[1] जब दावीद वृद्ध भए, र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा नियुक्त गरे।
[2] तिनले इस्राएलका सबै अगुवाहरू, पुजारीहरू र लेवीहरूलाई पनि एकसाथ भेला गराए।
[3] तीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको गन्ती गरियो; अनि पुरुषहरूको कुल संख्या अठतीस हजार थियो।
[4] दावीदले भने, “यीमध्ये चौबीस हजारले याहवेहको मन्दिरको काममा रेखदेख गरून्; अनि छ हजारचाहिँ अगुवाहरू र न्यायकर्ताहरू होऊन्।
[5] चार हजारचाहिँ द्वारपालहरू होऊन्, र अरू चार हजारले चाहिँ मैले प्रशंसाको उद्देश्यले उपलब्ध गराएका वाद्य-वादनहरूद्वारा याहवेहको प्रशंसा गरून्।”
[6] दावीदले लेवीहरूलाई लेवीका छोराहरू: गेर्शोन, कहात र मरारीका समूहअनुसार विभाजन गरे।
[7] गेर्शोनीहरूका छोराहरू: लादान र शिमी।
[8] लादानका छोराहरू: पहिलो यहीएल, दोस्रो जेताम र तेस्रो योएल—जम्मा तीन जना।
[9] शिमीका छोराहरू: शलोमोत, हाजीएल र हारान—जम्मा तीन जना। लादानका परिवारहरूका अगुवाहरू यिनीहरू नै थिए।
[10] शिमीका छोराहरू: यहत, जीजा, येऊश र बेरियाह। शिमीका छोराहरू—जम्मा चार जना।
[11] यहत पहिलो थिए, जीजा दोस्रो, तर येऊश र बेरियाहका छोराहरू धेरै थिएनन्; यसकारण तिनीहरूलाई एउटै परिवारझैँ गनियो र एउटै जिम्मेवारी दिइयो।
[12] कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल—जम्मा चार जना।
[13] अम्रामका छोराहरू: हारून र मोशा। हारूनचाहिँ अलग गरिएका थिए; हारून र तिनका सन्तानहरूलाई सधैँका निम्ति अति पवित्र चीजहरू अर्पण गर्न, याहवेहको सामु भेटीहरू चढाउन, उहाँको सामु सेवा गर्न र सधैँका निम्ति उहाँको नाममा आशिष् दिनलाई अलग गरिएका थिए।
[14] परमेश्वरका जन मोशाका छोराहरूलाई चाहिँ लेवी कुलको एउटा भागको रूपमा गनियो।
[15] मोशाका छोराहरू: गेर्शोम र एलीएजर।
[16] गेर्शोमका सन्तानहरू: पहिलो शूबाएल।
[17] एलीएजेरका सन्तानहरू: पहिलो छोरो रहब्याह। (एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू अति धेरै थिए।)
[18] यिसहारका छोराहरू: पहिलो शलोमीत।
[19] हेब्रोनका छोराहरू: पहिलो यरियाह, दोस्रो अमर्याह, तेस्रो यहजीएल र चौथो यकमाम।
[20] उज्जीएलका छोराहरू: पहिलो मीका र दोस्रो यिशियाह।
[21] मरारीका छोराहरू: महली र मूशी। महलीका छोराहरू: एलाजार र कीश।
[22] (एलाजारका छोराहरू नभई तिनको मृत्यु भयो: तिनका छोरीहरू मात्र थिए। तिनीहरूलाई तिनका आफन्तहरू, कीशका छोराहरूले विवाह गरे।)
[23] मूशीका छोराहरू: महली, एदेर र यरेमोत—जम्मा तीन जना।
[24] लेवीका परिवारअनुसार तिनीहरूका सन्तानहरू यिनै थिए—तिनीहरूका परिवारका अगुवाका नामअनुसार र हरेक व्यक्तिहरू, जो याहवेहको मन्दिरमा काम गर्ने बीस वर्ष र त्यसभन्दा बढी उमेरका कर्मचारीहरूको नाम दर्ता गरियो।
[25] किनकि दावीदले भनेका थिए, “याहवेह इस्राएलका परमेश्वरले आफ्ना मानिसहरूलाई विश्राम दिनुभएको छ, र उहाँ यरूशलेममा सदासर्वदाको लागि बास गर्न आउनुभएको छ।
[26] यसैकारण लेवीहरूले फेरि समागम पाल र त्यसको सेवामा प्रयोग गरिने कुनै पनि सामानहरू बोकिरहन आवश्यक छैन।”
[27] दावीदको अन्तिम निर्देशनअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू गनिए।
[28] लेवीहरूको जिम्मेवारीचाहिँ याहवेहको मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सहायता गर्नुपर्नेथियो: आँगन, छेउछाउका कोठाहरू, सबै पवित्र चीजहरू शुद्ध गर्ने र परमेश्वरको भवनमा अरू कामहरू पनि गर्नुपर्ने जिम्मेवारी थियो।
[29] तिनीहरू टेबुलमा सजाइएको रोटी, अन्नबलिको विशेष पिठो, खमिरविनाको पातलो रोटी, पकाउने र मिसाउने, र सबै प्रकारका नाप-तौल, र आकारका जिम्मेवारीमा थिए।
[30] तिनीहरू हरेक बिहान याहवेहलाई धन्यवाद र प्रशंसा चढाउनलाई पनि खडा हुनुपर्थ्यो। तिनीहरूले साँझमा पनि त्यसै गर्नुपर्थ्यो;
[31] अनि तिनीहरूले शब्बाथ विश्रामको दिनमा औँसीका चाडहरूमा र तोकिएका चाडहरूमा याहवेहकहाँ होमबलि चढाउनुपर्थ्यो। तिनीहरूले नियमित रूपले उचित संख्या र तिनीहरूलाई तोकिदिएको नियमअनुसार याहवेहको सामु सेवा गर्नुपर्थ्यो।
[32] यसरी लेवीहरूले भेट हुने पालको, पवित्रस्थान र हारूनका सन्तान आफ्ना दाजुभाइहरूका अधीनमा रहेर याहवेहको मन्दिरको सेवामा पुजारीहरूलाई सहायता गरे।