Skip to content
Opens in a new window
Listen to this chapter • 3:33

[1] यसपछि मैले चारजना स्वर्गदूतहरूलाई पृथ्वीको चार कुनाहरूमा उभिरहेका देखें, जसले जमिनमा, समुद्रमा अथवा कुनै रूखमा कतैबाट पनि बतास नचलोस् भनेर रोक्नलाई पृथ्वीका चारैओटा बतासहरूलाई रोकिराखेका थिए।

[2] तब मैले जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखें। उनले जमिन र समुद्रलाई हानि गर्ने अख्तियार पाएका चारजना स्वर्गदूतहरूलाई जोडसित भने,

[3] “जबसम्म हामीले परमेश्‍वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौं, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।”

[4] तब मैले छाप पाएकाहरूको संख्या सुनें, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट एक लाख चवालीस हजार थिए।

[5] यहूदाको कुलबाट बाह्र हजारलाई छाप लगाइयो, रूबेनको कुलबाट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई,

[6] आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई, मनश्शेको कुलबाट बाह्र हजारलाई,

[7] शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्साखारको कुलबाट बाह्र हजारलाई,

[8] जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई, बेन्यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइयो।

[9] त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति अनि भाषाबाट कसैले गन्‍न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखें। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्रहरू पहिरेका अनि हातमा खजूरका हाँगाहरू लिएका थिए।

[10] अनि तिनीहरू चर्को सोरमा कराए: “मुक्‍ति हाम्रा परमेश्‍वरको हो, जो सिंहासनमा बस्‍नुहुन्छ, अनि थुमाको पनि हो।”

[11] सबै स्वर्गदूतहरू सिंहासन, प्रधानहरू र चारओटा जीवित प्राणीहरूका वरिपरि उभिरहेका थिए। तिनीहरू सिंहासनको सामु घोप्टो परे, अनि यसो भन्दै परमेश्‍वरलाई आराधना गरे,

[12] “आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्‍ति र बल सदा-सर्वदा भइरहोस्, आमेन!”

[13] तब प्रधानहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्रहरू पहिरनेहरू को हुन् अनि कहाँबाट आएका हुन्?”

[14] तब मैले उत्तर दिएँ, “हजुर, तपाईं नै जान्‍नुहुन्छ।” अनि तिनले भने, “यी तिनीहरू हुन्, जो महा सङ्कष्‍टबाट निस्केर आएका छन्, तिनीहरूले आफ्ना वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।

[15] यसकारण “तिनीहरू परमेश्‍वरको सिंहासनको सामु छन् अनि तिनीहरू उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्; अनि सिंहासनमा बस्‍नुहुनेले आफ्नो उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।

[16] ‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्; तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्। तिनीहरूलाई सूर्यको प्रचण्ड रापले,’ पोल्नेछैन।

[17] किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठाला हुनुहुनेछ; ‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्‍याउनुहुनेछ।’ ‘अनि परमेश्‍वरले आफैले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’”

प्रकाश — Chapters