[1] मलाई एउटा नाप्ने लट्ठीजस्तो निगालो दिइयो; अनि भनियो, “जाऊ अनि परमेश्वरको मन्दिर र वेदीलाई नाप, र त्यहाँ आराधना गर्नेहरूलाई गन्ती गर।
[2] तर मन्दिरबाहिर रहेको चोकलाई चाहिँ ननाप; किनकि यो त गैरयहूदीहरूलाई दिइएको छ। तिनीहरूले पवित्र शहरलाई बयालीस महिनासम्म कुल्चनेछन्।
[3] अनि म मेरा दुईजना साक्षीहरूलाई शक्ति दिनेछु, अनि तिनीहरूले भाङ्ग्राको वस्त्र लाएर एक हजार दुई सय साठी दिनसम्म अगमवाणी बोल्नेछन्।”
[4] यिनीहरू “ती दुई जैतुनका रूखहरू” अनि दुई सामदानहरू हुन्, “जो पृथ्वीका प्रभुका सामु उभिन्छन्।”
[5] यदि कसैले अगमवक्ताहरूलाई हानि गर्ने कोसिस गर्दछ भने, तिनीहरूका मुखबाट आगो निस्केर ती शत्रुहरूलाई भस्म पारिदिनेछ। यसरी नै तिनीहरूलाई हानि गर्ने चेष्टा गर्नेहरू मर्नुपर्नेछ।
[6] यी अगमवक्ताहरूले अगमवाणी गरेका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई थुन्ने शक्ति हुनेछ; अनि पानीलाई रगतमा परिणत गर्ने तथा तिनीहरूले चाहेअनुसार पृथ्वीमा हरेक किसिमका रूढीले प्रहार गर्ने शक्ति हुनेछ।
[7] अब तिनीहरूले अगमवाणी गरिसकेपछि अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मार्नेछ।
[8] तिनीहरूका शरीरहरू त्यस महान् शहरको सडकमा त्यसै छोडिएका हुनेछन्, जसलाई दृष्टान्तको रूपमा सदोम र इजिप्ट देश भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।
[9] साढे तीन दिनसम्म प्रत्येक जाति, कुल, भाषा र राष्ट्रबाट आएका मानिसहरूले तिनीहरूका शरीरलाई हेर्नेछन्, अनि गाड्न दिनेछैनन्।
[10] पृथ्वीका बासिन्दाहरूले तिनीहरूलाई रमिता मानेर हेर्नेछन्, अनि एक-अर्कालाई उपहार लेनदेन गर्दै खुशीयाली मनाउनेछन्; किनकि यी दुई अगमवक्ताहरूले ती पृथ्वीवासीहरूलाई यातना दिएका थिए।
[11] तर साढे तीन दिनपछि परमेश्वरबाट जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना पाउमा उभिए, अनि तिनीहरूलाई देख्नेहरू डरले आतङ्कित भए।
[12] तब तिनीहरूले स्वर्गबाट ती दुईलाई यसो भन्दै गरेको एउटा चर्को स्वर सुने, “यहाँ माथि आओ।” अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै ती दुई बादलमा स्वर्गतिर उठाइए।
[13] ठीक त्यही समयमा एउटा ठूलो भुइँचालो गयो, अनि त्यस शहरको दशौं भाग ढल्यो। सात हजार मानिसहरू भुँइचालोमा मारिए, अनि बाँचेकाहरू भयभीत भए, र स्वर्गका परमेश्वरलाई महिमा दिए।
[14] दोस्रो आतङ्क बित्यो; तेस्रो आतङ्क चाँडै आउँदैछ।
[15] जब सातौं स्वर्गदूतले आफ्नो तुरही फुके, तब स्वर्गमा चर्का आवाजहरूले यसो भने: “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, अनि उहाँले सदा-सर्वदा राज्य गर्नुहुनेछ।”
[16] अनि परमेश्वरको अगाडि आ-आफ्ना सिंहासनहरूमा बस्ने ती चौबीस प्रधानहरूले घोप्टो परी परमेश्वरलाई आराधना गर्दै
[17] यसो भने: “हे सर्वशक्तिमान परमप्रभु परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, किनकि तपाईंले आफ्नो महान् शक्ति लिनुभएको छ, र राज्य गर्न थाल्नुभएको छ।
[18] राष्ट्रहरू क्रोधित भएका थिए, अनि तपाईंको क्रोध आइपुगेको छ। मरेकाहरूको न्याय हुने बेला आएको छ, अनि तपाईंका सेवक अगमवक्ताहरू, तपाईंका सन्तहरू र तिनीहरू जसले तपाईंको नाउँको डर मान्छन्, ठूला र सानाहरू दुवैलाई इनाम दिने बेला आएको छ; अनि पृथ्वीलाई नाश गर्नेहरूलाई नष्ट गर्ने समय आएको छ।”
[19] तब स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलियो; र त्यस मन्दिरभित्र करारको सन्दुक देखियो। अनि त्यहाँ बिजुलीका चमकहरू, मेघ गर्जन र गडगडाहटका आवाजहरू आए, अनि भुइँचालो गयो र ठूला-ठूला असिनाहरू परे।