Skip to content
Opens in a new window
Listen to this chapter • 4:16

[1] केही समयपछि, दावीदले पलिश्तीहरूलाई परास्त गरे, र तिनीहरूलाई आफ्नो अधीनमा पारे; अनि तिनले पलिश्तीहरूको अधीनमा रहेका गात र त्यसका चारैतिरका गाउँहरूलाई पनि लिए।

[2] दावीदले मोआबीहरूलाई पनि परास्त गरे; अनि तिनीहरू तिनको अधीनमा भएर तिनलाई राजकर तिरे।

[3] यसबाहेक दावीदले सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्नो विजयको स्मारक खडा गर्न जाँदा तिनलाई हमातसम्मै जिते।

[4] दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए।

[5] जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे।

[6] तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर तिनलाई सलामी ल्याए। दावीद जहाँ गए तापनि याहवेहले तिनलाई विजय दिनुभयो।

[7] दावीदले हददेजेरका अधिकारीहरूले बोकेका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए।

[8] दावीदले हददेजेरका सहरहरू तेबाह र कूनबाट धेरै मात्रामा काँसा ल्याए, जसलाई सोलोमनले काँसाका खड्कुँलो, खम्बाहरू र काँसाका विभिन्‍न चीजहरू बनाउनमा प्रयोग गरे।

[9] जब हमातका राजा तोऊले सोबाका राजा हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने,

[10] तब तिनले आफ्नो छोरा हदोरामलाई दावीदले हददेजेरमाथि विजय पाएकोमा दावीदलाई बधाई दिन भनी पठाए; किनभने हददेजेर तोऊसँग युद्ध लडिरहेका थिए। हदोरामले सबै प्रकारका सुन, चाँदी र काँसाका चीजहरू दावीद राजाकहाँ ल्याए।

[11] दावीद राजाले ती चीजहरू याहवेहलाई समर्पण गरे। तिनले यी सबै जातिहरू: एदोमीहरू, मोआबीहरू, अम्मोनीहरू, पलिश्तीहरू र अमालेकीहरूबाट लिएका सुन र चाँदीलाई याहवेहकहाँ अर्पण गरे।

[12] सरूयाहका छोरा अबीशैले नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारे।

[13] तिनले एदोममा सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो।

[14] दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे।

[15] सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए; अहीलूदका छोरा यहोशापात लेखापाल थिए;

[16] अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; शब्शा सचिव थिए;

[17] बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए; अनि दावीदका छोराहरूचाहिँ राजाका मुख्य अधिकृतहरू थिए।

1 इतिहास — Chapters