Skip to content
Opens in a new window
Listen to this chapter • 4:01

[1] जब पाँचौं स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले आकाशबाट पृथ्वीमा खसेको एउटा तारालाई देखें। तिनलाई अतल कुण्डको साँचो दिइएको थियो।

[2] तिनले जब त्यस कुण्डलाई खोले, तब त्यहाँबाट विशाल भट्टीबाटझैं धूवाँ निस्क्यो। त्यस कुण्डबाट निस्केको धूवाँद्वारा सूर्य र आकाश अँध्यारो भए।

[3] अनि त्यस धूवाँबाट सलहहरू निस्के; र पृथ्वीमा आए; अनि पृथ्वीमा भएका बिच्छीहरूको झैं तिनीहरूलाई शक्‍ति दिइयो।

[4] ती सलहहरूलाई पृथ्वीका घाँसहरू अथवा कुनै बोटबिरुवा अथवा रूखहरूलाई हानि नगर्नू, तर जुन मानिसहरूका निधारमा परमेश्‍वरको छाप नभएका तिनीहरूलाई मात्र हानि गर्नू भनियो।

[5] तिनीहरूलाई मार्ने अख्तियार त दिइएन, तर पाँच महिनासम्म यातना दिनू भनियो। अनि बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, त्यो त्यस्तै थियो।

[6] ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर भेट्टाउनेछैनन्; तिनीहरू मर्ने इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूदेखि भाग्नेछ।

[7] ती सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्तै थिए। तिनीहरूले आफ्ना टाउकाहरूमा सुनका मुकुटहरूझैं केही लगाएका थिए। अनि तिनीहरूका अनुहार मानिसहरूका जस्ता थिए।

[8] तिनीहरूका केश स्त्रीहरूका जस्ता थिए, र तिनीहरूका दाँत सिंहहरूका झैं थिए।

[9] तिनीहरूका छातीका कवचहरू फलामकाझैं थिए; र तिनीहरूका पखेटाहरूका आवाज लडाइँ गर्न दगुरिरहेका धेरै घोडाहरू र रथहरूको गडगडाहटझैं थियो।

[10] तिनीहरूका पुच्छरहरूमा बिच्छीहरूका झैं खीलहरू थिए, अनि तिनीहरूका पुच्छरहरूमा मानिसहरूलाई पाँच महिनासम्म यातना दिने शक्‍ति थियो।

[11] तिनीहरूका राजाका रूपमा अतल कुण्डको दूत थियो, जसको नाउँ हिब्रू भाषामा अबाडोन, ग्रीक भाषामा, अपोल्‍लियोन हो।

[12] पहिलो आतङ्क बितेर गयो; यसपछि अरू दुई आतङ्कहरू आउन बाँकी नै छन्!

[13] जब छैटौं स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले परमेश्‍वरको सामु भएको सुनको वेदीका चारओटा सिङहरूबाट आएको आवाज सुनें।

[14] त्यो आवाजले तुरही बोकेका छैटौं स्वर्गदूतलाई यसो भन्यो, “त्यस ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका चारजना स्वर्गदूतहरूलाई फुकाइदेऊ।”

[15] अनि मानिसहरूको एक तिहाइ भागलाई मारून् भनेर त्यस घडी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखेका ती चारजना स्वर्गदूतहरूलाई छोडियो।

[16] मैले ती घोडसवार फौजको संख्या बीस करोड थियो भनेर सुनें।

[17] मैले मेरो दर्शनमा देखेका घोडाहरू अनि सवारहरू यस्ता थिए: तिनीहरूका छातीका कवचहरू आगोझैं राता, गाढा नीला अनि गन्धकझैं पहेंला थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरझैं थिए, तिनीहरूका मुखबाट आगो, धूवाँ र गन्धक निस्कन्थ्यो।

[18] तिनीहरूका मुखबाट निस्केका आगो, धूवाँ र गन्धकको तीनओटा रूढीहरूद्वारा मानिसहरूका एक तिहाइ भाग मारिए।

[19] ती घोडाहरूका शक्‍ति तिनीहरूका मुखमा र पुच्छरहरूमा थिए, किनकि तिनीहरूका पुच्छरहरू सर्पहरूजस्ता थिए, जसमा टाउको पनि भएकाले यसले चोट पुर्‍याउँथे।

[20] ती रूढीहरूले नमरेका बाँकी मानिस जातिले तिनीहरूका हातले गरेका दुष्‍ट कामहरूबाट अझ पनि पश्‍चात्ताप गरेनन्; तिनीहरूले देख्न नसक्ने, सुन्‍न नसक्ने र हिँड्न नसक्ने भूतप्रेतहरू र सुन, चाँदी, काँस, ढुङ्गा र काठका मूर्तिहरू पूज्न छाडेनन्।

[21] न तिनीहरूले आफूले गरेका हत्या, टुनामुना, अनैतिक यौन सम्बन्ध, न ता चोरीको लागि नै पश्‍चात्ताप गरे।

प्रकाश — Chapters