Skip to content
Opens in a new window
Listen to this chapter • 4:05

[1] टायरका राजा हीरामले दावीदका निम्ति महल निर्माण गर्नलाई देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए।

[2] अनि याहवेहले इस्राएलमाथि राजाको रूपमा आफूलाई स्थापित गर्नुभएको, र उहाँका प्रजा इस्राएलको खातिर तिनको राज्यको गौरव धेरै बढाइदिनुभएको कुरा दावीदलाई थाहा भयो।

[3] दावीदले यरूशलेममा अरू धेरै पत्नीहरू ल्याए। तिनी अरू पनि धेरै छोराछोरीहरूका पिता भए।

[4] यरूशलेममा जन्मिएका तिनका सन्तानका नाम यिनै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,

[5] यिभार, एलीशूअ, एल्पेलेत,

[6] नोगह, नेपेग, याफिया,

[7] एलीशामा, बेलीयादा र एलीपेलेत।

[8] जब दावीद सारा इस्राएलमाथि राजा अभिषेक भएको कुरा पलिश्तीहरूले सुने, तब तिनीहरू दावीदलाई खोज्न भनी पूरा फौज लिएर निस्के। तर त्यो कुरा सुनेर दावीद तिनीहरूसँग युद्ध गर्नलाई गए।

[9] तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीलाई लुटपाट गरे।

[10] यसकारण दावीदले परमेश्‍वरसँग यसो भन्दै सल्‍लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले तिनलाई जवाफ दिनुभयो, “जा, म तिनीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।”

[11] यसकारण दावीद र तिनका मानिसहरू बाल-पराजीममा गए। अनि त्यहाँ तिनले तिनीहरूलाई जिते। तिनले भने, “बाँध फुटेर ओइरिएको पानीझैँ, परमेश्‍वरले मलाई मेरा शत्रुहरूको विरुद्धमा जाइलाग्न प्रयोग गर्नुभयो।” यसकारण त्यस ठाउँलाई बाल-पराजीम भनियो।

[12] पलिश्तीहरूले तिनीहरूका मूर्तिहरू त्यहीँ छोडेर भागे। तब दावीदले तिनीहरूलाई आगोमा जलाइदिने आदेश दिए।

[13] पलिश्तीहरू फेरि एक पटक बेँसीमा लुटपाट गर्न आए।

[14] यसकारण दावीदले फेरि परमेश्‍वरसित सल्‍लाह लिए। अनि परमेश्‍वरले तिनलाई जवाफ दिनुभयो, “तिमीहरू सीधै तिनीहरू माथि जाइनलाग, तर तिनीहरूलाई घेरा हालेर लहरे पीपलका रूखहरूको सामुबाट आक्रमण गर।

[15] तिमीहरूले ती लहरे पीपलको टुप्पोमा युद्ध-मोर्चाको आवाज सुन्‍नेबित्तिकै युद्धका निम्ति अगि बढ्नू। किनकि त्यसको अर्थ परमेश्‍वर पलिश्ती सेनाहरूलाई प्रहार गर्न तिमीहरूका अगि-अगि जानुहुनेछ।”

[16] यसकारण दावीदले परमेश्‍वरले तिनलाई आज्ञा गर्नुभएअनुसार गरे; अनि तिनीहरूले पलिश्ती सेनाहरूलाई गिबोनदेखि गेजेरसम्मै आक्रमण गरेर मारे।

[17] यसरी दावीदको कीर्ति सर्वत्र फैलियो। याहवेहले सबै राष्ट्रलाई दावीदसँग भयभीत हुने बनाउनुभयो।

1 इतिहास — Chapters