Skip to content
Opens in a new window
Listen to this chapter • 3:39

[1] त्यसपछि मैले एकजना स्वर्गदूतलाई स्वर्गबाट निस्केर तल आइरहेको देखें। तिनको हातमा अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो थियो

[2] तिनले त्यस अजिङ्गर अर्थात् त्यो पुरानो सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधेर राखे।

[3] तिनले त्यसलाई त्यस नरक कुण्डमा फालिदिए, अनि एक हजार वर्ष नबितुन्जेल राष्ट्रहरूलाई नछलोस् भनेर त्यो अतल कुण्ड बन्द गरी त्यसमाथि छाप लगाइदिए। त्यसपछि केही समयको लागि त्यसलाई मुक्‍त गरिनुपर्छ।

[4] अनि मैले सिंहासनहरू देखें; र ती सिंहासनहरूमा मैले न्याय गर्ने अख्तियार पाएकाहरूलाई बसिरहेका देखें। अनि मैले येशूको गवाहीको निम्ति र परमेश्‍वरको वचनको निम्ति शिर काटिएकाहरूका आत्माहरूलाई देखें। तिनीहरूले त्यस पशु वा त्यसको मूर्तिको आराधना गरेका थिएनन्, अनि आफ्ना निधारहरू र हातहरूमा त्यसको छाप लगाएका थिएनन्। तिनीहरू फेरि जीवित भए, अनि ख्रीष्‍टसित एक हजार वर्षसम्म राज्य गरे।

[5] (अरू बाँकी मरेकाहरूचाहिँ एक हजार वर्ष नबितुन्जेल जीवित भएनन्।) यो पहिलो पुनर्जीवन हो।

[6] पहिलो पुनर्जीवनमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। तिनीहरूमाथि दोस्रो मृत्युको शक्‍तिले केही अधिकार गर्न सक्दैन, तर तिनीहरू परमेश्‍वरका अनि ख्रीष्‍टका पूजाहारीहरू हुनेछन्, र उहाँसित एक हजार वर्षसम्म राज्य गर्नेछन्।

[7] एक हजार वर्ष बितेपछि त्यो शैतानलाई त्यसको कैदबाट मुक्‍त गरिनेछ,

[8] अनि पृथ्वीका चारै दिशामा भएका राष्ट्रहरूलाई अर्थात् गोग र मागोगलाई लडाइँको लागि बहकाउन अनि जम्मा गर्नलाई त्यो निस्केर जानेछ। संख्यामा तिनीहरू समुद्रको किनारमा भएका बालुवा जतिकै हुनेछन्।

[9] तिनीहरूले पृथ्वीको परिक्रमा गरेर परमेश्‍वरका जातिका छाउनी अर्थात् उहाँको प्रिय शहरलाई घेरा हाले। तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्‍यो।

[10] अनि तिनीहरूलाई ठग्ने त्यो दियाबलसलाई, गन्धक जल्दै गरेको अग्निकुण्डमा फालियो, जहाँ त्यो पशु र झूटा अगमवक्‍ता पनि फालिएका थिए। त्यहाँ तिनीहरूले दिनरात सदा-सर्वदा यातना भोग्नेछन्।

[11] तब मैले एउटा ठूलो उज्ज्वल सिंहासन र त्यसमाथि बस्‍नुहुनेलाई देखें। पृथ्वी र आकाश उहाँको उपस्थितिबाट बिलाएर गए; अनि तिनीहरू कतै पाइएनन्।

[12] अनि मैले ठूला र साना सबै मृकतहरूलाई सिंहासनको सामु उभिरहेका देखें, अनि पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका तिनीहरूका कामका आधारमा मृतकहरूको न्याय गरियो।

[13] समुद्रले त्यससित भएका मुर्दाहरू दिइहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरू दिइहाले; अनि प्रत्येकले गरेका कामअनुसार तिनीहरूका न्याय गरियो।

[14] मृत्यु र पाताल अग्निकुण्डमा फालिए। त्यो अग्निकुण्ड दोस्रो मृत्यु हो।

[15] जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यसलाई अग्निकुण्डमा फालियो।

प्रकाश — Chapters