[1] द्वारपालहरूका दलहरू यस प्रकारका थिए: कोरहवंशीहरूबाट: मेशेलेम्याह कोरेका छोरा, जो आसापका छोराहरूमध्ये एक थिए।
[2] मेशेलेम्याहका छोराहरू: पहिलो छोरो जकरिया, दोस्रो यदीएल, तेस्रो जबदियाह, चौथो यत्नीएल,
[3] पाँचौँ एलाम, छैटौँ यहोनान र सातौँ एल्यहोएनै।
[4] ओबेद-एदोमका पनि छोराहरू थिए: पहिलो शमायाह, दोस्रो यहोजाबाद, तेस्रो योआ, चौथो साकार, पाँचौँ नथनिएल,
[5] छैटौँ अम्मीएल, सातौँ इस्साखार र आठौँ पुल्लतै। (किनकि परमेश्वरले ओबेद-एदोमलाई आशिष् दिनुभएको थियो।)
[6] ओबेद-एदोमका छोरा शमायाहका पनि छोराहरू थिए, जो आफ्ना पिताका परिवारमा अगुवाहरू थिए; किनकि तिनीहरू धेरै योग्यता भएका मानिसहरू थिए।
[7] शमायाहका छोराहरू: ओत्नी, रपाएल, ओबेद र एल्जाबाद; तिनका आफन्तहरू एलीहू र समक्याह पनि योग्यता भएका मानिसहरू थिए।
[8] यी सबै ओबेद-एदोमका सन्तान थिए; तिनीहरू र तिनीहरूका छोराहरू र तिनीहरूका आफन्तहरू शक्तिशाली थिए। ओबेद-एदोमका सन्तानहरू जम्मा 62 जना थिए।
[9] मेशेलेम्याहका छोराहरू र आफन्तहरू, जो योग्य मानिसहरू थिए। तिनीहरू जम्मा 18 जना थिए।
[10] मरारी होसाका छोराहरू: पहिलो शिम्री, (यद्यपि तिनी जेठो छोरा नभए तापनि तिनका पिताले तिनलाई अगुवा तुल्याएका थिए);
[11] दोस्रो हिल्कियाह, तेस्रो तबल्याह र चौथो जकरिया। होसाका छोराहरू र आफन्तहरू जम्मा 13 जना थिए।
[12] द्वारपालहरूका दलहरूका यी अगुवाहरूद्वारा याहवेहको भवनमा आफ्ना आफन्तहरूले सेवा गरेझैँ तिनीहरूलाई पनि सेवा गर्न भनी जिम्मेवारी दिइएका थिए।
[13] जवान वा वृद्ध, आफ्ना घरानाअनुसार हरेक मूलढोकाका निम्ति चिट्ठा हाले।
[14] पूर्वपट्टिको मूलढोकाको चिट्ठा शेलेम्याहलाई पर्यो। त्यसपछि उत्तरपट्टिको मूलढोकाको चिट्ठा शलेम्याहका छोरा जकरियालाई पर्यो, जो बुद्धिमान् सल्लाहकार थिए।
[15] दक्षिणपट्टिको मूलढोकाको चिट्ठा ओबेद-एदोमलाई पर्यो, र भण्डारको चिट्ठाचाहिँ ओबेद-एदोमका छोराहरूलाई पर्यो।
[16] पश्चिमपट्टिको मूलढोका र माथिल्लो बाटोको शल्लेकेत मूलढोकाको चिट्ठा शुप्पीम र होसालाई पर्यो। एउटा पहरेदार अर्को पहरेदारको छेउमा उभिन्थे:
[17] पूर्वपट्टि प्रत्येक दिन छ जना लेवीहरू पहरा बस्थे; उत्तरपट्टि प्रत्येक दिन चार जना, दक्षिणपट्टि प्रत्येक दिन चार जना र भण्डार कोठामा चाहिँ एकै पटकमा दुई-दुई जना पहरेदार खटिएका थिए।
[18] पश्चिमपट्टि चोकतिरको बाटोमा चार जना र चोकमा चाहिँ दुई जना खटिएका थिए।
[19] कोरह र मरारीका सन्तानहरूमा द्वारपालका दलहरू यिनै थिए।
[20] तिनीहरूका लेवी दाजुभाइहरू परमेश्वरको भवनको खजाना र अर्पण गरिएका चीजहरूका भण्डारहरूका जिम्मेवार थिए।
[21] लादानका सन्तानहरू, जो लादानको वंशद्वारा आएका गेर्शोनीहरू र गेर्शोनी लादानका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू यहीएली,
[22] यहीएलीका छोराहरू, जेताम र तिनका भाइ योएल थिए। तिनीहरू याहवेहको भवनको भण्डारहरूका अधिकारीहरू थिए।
[23] अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्जीएलीहरूबाट:
[24] मोशाका छोरा गेर्शोम, गेर्शोमका छोरा, शूबाएलचाहिँ भण्डारहरूका अधिकारी थिए।
[25] एलीएजरबाटका शूबाएलका आफन्तहरू: एलीएजेरका छोरा रहब्याह, रहब्याहका छोरा यसयाह, यसयाहका छोरा योराम, योरामका छोरा जिक्री र जिक्रीका छोरा शलोमीत।
[26] शलोमीत र तिनका आफन्तहरू ती सबै भण्डारहरूका जिम्मेवार थिए, जुन भण्डार राजा दावीदले, परिवारहरूका अगुवाहरूले, जो हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू थिए, र अरू सेनाका कप्तानहरूले अर्पण गरेका थोकहरू थिए।
[27] लडाइँमा लुटका केही मालसामानहरू याहवेहको मन्दिरको मरमतको निम्ति तिनीहरूले अर्पण गरेका थिए।
[28] दर्शी शमूएलले र कीशका छोरा शाऊलले नेरका छोरा अबनेर; अनि सरूयाहका छोरा योआबले अर्पण गरेका हरेक कुरा, र ती अर्पण गरिएका अरू सबै चीजहरूचाहिँ शलोमीत र तिनका आफन्तहरूका जिम्मामा थिए।
[29] यिसहारीहरूका वंशबाट: कनन्याह र तिनका छोराहरूलाई मन्दिरदेखि टाढा इस्राएलमाथि अधिकारी र न्यायकर्ताको रूपमा जिम्मेवारी दिइएको थियो।
[30] हेब्रोनीहरूबाट: हशब्याह र तिनका आफन्तहरू—सत्र सय योग्य मानिसहरूचाहिँ इस्राएलमा याहवेहका सबै कामका निम्ति र राजाको सेवाका निम्ति यर्दन नदीको पश्चिमपट्टिको अधिकारी थिए।
[31] हेब्रोन वंशीहरूको बारेमा चाहिँ तिनीहरूका परिवारका वंशावलीमा दर्ता भएअनुसार यरियाहचाहिँ अगुवा थिए। (दावीदको शासनको चालीसौँ वर्षमा वंशावलीहरूको बारेमा खोजी गरियो; अनि हेब्रोनीहरूका बीचमा योग्यका मानिसहरू गिलादको याजेरमा भेट्टाइयो।
[32] यरियाहका सत्ताइस सय आफन्तहरू थिए, जो योग्यका मानिसहरू थिए र परिवारहरूका अगुवाहरू थिए। राजा दावीदले तिनीहरूलाई रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलमाथि परमेश्वर र राजासम्बन्धी हरेक कुराको निम्ति जिम्मा दिए।)