Skip to content
Opens in a new window
Listen to this chapter • 10:36

[1] दावीदलाई कीशका छोरा शाऊलको सामुबाट निष्कासन गरिएको बेलामा सिक्लगमा दावीदकहाँ आउने मानिसहरू यिनीहरू नै थिए। (तिनीहरू योद्धाहरू मध्येका थिए, जसले दावीदलाई लडाइँमा सघाएका थिए।

[2] तिनीहरू धनुर्धारी थिए, र काँड हान्‍न सक्ने अथवा दायाँ-बायाँ दुवै हातले घुँयेत्रोले ढुङ्गा हान्‍न सक्ने क्षमता भएका मानिसहरू थिए। तिनीहरू बेन्यामीनी कुलबाट शाऊलका आफन्तहरू थिए):

[3] गिबियाति शेमाहका छोराहरू अहीएजेर र योआश तिनीहरूका अगुवा थिए; अज्मावेतका छोराहरू यजीएल र पेलेत; बराकाह, अनातोती येहू;

[4] अनि गिबोनबाट यिश्मायाह, जो तीस जनामध्येका एक वीर मानिस थिए, जो ती तीस जना वीरहरूमध्येका अगुवा थिए; गदेराबाट यर्मिया, यहजीएल, योहानान, योजाबाद,

[5] एलूजै, यरीमोत, बाल्याह, शमर्याह, र हारूपीबाट शपत्याह;

[6] कोरहवंशीबाट एल्काना, यिश्याह, अजरेल, योएजेर र यशोबाम थिए;

[7] अनि गदोरबाट यरोहामका छोराहरू योएलह र जबदियाह थिए।

[8] केही गादीहरू दावीदसँग मिल्न भनी उजाडस्थानमा भएको गढमा तिनीकहाँ आए। तिनीहरू बहादुर योद्धाहरू थिए, लडाइँ गर्न तयार रहेका ढाल र भाला चलाउन सक्ने योद्धाहरू थिए। तिनीहरूका अनुहार सिंहका अनुहारझैँ र तिनीहरू पहाडहरूका घोरलहरूझैँ फूर्तिला थिए।

[9] एजेरचाहिँ तिनीहरूका मुखिया थिए; दोस्रोमा ओबदिया, तेस्रोमा एलिआब,

[10] चौथो मिश्मन्‍ना, पाँचौँ यर्मिया,

[11] छैटौँ अत्तै, सातौँ एलीएल,

[12] आठौँ योहानान, नवौँ एल्जाबाद,

[13] दसौँ यर्मिया र एघारौँचाहिँ मक्बन्‍ने।

[14] यी गादीहरू सेनाका सेनापतिहरू थिए; जसमा सबैभन्दा कमजोर एक सय सेना बराबर र सबैभन्दा बलियाचाहिँ एक हजार सेना बराबरका थिए।

[15] यिनीहरू ती नै मानिसहरू थिए, जसले पहिलो महिनामा यर्दन नदी तरेका थिए; जुन बेला नदीको पानी किनारसम्मै उर्लेर आएको थियो। अनि यिनीहरूले नै पूर्व र पश्‍चिमतिर बेँसीहरूमा बसेका सबै मानिसहरूलाई भगाएका थिए।

[16] बेन्यामीनी र यहूदाबाट पनि केही मानिसहरू दावीदलाई भेट्न तिनको गढमा आए।

[17] दावीद तिनीहरूलाई भेट्न बाहिर निस्केर आए, र तिनीहरूलाई भने, “यदि तिमीहरू मकहाँ मिलापको लागि र मेरो सहायताको लागि आएका हौ भने म तिमीहरूसँग मिलाप गर्न तयार छु; तर म निर्दोष हुँदा-हुँदै पनि तिमीहरूले मलाई धोका दिएर मेरा शत्रुहरूको हातमा सुम्पनलाई आएका हौ भने हाम्रा पुर्खाहरूका परमेश्‍वरले यो कुरा देखून्, र तिमीहरूको न्याय गरून्।”

[18] तब ती तीस जनाका मुखिया अमासैमाथि परमेश्‍वरको आत्मा आउनुभयो र तिनले भने: “हे दावीद, हामी तपाईंका हौँ! हे यिशैका छोरा, हामी तपाईंकै साथमा छौँ! शान्ति र सफलता तपाईंकै होस्, अनि तपाईंलाई सहायता गर्नेहरूको पनि सफलता होस्; किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गर्नुहुनेछ।” यसकारण दावीदले तिनीहरूलाई ग्रहण गरे, र तिनीहरूलाई आफ्ना लुटपाट गर्ने सेना दलहरूका अगुवाहरू बनाए।

[19] जब दावीद पलिश्तीहरूसँग शाऊलको विरुद्धमा लडाइँ गर्न गएका थिए, तब मनश्शेका केही मानिसहरूले शाऊललाई छाडेर दावीदलाई पछ्याए। (दावीद र तिनका मानिसहरूले पलिश्तीहरूलाई सहायता गरेनन्; किनकि पलिश्तीहरूको सरसल्‍लाहपछि तिनीहरूका शासकहरूले दावीदलाई फिर्ता पठाइदिए। तिनीहरूले भने, “यदि दावीदले आफ्ना मालिक शाऊलसँग मिलेर हामीलाई त्यागिदिए भने हामीले हाम्रा टाउकाको मूल्य चुकाउनुपर्नेछ।”)

