Skip to content
Opens in a new window
Listen to this chapter • 2:33

[1] त्यसपछि मैले देखें, स्वर्गमा एउटा खुला ढोका थियो। अनि मैले पहिले सुनेको स्वर तुरहीको आवाजमा मसँग यसरी बोलिरहेको थियो, “यहाँ माथि आऊ, र यसपछि के हुनैपर्छ, सो म तिमीलाई देखाउनेछु।”

[2] म तुरुन्तै आत्मामा भएँ; अनि स्वर्गमा मेरो सामु कोही बसिरहनुभएको एउटा सिंहासन थियो।

[3] अनि त्यहाँ जो बसिरहनुहुनेको मुहार बिल्‍लौर र लालमणिझैं देखिन्थ्यो। त्यहाँ पन्‍नाजस्तै इन्द्रेणीले सिंहासनलाई घेरिराखेको थियो।

[4] त्यस सिंहासनका वरिपरि चौबीसओटा अरू सिंहासनहरू थिए; अनि यसमाथि सेता वस्त्र लगाएका र शिरमा सुनका मुकुट लगाएका चौबीसजना प्रधानहरू बसेका थिए।

[5] सिंहासनबाट बिजुलीको चमक, गड्याङ-गुडुङ र मेघ गर्जनको आवाज निस्किरहेको थियो। सिंहासनको सामु सातओटा बत्तीहरू बलिरहेका थिए, जो परमेश्‍वरका सात आत्माहरू हुन्।

[6] सिंहासनको अगाडि स्फटिकझैं पारदर्शी काँचको समुद्रजस्तो थियो। सिंहासनको बीचमा चारैतिर चारओटा जीवित प्राणीहरू थिए, अनि तिनीहरूका अगाडि र पछाडि आँखाहरूले ढाकिएका थिए।

[7] पहिलो जीवित प्राणी सिंहजस्तै, दोस्रो गोरुजस्तै, तेस्रोको अनुहार मानिसको जस्तै, चौथोचाहिँ उडिरहेको गरुडजस्तै थियो।

[8] प्रत्येक जीवित प्राणीका छओटा पखेटाहरू थिए; र ती चारैतिर, पखेटा भित्रपट्टि पनि आँखाहरूले ढाकिएका थिए। रातदिन तिनीहरूले नरोकिकन यसो भनिरहन्थे: “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान परमप्रभु परमेश्‍वर, जो हुनुहुन्थ्यो, हुनुहुन्छ, अनि जो हुनआउनुहुनेछ।”

[9] सिंहासनमा बस्‍नुहुने, अनि सदा-सर्वदा जिउनुहुनेलाई जब जीवित प्राणीहरूले महिमा, आदर र धन्यवाद चढाउँछन्,

[10] तब ती चौबीसजना प्रधानहरू सिंहासनमाथि बस्‍नुहुने अनि सदा-सर्वदा जिउनुहुनेको सामु घोप्टो पर्छन्, र दण्डवत् गर्छन्। तिनीहरूले आ-आफ्ना मुकुटहरू सिंहासनको सामु राखेर यसो भन्छन्:

[11] “हाम्रा प्रभु अनि परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यका हुनुहुन्छ, किनकि तपाईंले सब थोक सृष्‍टि गर्नुभयो, अनि तपाईंको इच्छाद्वारा नै ती सृष्‍टि गरिए, अनि ती अस्तित्वमा आए।”

प्रकाश — Chapters