Skip to content
Opens in a new window
Listen to this chapter • 6:08

[1] यसपछि मैले अर्को स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखें। तिनीसित ठूलो अख्तियार थियो; अनि तिनको वैभवले पृथ्वी उज्यालो भयो।

[2] तिनी शक्‍तिशाली आवाजमा कराए: “ ‘पतन भयो! महान् शहर बेबिलोनको पतन भयो!’ त्यो भूतहरूको घर भएको छ, अनि प्रत्येक अशुद्ध आत्माको अड्डा, प्रत्येक अशुद्ध चराको अड्डा भएको छ। प्रत्येक अशुद्ध तथा घृणित जन्तुहरूको लुक्ने ठाउँ भएको छ।

[3] किनकि सबै राष्ट्रहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएर मातेका छन्। पृथ्वीका राजाहरूले त्यससित व्यभिचार गरेका छन्, अनि पृथ्वीका व्यापारीहरू त्यसको अत्याधिक विलासिताको प्रभावले धनी भएका छन्।”

[4] तब मैले स्वर्गबाट यसो भन्दै गरेको अर्को आवाज सुनें: “ ‘हे मेरा मानिसहरूहो, त्यसबाट निस्केर आओ,’ ताकि तिमीहरूले त्यसका पापहरूको सहभागी हुन नपरोस्, र तिमीहरूमा त्यसका कुनै विपत्ति पनि नआओस्;

[5] किनकि त्यसका पापहरू आकाशसम्मै थुप्रो लागेका छन्, अनि परमेश्‍वरले त्यसका अपराधहरू सम्झनुभएको छ।

[6] त्यसले जे गरेकी थिई, त्यसलाई त्यही फर्काइदेओ; त्यसले जे गरेकी छ, त्यो दोब्बर गरी त्यसलाई देओ। त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोब्बर हुनेगरी त्यसलाई देओ।

[7] त्यो आफूले जति महिमा र भोग-विलास लुटी त्यत्तिकै यातना र सन्ताप त्यसलाई देओ। आफ्नो हृदयमा त्यसले यसरी घमण्ड गर्छे, ‘म रानीझैं बसेकी छु; म विधवा होइनँ, र म कहिल्यै शोक गर्नेछैनँ।’

[8] यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्: मृत्यु, शोक र अनिकाल। त्यो आगोद्वारा भस्म पारिनेछ, किनकि त्यसलाई न्याय गर्ने परमप्रभु परमेश्‍वर सर्वशक्‍तिमान हुनुहुन्छ।

[9] “जब त्यससित व्यभिचार गर्ने अनि त्यसको भोग-विलासमा सहभागी हुने पृथ्वीका राजाहरूले त्यो जल्दै गरेको धूवाँ देख्नेछन्, तिनीहरू त्यसको लागि रुनेछन् र विलाप गर्नेछन्।

[10] त्यसको यातनाद्वारा भयभीत भएर तिनीहरू टाढै उभिएर चिच्याउने छन्: “ ‘हाय! हाय, हे महानगरी, हे शक्‍तिशाली शहर बेबिलोन! एकै घण्टामा नै तेरो विनाश आयो!’

[11] “पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र विलाप गर्नेछन्; किनकि अब फेरि कसैले पनि त्यसबाट मालसामान किन्‍नेछैन।

[12] सुन, चाँदी, बहुमूल्य पत्थर र मोतीहरू, मसिनो मलमलको कपडा; बैजनी, रेशम र चहकिलो राता कपडाहरू, हरेक किसिमका सुगन्धित काठ, र हरेक किसिमका हस्तिहड्डीका सामग्रीहरू, बहुमूल्य काठ, पित्तल, फलाम र संगमरमरका सामग्रीहरू,

[13] दालचिनी र मसला, सुगन्धित धूप, मूर्र, लोबान र मद्य र जैतुनको तेल, मसिनो पीठो, गहुँ, गाईवस्तु र भेडाहरू, घोडाहरू, रथहरू, मानव शरीर र मानिसका जीवनहरू।

[14] “तिनीहरूले भन्‍नेछन्, ‘तिमीहरूले चाहेका फलहरू तिमीहरूदेखि गएका छन्। तिम्रा सबै विलासिता र वैभवहरू कहिल्यै नपाउने गरी बिलाइहालेका छन्।’

[15] यी चीजहरू बेचेर त्यसबाट धन कमाउने ती व्यापारीहरू त्यसको यातनामा भयभीत भएर टाढै उभिनेछन्। तिनीहरू रुँदै, विलाप गर्दै,

[16] अनि चिच्याउँदै यसो भन्‍नेछन्: “ ‘हाय! हाय, हे महानगरी, जसले मसिनो मलमलको कपडा, बैजनी र चहकिलो रातो रङ्गको वस्त्र लगाएर सुनको चमक, बहुमूल्य पत्थर र मोतीहरू पहिरेकी थिई!

[17] एकै घण्टामा यति धेरै सम्पत्ति नष्‍ट भए!’ “जहाजको हरेक कप्‍तान, अनि जहाजबाट यात्रा गर्नेहरू सबै, नाविकहरू, अनि समुद्रबाट जीविका चलाउनेहरू सबै टाढा उभिनेछन्।

[18] जब तिनीहरूले त्यो स्त्रीलाई जल्दै गरेको धूवाँ देखे, तिनीहरू विलाप गर्दै कराउनेछन्, ‘के यस्तो महान् शहरजस्तै अरू शहर कहिल्यै थियो र?’

[19] तिनीहरूले आ-आफ्नो टाउकोमा धूलो हाल्नेछन्, अनि रुवाइ र विलापकासाथ यसरी कराउनेछन्: “ ‘हाय! हाय, हे महानगरी, जसका समुद्रमा जहाज भएकाहरू त्यस स्त्रीको धनले धनी भएका छन्! एकै घण्टामा त्यो भस्म भएकी छ!’

[20] “हे स्वर्ग, त्यसमाथि रमाओ! हे परमेश्‍वरका जनहरू र प्रेरितहरू र अगमवक्‍ताहरूहो रमाओ! तिमीहरूसित त्यसले जस्तो व्यवहार गरेकी थिई, त्यसरी नै परमेश्‍वरले त्यसको न्याय गर्नुभएको छ।”

[21] तब त्यस सामर्थ्यी स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र त्यसलाई समुद्रमा फ्याँकिदिए, अनि भने: “यसरी नै बेगसित महान् शहर बेबिलोन तल फालिनेछ, र त्यो कहिल्यै फेला पर्नेछैन।

[22] सङ्गीतकारहरू र वीणा, बाँसुरी वादक अनि तुरही बजाउनेहरूको सङ्गीत, तँमा फेरि कहिल्यै सुनिनेछैन। तँमा फेरि कुनै व्यापारको शिल्पकार कहिल्यै पाइनेछैन। तँमा फेरि जाँतोको आवाज कहिल्यै सुनिनेछैन।

[23] बत्तीको उज्यालो तँमा फेरि कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको स्वर तँमा फेरि कहिल्यै सुनिनेछैन। तेरा व्यापारीहरू संसारका महान् व्यक्‍तिहरू थिए। तेरा मन्त्रतन्त्रले राष्ट्रहरू बहकिएका थिए।

[24] त्यस स्त्रीमा अगमवक्‍ताहरूका र परमेश्‍वरका पवित्र जनहरूका, अनि पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”

प्रकाश — Chapters