[1] येशू ख्रीष्टको प्रकाश, जो परमेश्वरले येशू ख्रीष्टलाई दिनुभयो, ताकि येशू ख्रीष्टका सेवकहरूले चाँडै हुन आउने कुराहरू देखून्। उहाँले आफ्ना दूत पठाईकन यो आफ्नो सेवक यूहन्नालाई प्रकट गर्नुभयो,
[2] तिनैले परमेश्वरको वचनको लागि र येशू ख्रीष्टको गवाहीको लागि, आफूले देखेका सबै थोकहरूको विवरण दिए।
[3] जसले यस अगमवाणीका वचनहरू ठूलो सोरमा पढेर सुनाउँछ, त्यो धन्यको हो, अनि यसलाई सुन्नेहरू र यसमा लेखिएका कुराहरू पालन गर्नेहरू धन्यका हुन्, किनकि समय नजिकै छ।
[4] यूहन्नाबाट, एशिया प्रान्तमा भएका सातओटा मण्डलीहरूलाई यो पत्र लेख्दैछु: उहाँबाट तिमीहरूमा अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, अनि जो हुनआउनुहुनेछ, अनि उहाँको सिंहासनको अघि भएका सात आत्माहरूबाट,
[5] अनि येशू ख्रीष्टबाट, जो विश्वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो;
[6] अनि उहाँका परमेश्वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य अनि पूजाहारी बनाउनुभयो, उहाँलाई नै महिमा र पराक्रम सदा-सर्वदा भइरहोस्! आमेन!
[7] “हेर, उहाँ बादलहरूका साथमा आउँदै हुनुहुन्छ”, अनि “हरेक आँखाले उहाँलाई देख्नेछ, तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए” अनि सारा संसारका सबै पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।” यस्तै होस्! आमेन!
[8] सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ, “म नै अल्फा र ओमेगा हुँ” जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, अनि जो हुनआउनुहुनेछ।
[9] म यूहन्ना, तिमीहरूका भाइ, येशूमा भएका हाम्रा कष्टमा राज्यमा र धीरजपूर्वक लागिपर्ने सहकर्मी हुँ, परमेश्वरको वचन अनि येशूको गवाहीको कारण म पत्मोस टापूमा थिएँ।
[10] प्रभुको दिनमा म आत्मामा थिएँ, अनि मेरो पछिल्तिर मैले तुरहीको जस्तै एउटा चर्को आवाज सुनें,
[11] जसले यसो भन्यो: “तिमी जे देख्छौ, त्यो एउटा पुस्तकमा लेख, अनि त्यसलाई सातैओटा मण्डलीहरू अर्थात्, एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा पठाऊ।”
[12] अनि मसित बोल्नेलाई हेरूँ भनेर म फर्कें। अनि जब म पछिल्तिर फर्कें, मैले सुनका सातओटा सामदानहरू देखें,
[13] अनि सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाउनुभएको र छातीमा सुनौलो चौडा पेटी लाउनुभएको “मानिसको पुत्रजस्तै,” एकजनालाई देखें।
[14] उहाँका शिरको कपाल ऊनजस्ता सेता थिए, हिउँजस्तै सेता, अनि उहाँका आँखाहरू आगोका ज्वालाजस्तै थिए।
[15] उहाँका पाउहरू आगोका भट्टीमा खारेर टल्काएका काँसाजस्तै थिए, र उहाँको सोरचाहिँ बेगसित उर्लेको पानीको आवाजझैं थियो।
[16] अनि उहाँको दाहिने हातले सातओटा ताराहरू पक्रिराखेको थियो; अनि उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहारचाहिँ पूरा तेजसित चम्केको सूर्यझैं थियो।
[17] जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँको पाउमा पछारिएँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ।
[18] जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, अनि हेर, म सदा-सर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।
[19] “यसकारण तिमीले जे देखेका छौ, अहिले जे छ, अनि यसपछि के हुनेछ, सो लेख।
[20] तिमीले मेरो दाहिने हातमा देखेका सातओटा ताराहरू अनि सातओटा सुनका सामदानहरूको रहस्य यो हो: सातओटा ताराहरू सात मण्डलीका दूतहरू हुन्, अनि सातओटा सामदानहरू सात मण्डलीहरू हुन्।”