[1] तब मैले अर्को शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखें। तिनले बादल ओढेका थिए, तिनका शिरमाथि एउटा इन्द्रेणी थियो; अनि तिनको अनुहार सूर्यझैं र पाउहरू आगोका खाँबाहरू जस्ता थिए।
[2] तिनले एउटा सानो चर्मपत्र समाइराखेका थिए, जुन तिनको हातमा खुल्लै थियो। तिनले आफ्नो दाहिने पाउ समुद्रमाथि अनि देब्रे पाउ जमिनमाथि राखेका थिए
[3] अनि तिनी सिंह गर्जिएझैं चर्को आवाजमा चिच्याए। जब तिनी चिच्याए, तब सातओटा मेघ गर्जनका आवाजहरूले बोले।
[4] अनि जब सातओटा मेघ गर्जनहरू बोले, तब मैले लेख्नै लागेको थिएँ; तर मैले स्वर्गबाट यसो भन्दै गरेको आवाज सुनें, “सातओटा गर्जनहरूले बोलेका कुराहरूमा छाप लगाऊ, र त्यसलाई नलेख।”
[5] तब मैले देखेका समुद्र र जमिनमा उभिरहेका ती स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उचाले।
[6] अनि तिनले उहाँको नाउँमा शपथ खाए, जो सदा-सर्वदा जिउनुहुन्छ, जसले स्वर्ग अनि त्यसमा भएका सबै थोक, जमिन र त्यसमा भएका सबै थोक अनि समुद्र र त्यसमा भएका सबै थोक सृजनुभयो र भन्नुभयो, “अब ढिलो हुनेछैन!
[7] तर सातौं स्वर्गदूतले आफ्नो तुरही फुक्न लागेको दिनहरूमा, उहाँले आफ्ना सेवकहरू अनि अगमवक्ताहरूलाई भन्नुभएजस्तै गरी परमेश्वरको रहस्य पूरा हुनेछ।”
[8] तब स्वर्गबाट आएको आवाज मसित फेरि बोल्यो: “जाऊ, समुद्र र जमिनमाथि पाउ राखेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्र लेऊ।”
[9] यसकारण म त्यस स्वर्गदूतकहाँ गएँ, र त्यो सानो चर्मपत्र मागें। तिनले मलाई भने, “यसलाई लेऊ, र खाऊ। यसले तिम्रो पेटलाई अमिलो बनाइदिनेछ, तर तिम्रो मुखभित्र यो महजस्तै गुलियो हुनेछ।”
[10] मैले त्यो सानो चर्मपत्र स्वर्गदूतको हातबाट लिएँ, अनि त्यसलाई खाएँ। त्यो मेरो मुखमा महझैं गुलियो भयो, तर जब मैले खाएँ, तब त्यो मेरो पेटमा अमिलो भयो।
[11] तब मलाई यसो भनियो, “तिमीले धेरै मानिसहरू, राष्ट्रहरू, भाषाहरू र राजाहरूको विषयमा फेरि अगमवाणी गर्नैपर्छ।”