Skip to content
Opens in a new window
Listen to this chapter • 3:41

[1] दावीदले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसहित आफ्ना प्रत्येक अधिकारीहरूसँग सल्‍लाह लिए।

[2] त्यसपछि तिनले इस्राएलका सारा समुदायलाई भने, “यदि तपाईंहरूलाई असल लाग्यो, र याहवेह हाम्रा परमेश्‍वरको इच्छा यही हो भने हामी इस्राएलको प्रान्तभरि टाढा वा नजिक रहेका हाम्रा बाँकी दाजुभाइहरूकहाँ र तिनीहरूसँग तिनीहरूकै नगर र खर्कहरूमा रहेका पुजारीहरू र लेवीहरूलाई हामीकहाँ आउन र हामीसँग सामेल हुन खबर पठाऔँ।

[3] हामी परमेश्‍वरको सन्दुकलाई आफूकहाँ फर्काएर ल्याऔँ। किनकि हामीले शाऊलको शासनकालमा सन्दुकको खोजी गरेनौँ।”

[4] सबै मानिसहरूलाई यो ठिक लागेको कारण, सम्पूर्ण समुदाय त्यसमा सहमत भयो।

[5] यसकारण दावीदले इजिप्टमा भएको शीहोर नदीदेखि लेबो-हमातसम्मका सबै इस्राएलीहरूलाई किर्यत-यारीमबाट परमेश्‍वरको सन्दुक ल्याउन भनी भेला गराए।

[6] दावीद र तिनीसँग भएका सारा इस्राएलीहरू करूबहरूका बीच सिंहासनमा विराजमान हुनुहुने याहवेह परमेश्‍वरका नामले कहलाइएको सन्दुकलाई ल्याउन भनी यहूदाको बालाहमा (किर्यत-यारीम) गए।

[7] तिनीहरूले परमेश्‍वरको सन्दुकलाई अबीनादाबको घरबाट एउटा नयाँ गाडामा राखेर, उज्जाह र अहियोले त्यो गाडा हाँकेर त्यसलाई अगि बढाए।

[8] दावीद र सारा इस्राएलीहरूचाहिँ गीत, वीणा, सारङ्गी, खैँजडी, झ्याली र तुरहीको साथमा आफ्ना सारा शक्तिले परमेश्‍वरको सामु उत्सव मनाइरहेका थिए।

[9] जब तिनीहरू किदोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाएको कारण सन्दुक नखसोस् भनी त्यसलाई थाम्न भनेर उज्जाहले आफ्नो हात बढाए।

[10] तब याहवेहको क्रोध उज्जाहमाथि दन्कियो। अनि तिनले आफ्नो हातले सन्दुकलाई छोएको कारण, उहाँले तिनलाई प्रहार गर्नुभयो। यसकारण त्यहीँ नै परमेश्‍वरको सामु तिनको मृत्यु भयो।

[11] यसरी याहवेहको क्रोध उज्जाहमाथि आइपरेको कारण दावीद दुःखित भए। अनि आजको दिनसम्मै त्यस ठाउँलाई पेरेस-उज्जाह भनिन्छ।

[12] त्यस दिन दावीद परमेश्‍वरसँग डराए, र तिनले सोधे, “मैले परमेश्‍वरको सन्दुक कसरी आफूकहाँ ल्याउन सकूँला?”

[13] दावीदले सन्दुकलाई दावीदको सहरमा आफूसँग लगेनन्, बरु तिनले सन्दुकलाई गित्ती ओबेद-एदोमको घरमा लगे।

[14] परमेश्‍वरको सन्दुक ओबेद-एदोमकहाँ तीन महिनासम्म रह्‍यो। याहवेहले तिनको घराना र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभयो।

1 इतिहास — Chapters