[1] तब मैले मन्दिरबाट सात स्वर्गदूतहरूलाई चर्को सोरले यसो भनिरहेको सुनें, “जाओ र परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमा खन्याइदेओ।”
[2] तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरा जमिनमाथि खन्याइदिए; अनि त्यस पशुको छाप लागेका र त्यसको मूर्तिलाई पूज्ने मानिसहरूमा घिनलाग्दा र कष्टदायक घाउखटिरा निस्क्यो।
[3] जब दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए, त्यो मरेको मानिसको रगतझैं भइहाल्यो; र समुद्रमा भएका प्रत्येक जीवित प्राणी मर्यो।
[4] अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूमा खन्याए; अनि ती रगत भइहाले।
[5] अनि पानीका अधिकारी स्वर्गदूतले यसो भनिरहेका मैले सुनें: तपाईं जो हुनुहुन्छ, अनि जो हुनुहुन्थ्यो, पवित्र हुनुहुन्छ, “तपाईं यी न्यायहरूमा न्यायी हुनुहुन्छ;
[6] किनकि तिनीहरूले तपाईंका सन्तहरू अनि अगमवक्ताहरूका रगत बगाएका छन्, र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ; तिनीहरू यसकै लायक छन्।”
[7] अनि वेदीबाट कसैले यसरी उत्तर दिइरहेको मैले सुनें: “हो, सर्वशक्तिमान परमप्रभु परमेश्वर, तपाईंका न्यायहरू सत्य र न्यायपूर्ण छन्।”
[8] जब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए; तब सूर्यलाई आगोले मानिसहरूलाई डढाउने अख्तियार दिइयो।
[9] तिनीहरू प्रचण्ड तापले डढे, अनि तिनीहरूले यी विपत्तिहरूमाथि अधिकार भएका परमेश्वरलाई सरापे; तर तिनीहरूले पश्चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।
[10] जब पाँचौं स्वर्गदूतले त्यस पशुको सिंहासनमाथि आफ्नो कचौरा खन्याए, तब त्यसको राज्यमा घनघोर अन्धकार भयो। मानिसहरूले कष्टमा आ-आफ्ना जिब्राहरू टोके,
[11] अनि खटिरा र वेदनाको कारण स्वर्गका परमेश्वरलाई सरापे, तर तिनीहरूले गरेका कामहरूको लागि पश्चात्ताप गरेनन्।
[12] जब छैटौं स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमाथि खन्याए; तब पूर्वका राजाहरूको लागि बाटो तयार होस् भनेर त्यसको पानी सुकिहाल्यो।
[13] तब मैले भ्यागुताहरू जस्ता देखिने दुष्ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखें।
[14] तिनीहरू ती अलौकिक चिन्हहरू देखाउने दुष्ट आत्माहरू हुन्, तिनीहरू ती सारा संसारका राजाहरूलाई सर्वशक्तिमान परमेश्वरको महान् दिनमा लडाइँ गर्न भेला गर्नलाई जान्छन्।
[15] “हेर, म चोरझैं आउँछु! त्यो धन्यको हो, जो जागा रहन्छ, अनि जसले आफ्नो वस्त्रको हिफाजत गर्छ, ताकि उसको नग्नताको शर्म नदेखियोस्।”
[16] तब ती दुष्ट आत्माहरूले राजाहरूलाई हिब्रू भाषामा आरमागेड्डोन भन्ने ठाउँमा भेला गराए।
[17] जब सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए; तब मन्दिरको सिंहासनबाट यसो भन्ने चर्को आवाज आयो, “अब सिद्धियो!”
[18] अनि त्यहाँ बिजुलीको चमक, गड्याङ-गुडुङ, मेघ गर्जन र ठूलो भुइँचालो गयो। त्यो भुइँचालो यति ठूलो थियो, कि पृथ्वीमा मानवजाति भएदेखि यता त्यस्तो कहिल्यै गएको थिएन।
[19] त्यो महान् शहर तीन भागमा टुक्रियो, अनि सबै राष्ट्रहरूका शहरहरू ध्वंस भए। परमेश्वरले महान् बेबिलोनलाई सम्झनुभयो, अनि त्यसलाई आफ्नो भयानक क्रोधको मद्यले भरिएको कचौरा पिउन दिनुभयो।
[20] प्रत्येक टापू लोप भएर गए, र पहाडहरू हराएर गए।
[21] आकाशबाट पैंतालीस किलो तौल भएका ठूला-ठूला असिना मानिसहरूमाथि खसे; अनि विपत्ति डरलाग्दो भएकाले असिनाको कारण मानिसहरूले परमेश्वरलाई सरापे।