूमध्येबाट परमेश्‍वरको भवन निर्माण गर्नलाई काटेका राम्रा ढुङ्गा तयार गर्न भनी ढुङ्गा काट्नेहरू नियुक्त गरे।

[3] तिनले मूलढोकाहरूका निम्ति काँटीहरू र चेपुवाहरू बनाउन धेरै मात्रामा फलाम प्रबन्ध गरिदिए; अनि तौलन नसकिने मात्रामा काँसाहरू दिए।

[4] तिनले असंख्य देवदारुका काठहरूको पनि प्रबन्ध गरिदिए; किनकि सीदोनी र टायरवासीहरूले धेरै संख्यामा दावीदकहाँ ती काठहरू ल्याएका थिए।

[5] दावीदले भने, “मेरो छोरा सोलोमन कलिलै र अनुभवहीन छ; अनि याहवेहको नामको निम्ति बनाउनुपर्ने भवनचाहिँ सबै जातिहरूको दृष्‍टिमा अति विशाल, अति प्रसिद्ध र अति नै सुन्दर हुनुपर्छ। यसकारण म निर्माणको तयारी गर्नेछु।” यसकारण दावीदले आफ्नो मृत्युअगि नै व्यापक तयारी गरे।

[6] त्यसपछि तिनले आफ्नो छोरा सोलोमनलाई बोलाए, र तिनलाई याहवेह इस्राएलका परमेश्‍वरको निम्ति एउटा भवन निर्माण गर्ने जिम्मा दिए।

[7] दावीदले सोलोमनलाई भने, “मेरो छोरा, याहवेह मेरो परमेश्‍वरको नामको खातिर एउटा भवन बनाउने इच्छा मेरो हृदयमा थियो।

[8] तर याहवेहको यसो भन्‍ने वचन मकहाँ आयो: ‘तैँले धेरै रगत बगाएको छस्, र धेरै युद्धहरू लडेको छस्। त्यसैले तैँले मेरो नामको खातिर भवन बनाउनेछैनस्; किनकि मेरो दृष्‍टिमा यस पृथ्वीमा तैँले धेरै रगत बगाएको छस्।

[9] तर तेरो एउटा छोरा जन्मनेछ, जो शान्ति र विश्रामको मानिस हुनेछ। अनि म त्यसलाई त्यसका चारै दिशाका शत्रुहरूबाट विश्राम दिनेछु। त्यसको नाम सोलोमन हुनेछ; म त्यसको शासनकालमा इस्राएललाई शान्ति र सुरक्षा दिनेछु।

[10] त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। त्यो मेरो छोरो हुनेछ, र म त्यसको पिता हुनेछु। अनि म इस्राएलमा त्यसको राज्यको सिंहासन सदासर्वदाका निम्ति स्थापित गर्नेछु।’

[11] “अब हे मेरो छोरा, याहवेह तँसँग रहून्, र तँलाई सफलता मिलोस्; अनि उहाँले भन्‍नुभएजस्तै तैँले याहवेह तेरा परमेश्‍वरको भवन बनाउनू।

[12] जब उहाँले तँलाई इस्राएलमाथि अधिकार दिएर राख्नुहुन्छ, तब याहवेहले तँलाई बुद्धि र समझशक्ति देऊन्, ताकि तैँले याहवेह तेरा परमेश्‍वरको व्यवस्था पालन गर्न सक।

[13] अनि यदि तैँले याहवेहले मोशाद्वारा इस्राएललाई दिनुभएका आदेशहरू होसियारीसाथ पालन गरिस् भने तैँले सफलता पाउनेछस्। बलियो र साहसी हो। नडरा अथवा निराश नहो।

[14] “मैले याहवेहको भवनका निम्ति धेरै दुःख गरेर एक लाख टालेन्ट सुन, दश लाख टालेन्ट चाँदी, प्रशस्त मात्रामा काँसो र तौलन नसकिने फलाम, र काठ र ढुङ्गा प्रबन्ध गरेको छु। तैँले त्यसमा अझै थप्न सक्छस्।

[15] तँसँग धेरै कर्मचारीहरू छन्: ढुङ्गा काट्नेहरू, डकर्मीहरू र सिकर्मीहरूका साथमा हरेक प्रकारका काममा सिपालु मानिसहरू छन्,

[16] अर्थात् सुन र चाँदी, काँसो र फलामका काम गर्ने असंख्य कारिगरहरू छन्। अब काम सुरु गर्, र याहवेह तेरो साथमा रहून्।”

[17] त्यसपछि दावीदले इस्राएलका सारा अगुवाहरूलाई आफ्नो छोरा सोलोमनलाई सहायता गर्न आदेश दिए।

[18] दावीदले तिनीहरूलाई भने, “के याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍न र? अनि के उहाँले तिमीहरूलाई चारैतिरबाट विश्राम दिनुभएको छैन र? किनकि उहाँले यस देशका बासिन्दाहरूलाई मकहाँ सुम्पनुभएको छ; अनि यो देश, याहवेह र उहाँका प्रजाहरूका अधीनमा रहेको छ।

[19] अब तिमीहरूका हृदय र आत्मालाई याहवेह तिमीहरूका परमेश्‍वरलाई खोज्नमा लगाओ। याहवेह परमेश्‍वरको पवित्रस्थानको निर्माण गर्न सुरु गर, ताकि याहवेहको नामको खातिर बनिने मन्दिरभित्र याहवेहको करारको सन्दुक र परमेश्‍वरका पवित्र चीजहरू तिमीहरूले ल्याउन सक।”

1 इतिहास — Chapters