Skip to content
Opens in a new window
Listen to this chapter • 4:33

[1] “सार्डिसमा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जसले परमेश्‍वरका सात आत्माहरू र सात ताराहरू पक्रनुभएको छ। मलाई तिम्रो काम थाहा छ; तिमी जीवित भनेर कहलिएका छौ, तर तिमी मरेका छौ।

[2] जागा होऊ, र मर्नै लागेका बाँकी कुराहरूलाई बलियो बनाओ; किनकि मैले मेरा परमेश्‍वरको सामु तिम्रा कामहरू अधुरो पाएको छु।

[3] यसकारण तिमीले जे पाएका अनि सुनेका छौ, त्यो स्मरण गर; त्यसलाई पालन गर, र पश्‍चात्ताप गर। तर तिमी जागेनौ भने म चोरझैं आउनेछु, अनि म तिमीकहाँ कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।

[4] तैपनि सार्डिसमा केही यस्ता मानिसहरू छन्, जसले आफ्ना वस्त्रहरू बिटुलो पारेका छैनन्। तिनीहरू मसित सेता वस्त्रहरू पहिरेर हिँड्नेछन्, किनकि तिनीहरू योग्यका छन्।

[5] जसले विजय हासिल गर्दछ, उसलाई तिनीहरूलाई झैं, सेतो वस्त्र पहिराइनेछ। म तिनीहरूका नाउँ जीवनको पुस्तकबाट कहिल्यै मेट्नेछैनँ, तर मेरा पिता अनि उहाँका दूतहरूको अघि स्वीकार गर्नेछु।

[6] जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।

[7] “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जो पवित्र र सत्य हुनुहुन्छ, जससित दाविदको साँचो छ। उहाँले जे खोल्नुहुन्छ, त्यो कसैले बन्द गर्न सक्दैन र उहाँले जे बन्द गर्नुहुन्छ, त्यो कसैले खोल्न सक्दैन।

[8] मलाई तिम्रो कामहरू थाहा छ। हेर, मैले तिम्रो अगाडि एउटा खुला ढोका राखेको छु, जसलाई कसैले बन्द गर्न सक्दैन। तिमीसित थोरै शक्‍ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ।

[9] म ती शैतानका सभाकाहरूलाई, जो यहूदीहरू होइनन्, तर आफूलाई यहूदीहरू हौं भनेर झूट बोल्नेहरूलाई म तिमीहरूको पाउमा दण्डवत् गर्न, र मैले तिमीलाई प्रेम गरेको छु भनेर स्वीकार गर्न लगाउनेछु।

[10] तिमीले धैर्यसाथ सहेर मेरा आज्ञा पालन गरेको हुनाले, म पनि तिमीलाई त्यस परीक्षाको समयबाट बचाउनेछु, जुन संसारका सबै बासिन्दाहरूको परीक्षा लिन सारा पृथ्वीमाथि आउँदैछ।

[11] हेर, म चाँडै आउनेछु। तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख, ताकि तिम्रो मुकुट कसैले लैजान नपाओस्।

[12] जसले विजय हासिल गर्दछ, म मेरा पिताको मन्दिरमा एउटा खाँबो बनाउनेछु। उसले यसलाई कहिल्यै छोड्नेछैन। म उसमाथि मेरा परमेश्‍वरको नाउँ, मेरा परमेश्‍वरको स्वर्गबाट आइरहेको नयाँ शहर यरूशलेमको नाउँ लेखिदिनेछु; अनि म उसमाथि मेरो नयाँ नाउँ पनि लेखिदिनेछु।

[13] जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।

[14] “लाउडिकियामा भएको मण्डलीका दूतलाई लेख: यी वचनहरू आमेनका हुन्, जो विश्‍वासयोग्य अनि सत्य साक्षी, अनि परमेश्‍वरको सृष्‍टिका शासक हुनुहुन्छ।

[15] मलाई तिम्रा कामहरू थाहा छ, तिमी न चिसा न ता ताता छौ। तिमी चिसो अथवा ताता भएका भए त हुनेथियो।

[16] यसकारण तिमी न ताता न ता चिसो; मनताता भएकोले म तिमीलाई मेरो मुखबाट उकेल्न आँटेको छु।

[17] तिमी भन्छौ, ‘म धनी छु; मैले धेरै धन कमाएको छु, र मलाई कुनै थोकको खाँचो छैन।’ तर तिमीले यो थाहा गरेका छैनौ, कि तिमी गएगुज्रेको, दयनीय, गरिब, दृष्‍टिविहीन र नाङ्गा छौ।

[18] म तिमीलाई सल्‍लाह दिन्छु, कि मबाट आगोमा खारेको सुन किन; र धनी बन, अनि आफ्नो लाजमर्दो नग्नता ढाक्नलाई सेतो वस्त्र किन, र लगाऊ; अनि आँखामा लाउने गाजल किन, ताकि तिमीले देख्न सक।

[19] जसलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु, अनि अनुशासन गर्छु। यसकारण उत्साहित होओ र पश्‍चात्ताप गर।

[20] म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने, म त्यसकहाँ भित्र आउनेछु अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ।

[21] जसले विजय हासिल गर्दछ, म उसलाई मसित मेरो सिंहासनमा बस्‍ने अधिकार दिनेछु, जसरी मैले पनि जितें अनि मेरो पिताको सिंहासनमा बसेको छु।

[22] जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।”

प्रकाश — Chapters