Skip to content
Opens in a new window
Listen to this chapter • 4:01

[1] अनि मैले एउटा पशुलाई समुद्रबाट निस्कँदै गरेको देखें। त्यसका दशओटा सिङहरू र सातओटा शिरहरू थिए, अनि त्यसका सिङहरूमा दशओटा मुकुटहरू थिए, अनि प्रत्येक शिरमाथि एउटा ईश्‍वरनिन्दाको नाउँ लेखिएको थियो।

[2] मैले देखेको पशु चितुवाजस्तै थियो, तर त्यसका खुट्टाहरू भालुका जस्ता अनि मुखचाहिँ सिंहको जस्तो थियो। त्यस अजिङ्गरले आफ्नो शक्‍ति, अनि आफ्नो सिंहासन र ठूलो अख्तियार त्यस पशुलाई दियो।

[3] त्यस पशुका शिरहरूमध्ये एउटामा प्राणघातक चोट लागेको जस्तो थियो; तर त्यो घातक चोट निको भएको थियो। सारा पृथ्वी छक्‍क पर्‍यो र त्यस पशुको पछि लाग्यो।

[4] मानिसहरूले त्यस अजिङ्गरको आराधना गरे, किनकि त्यसले नै त्यस पशुलाई अधिकार दिएको थियो, अनि तिनीहरूले त्यस पशुलाई पनि आराधना गरे, र यसो भनी सोधे, “यो पशु जस्तो को छ र? यससित लडाइँ गर्न कसले सक्छ र?”

[5] त्यस पशुलाई अहङ्कारका शब्दहरू र ईश्‍वरनिन्दाहरू बोल्नलाई एउटा मुख र बयालीस महिनासम्म आफ्नो शक्‍ति चलाउने अख्तियार दिइयो।

[6] परमेश्‍वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाउँ र उहाँको वासस्थान अनि स्वर्गमा बस्‍नेहरूसमेत सबैको निन्दा गर्न त्यसले आफ्नो मुख खोल्यो।

[7] त्यसलाई सबै सन्तहरूसित लडाइँ गर्ने अनि तिनीहरूलाई जित्ने शक्‍ति दिइयो। त्यसलाई प्रत्येक कुल, जाति, भाषा र राष्ट्रहरूमाथि अख्तियार दिइयो।

[8] अनि पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको आराधना गर्नेछन्, तिनीहरूले जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएको थुमाको जीवनको पुस्तकमा लेखिएको छैन।

[9] जसको कान छ, त्यसले सुनोस्।

[10] “यदि कसैलाई कैदमा जानुछ भने, त्यो कैदमा जानेछ। यदि कसैलाई तरवारले मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ।” परमेश्‍वरका जनहरूको धैर्यशाली सहनशीलता र विश्‍वासयोग्यता यसैमा हुनुपर्छ।

[11] तब मैले पृथ्वीबाट माथि निस्कँदै गरेको अर्को पशु देखें। त्यसका भेडाका जस्ता दुई सिङहरू थिए, तर त्यो अजिङ्गरले झैं बोल्थ्यो।

[12] त्यसले पहिलो पशुको पक्षमा त्यसको सारा अधिकार चलायो, अनि पृथ्वी र त्यसका बासिन्दाहरूलाई त्यसले त्यो प्राणघातक चोट निको भएको पहिलो पशुको आराधना गर्न लगायो।

[13] अनि त्यसले अचम्मका चिन्हहरू देखायो, यहाँसम्म कि मानिसहरूले देख्ने गरी त्यसले आकाशबाट पृथ्वीमा आगोसमेत झार्‍यो।

[14] त्यस पहिलो पशुको पक्षमा प्रयोग गर्ने अधिकार पाएको अलौकिक चिन्हहरूद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट पाएर पनि त्यसले तिनीहरूलाई जीवित भएको त्यस पहिलो पशुको सम्मानमा मूर्ति बनाउन हुकुम दियो।

[15] त्यस पहिलो पशुको मूर्तिले बोलोस् भनेर त्यसमा सास हाल्ने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि त्यस मूर्तिलाई आराधना नगर्ने सबै मारिऊन्।

[16] त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र सेवकहरू, प्रत्येकलाई आफ्नो दाहिने हातमा अथवा निधारमा त्यसको छाप लाउन कर लगायो।

[17] त्यो छापचाहिँ त्यस पहिलो पशुको नाउँ अथवा त्यसको नाउँको संख्या हो, यो छाप नभईकन कसैले पनि किन्‍न वा बेच्न नपाउने भयो।

[18] बुद्धि चाहिने यस्तै बेला हो। जसको समझ छ, त्यसले त्यस पशुको संख्या गनोस्, किनकि यो मानिसको संख्या हो। अनि त्यसको संख्या छ सय छयसट्ठी हो।

प्रकाश — Chapters