[20] जब दावीद सिक्लगमा गए, तब उनीसँग मिल्न आएका मनश्शेका मानिसहरू यिनीहरू नै थिए: अदनाह, योजाबाद, यदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै। मनश्शेको कुलबाट यिनीहरू हजार सैन्य दलमाथिका अगुवाहरू थिए।

[21] तिनीहरूले दावीदलाई लुटपाट गर्ने सैनिक दलहरूका विरुद्धमा सहायता गरे; किनकि तिनीहरू सबै वीर योद्धाहरू र तिनका सेनाका सेनापतिहरू थिए।

[22] दावीदसँग परमेश्‍वरका सेनाझैँ ठूलो सेना नभएसम्म दिन प्रतिदिन तिनलाई सहायता गर्न मानिसहरू आए।

[23] याहवेहले भन्‍नुभएझैँ शाऊलको राज्य दावीदलाई सुम्पन हेब्रोनमा दावीदकहाँ आएका लडाइँका निम्ति हतियारले सुसज्जित भई आउने मानिसहरूको संख्या यही हो:

[24] यहूदाबाट ढाल र भाला बोकेर लडाइँका निम्ति सुसज्जित भएका योद्धाहरू 6,800 थिए।

[25] शिमियोन कुलबाट लडाइँका निम्ति तयार भएका योद्धाहरू 7,100 थिए।

[26] लेवी कुलबाट 4,600 थिए।

[27] तीबाहेक हारूनको परिवारका अगुवा यहोयादा सहित 3,700 पुरुषहरू सामेल थिए,

[28] अनि एक जवान वीर योद्धा सादोक, जो आफ्ना परिवारका 22 अधिकृतहरूसहित थिए।

[29] शाऊलको कुल, बेन्यामीनका आफन्तहरूबाट 3,000 थिए, जसमध्ये धेरै जना त्यस बेलासम्म शाऊलका घरानाप्रति विश्‍वासयोग्य भई बसेका थिए।

[30] एफ्राइमको कुलबाट आफ्नै वंशहरूमा प्रसिद्ध रहेका 20,800 वीर योद्धाहरू थिए।

[31] मनश्शेका आधा कुलबाट, अर्थात् दावीदलाई राजा बनाउनलाई नाम नै तोकेर बोलाइएकाहरू 18,000 थिए।

[32] इस्साखारको कुलबाट ती मानिसहरू, जसले उचित समय बुझेका र इस्राएलले के गर्नुपर्छ भन्‍ने ठिक कुरा जान्‍नेहरू थिए। तिनीहरूका अधीनमा रहेका सबै आफन्तहरू समेत 200 मुखियाहरू थिए।

[33] जबूलूनको कुलबाट दावीदलाई पूर्ण रूपमा इमानदारीतासाथ सहायता गर्नलाई सबै प्रकारका हातहतियार भिरेर लडाइँ गर्न तयार रहेका निपुण 50,000 योद्धाहरू थिए।

[34] नप्‍तालीको कुलबाट ढाल र भाला बोकेका 37,000 मानिसहरूसहित 1,000 अधिकारीहरू थिए।

[35] दानको कुलबाट लडाइँका निम्ति तयार रहेका 28,600 मानिसहरू थिए।

[36] आशेरको कुलबाट लडाइँको निम्ति तयार रहेका अनुभवी योद्धाहरू 40,000 थिए।

[37] अनि यर्दनको पूर्वपट्टिका रूबेन, गाद र मनश्शेको आधा कुलबाट हरेक किसिमका हातहतियारले सुसज्जित भएका 120,000 मानिसहरू थिए।

[38] यी सबै लडाकु मानिसहरू थिए, र स्वेच्छापूर्वक सबै दर्जामा सेवा गर्न राजी थिए। तिनीहरू दावीदलाई इस्राएलमाथि राजा बनाउने दृढ संकल्प लिएर हेब्रोनमा आए। बाँकी सबै इस्राएलीहरू पनि दावीदलाई राजा बनाउन एउटै मनका भए।

[39] ती मानिसहरूले दावीदसँग खाँदै र पिउँदै तीन दिन बिताए। किनभने तिनीहरूका परिवारले तिनीहरूका निम्ति सरसामानहरू जुटाइदिएका थिए।

[40] तिनीहरूका इलाका नजिक रहेका इस्साखार, जबूलून र नप्‍तालीहरू पनि गधा, ऊँट, खच्‍चर र गोरुहरूमा भोजन लदाएर आए। इस्राएलमा खुशी छाएको कारणले त्यहाँ पिठो, सुकेको नेभारा, किसमिस, दाखमद्य, जैतुनको तेल, गोरुहरू र भेडाहरू प्रशस्त मात्रामा थिए।

1 इतिहास — Chapters