[1] “एफिससमा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जसले आफ्नो दाहिने हातमा सातओटा ताराहरू पक्रेर राख्नुभएको छ; अनि जो सातओटा सुनका सामदानहरूका बीचमा हिँड्नुहुन्छ।
[2] मलाई तिम्रो कामहरू, तिम्रो कठोर परिश्रम र लगनशीलता थाहा छ। मलाई यो पनि थाहा छ, तिमीले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ; अनि जो प्रेरित होइनन्, तर प्रेरित हौं भन्नेहरूलाई तिमीले जाँच्यौ, र तिनीहरू झूटा हुन् भनी पत्ता लगायौ।
[3] तिमीले लगनशील भएर मेरो नाउँको निम्ति दुःख सहेका छौ, तैपनि त्यागेका छैनौ।
[4] तर तिम्रो विरुद्धमा मेरो यो गुनासो छ। तिमीले तिम्रो पहिलो प्रेम त्यागेका छौ।
[5] तिमी कहाँबाट खसेका छौ, सो स्मरण गर! पश्चात्ताप गर अनि तिमीले पहिले गरेका कामहरू गर। यदि तिमीले पश्चात्ताप गरेनौ भने म तिमीकहाँ आएर तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु।
[6] तर तिमीसँग एउटा राम्रो पक्ष छ: तिमीले निकोलाइटसहरूका कामहरूलाई घृणा गर्दछौ, जसलाई म पनि घृणा गर्दछु।
[7] जसको कान छ, त्यसले सुनोस्, कि आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म जीवनको रूखबाट खान दिनेछु, जुन परमेश्वरको स्वर्गलोकमा छ।
[8] “स्मुर्नामा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जो आदि र अन्त्य हुनुहुन्छ, जो मर्नुभएको थियो, र अहिले जीवित हुनुभएको छ।
[9] मलाई तिमीहरूको पीडा अनि दरिद्रता थाहा छ, तरै पनि तिमीहरू त धनी छौ! मलाई तिनीहरूले गरेको निन्दा थाहा छ, जो आफैलाई यहूदीहरू हौं भनी भन्छन्, तर होइनन्, तिनीहरू त शैतानका सभा हुन्।
[10] तिमीहरूले भोग्न लागेका कष्टहरूसित नडराओ। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरूमध्ये कतिलाई जाँच्नलाई कैदमा लैजानेछ; अनि तिमीहरूले दश दिनसम्म सतावट भोग्नेछौ। मृत्युसम्मै विश्वासी होओ, अनि म तिमीहरूलाई जीवनको मुकुट दिनेछु।
[11] जसको कान छ, त्यसले सुनोस्; आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युले कुनै किसिमले हानि गर्नेछैन।
[12] “पर्गाममा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जससित धारिलो दुईधारे तरवार छ।
[13] म जान्दछु तिमी कहाँ बस्छौ, त्यहीं नै जहाँ शैतानको आफ्नो सिंहासन छ। तरै पनि तिमी मेरो नाउँको निम्ति विश्वासयोग्य भइरह्यौ। तिमीले म प्रतिको तिम्रो विश्वासलाई, मेरो विश्वासयोग्य साक्षी, एन्टिपासको समयमा पनि त्यागेनौ, जुन शैतान बस्ने तिमीहरूको शहरमा मारिएका थिए।
[14] तैपनि तिम्रो विरुद्धमा मसित केही कुराहरू छन्: तिमीहरूसँग कोही यस्ता छन्, जसले बालामका शिक्षा मान्दछन्, जसले बालकद्वारा इस्राएलीहरूलाई पाप गर्न उक्साए, जसले गर्दा तिनीहरूले मूर्तिहरूलाई चढाएको भोजन खाए, र व्यभिचार गरे।
[15] यसरी नै तिमीसँग निकोलाइटसको शिक्षा पालन गर्नेहरू पनि छन्।
[16] यसकारण पश्चात्ताप गर! नत्र म चाँडै तिमीकहाँ आएर मेरो मुखको तरवारले तिनीहरूका विरुद्धमा लडाइँ गर्नेछु।
[17] जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म लुकाइराखेको मन्ना दिनेछु। म त्यसलाई नयाँ नाउँ लेखिएको एउटा सेतो पत्थर पनि दिनेछु, त्यसलाई पाउनेले मात्र यसलाई जान्नेछ।
[18] “थिआटीरामा भएको मण्डलीका दूतलाई लेख: यी परमेश्वरका पुत्रका वचनहरू हुन्, जसका आँखा आगोका ज्वालाझैं, अनि जसका पाउहरू टल्काइराखेको काँसझैं छन्।
[19] तिम्रा कामहरू, तिम्रो प्रेम र विश्वास, तिम्रो सेवा र लगनशीलता, अनि मलाई यो पनि थाहा छ, कि तिमीले पहिलेभन्दा अहिले बढी काम गर्दैछौ।
[20] तैपनि तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले त्यस स्त्री ईजेबेललाई सहन्छौ, जसले आफूलाई भविष्यवक्तिनी हुँ भनी भन्दछे। आफ्ना शिक्षाहरूद्वारा त्यसले मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढाएका भोजनहरू खान भनी गलत मार्गतिर डोर्याउँछे।
[21] अनि मैले त्यसलाई आफ्नो यौन अनैतिकताबाट पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले पश्चात्ताप गर्नै चाहिनन्।
[22] यसकारण म त्यसलाई कष्टको ओछ्यानमा थला पारिदिनेछु, अनि त्यससित व्यभिचार गर्नेहरूले त्यसको मार्गदेखि पश्चात्ताप गरेनन् भने, तिनीहरूलाई महा कष्ट दिनेछु।
[23] म त्यसका छोराछोरीहरूलाई मृत्युद्वारा नाश पारिदिनेछु। तब सबै मण्डलीहरूले जान्नेछन्, कि हृदय र मनको खोजी गर्ने म नै हुँ, र मैले नै तिमीहरू हरेकलाई आफ्ना कामअनुसारको प्रतिफल दिनेछु।
[24] अब थिआटीरामा भएका बाँकीलाई म भन्दछु, तिमीहरू जसले त्यसको शिक्षा ग्रहण गरेका छैनौ, अनि शैतानका गहिरा भेदहरू सिकेका छैनौ, ‘म तिमीहरूमाथि अब अरू कुनै भार थप्दिनँ,
[25] तिमीहरूसित जे छ, म नआउन्जेल बलियो गरी पक्रिराख। म तिमीहरूलाई योभन्दा अरू दुःख दिन्नँ।’
[26] त्यसकारण जसले विजय हासिल गर्दछ, अनि अन्त्यसम्म मेरो इच्छा पालन गर्दछ, जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु।
[27] अनि ‘त्यसले तिनीहरूमाथि फलामको राजदण्डले शासन गर्नेछ; त्यसले तिनीहरूलाई माटाको भाँडा फुटाएझैं फुटाउनेछ।’
[28] जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई बिहानको तारा पनि दिनेछु।
[29] जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।